काठमाडौँ । रसुवा बाढीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि नेपाल प्रहरीले ड्रोन क्यामेराको सहयोगमा काम गरिरहँदा प्रहरीले ड्रोन क्यामेरामा एउटा शव देखियो तर खोज्दै जाँदा त्यहाँ थप २३ ओटा शव भेटिए ।
क्यामेरामा कैद भएको विवरणका आधारमा प्रहरीको उद्धार तथा खोज टोली भदौ १६ गते त्यसतर्फ प्रस्थान गरेको थियो । उक्त शव फेला परेको स्थान विदुर नगरपालिका–१० बेत्रावतीस्थित बच्चुराम अवस्थीको घर भएको खुलेको छ ।
घर वरिपरि बाढीले बगाएर ल्याएको दलदले हिलोले घेरेका कारण देखिएको शवसम्म पुग्न निकै नै कठिन देखियो । फेरि पनि नजिकै भग्नावशेषबाट प्रहरीले जस्तापाता, काठ, डोरीलगायतको सामग्री एकजुट गर्यो । दलदले हिलोमाथि उक्त सामग्री प्रयोग गरी प्रहरी निरीक्षकद्वय महेन्द्र दर्नाल र युवराज कटुवालको टोली शव भएको उक्त घरसम्म पुग्न सफल भए ।
घरमा प्रवेश गरेपछि फेला परेको शवनजिक थप शव हुन सक्ने आशङ्कामा खोजी गर्ने क्रममा अन्य २३ ओटा शव फेला पर्यो । फेला परेका शवमध्ये एक बालिका, ११ ओटा पुरुष र १२ ओटा महिलाको शव रहेको छ ।
शवको मुचुल्का कार्य सम्पन्न गरी शव व्यवस्थापनको लागि पठाउने कार्य भइरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार दलदले हिलोका कारण उक्त स्थानमा शव व्यवस्थापनका लागि हेलिकोप्टरको आवश्यकता देखिन्छ ।

