काठमाडौँ । भोटेकोसी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेको भए पनि उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले भदौ १० गते रसुवामा आएको बाढीपश्चात् ती नदीमा पानीको बहाव तल रहेता पनि सतर्कता अपनाउन भनेको हो ।
बाढी पूवार्नुमान महाशाखाद्वारा जारी बाढी पूर्वानुमान बुलेटिनमा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, गोरखा, लमजुङ, डोल्पा आसपासका जिल्ला भई बग्ने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको स्पष्ट पारेको छ ।
त्यसैगरी, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बग्ने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमका साथै नुवाकोट र रसुवा जिल्ला भई बग्ने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी को उच्च सम्भावना रहेको बताएको छ ।

