काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित ऐतिहासिक नाटक ‘१२ मई’ आज दिउँसो ठीक २ बजे नेपाल प्रज्ञा–प्रतिष्ठानको मुख्य सभाकक्षमा मञ्चन हुँदैछ । रक्तिम सांस्कृतिक अभियानको आयोजनामा नेपाल नाट्यशालाले उक्त नाटक मञ्चन गर्न लागेको हो ।
नाटकको निर्देशन सौभाग्यसिंह राई (शोभा) र प्रह्लाद खरेलले गर्नुभएको छ । नाटकको प्रत्यक्ष अवलोकनका लागि लेखक तथा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, मसालका प्रवक्ता रामप्रकाश पुरीसहित विभिन्न राजनीतिक पार्टीका नेता, साहित्यिक तथा सांस्कृतिक सङ्गठनका नेतृत्व, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहने आयोजकले जनाएको छ ।
‘१२ मई’ नाटकको मुख्य विषयवस्तु राष्ट्रिय पञ्चायतको तत्कालीन चुनाव बहिष्कारको समर्थनमा सन् १९८६ मे १२ अर्थात् २०४३ वैशाख १९ गते भारतको नयाँदिल्लीमा भएको आन्दोलन हो ।
नयाँदिल्लीस्थित आई.टी.ओ.मा शान्तिपूर्ण रूपमा आयोजित विरोध प्रदर्शनमाथि दिल्ली प्रहरीले दमन गरेको थियो । तत्कालीन अखिल भारत नेपाली एकता समाजले आयोजना गरेको उक्त आन्दोलनमा सहभागी १० जना महिलासहित ९५ जनाविरुद्ध भारतीय प्रशासनले नयाँदिल्लीको तीसहजारी र पटियाला अदालतमा मुद्दा चलाएको थियो । गिरफ्तार गरिएका आन्दोलनकारीहरू तीन महिनासम्म जेलमा बसेका थिए ।
राजनीतिक प्रकृतिको आन्दोलनलाई फौजदारी अभियोगको स्वरूप दिइएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उक्त मुद्दालाई झुटा मुद्दाको संज्ञा दिँदै खारेजीका लागि निरन्तर आवाज उठाउँदै आएको थियो ।
बदलिएको राजनीतिक परिस्थिति तथा मुद्दा खेपिरहेका कैयौँ आन्दोलनकारीहरू सम्पर्कमा नरहेको अवस्थामा पछिल्लो समयमा भारतीय न्याय प्रशासनले उक्त मुद्दालाई निष्क्रिय तुल्याएको बताइएको छ ।
आज दिउँसो २ बजे हुने ‘१२ मई’ नाटक मञ्चन ऐतिहासिक मे १२ आन्दोलनको स्मरण तथा त्यससँग जोडिएको राजनीतिक र सामाजिक इतिहासलाई कलात्मक रूपमा प्रस्तुत गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ ।

