काठमाडौं, भदौ १५ । नेपाल पत्रकार महासंघले लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउँदै आएको रकम आधा कटौती हुने गरी सरकारले कार्यविधि संशोधन गरेको भन्दै आपत्ति जनाएको छ।
Advertisement
महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै नयाँ कार्यविधि तत्काल फिर्ता गरी पुरानै दर कायम गर्न माग गरेका छन्। महासंघले सरोकारवालासँग छलफल नगरी सञ्चारमाध्यमलाई आर्थिक संकटमा पार्ने निर्णय गरिएको भन्दै विरोध जनाएको हो।
बजेटमार्फत लोककल्याणकारी विज्ञापनको रकम वृद्धि गर्ने घोषणा भए पनि त्यसविपरीत कार्यविधि संशोधन गरिएको महासंघको भनाइ छ। साथै, अनलाइन सञ्चारमाध्यमलाई समेत लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन माग गर्दै महासंघले माग सम्बोधन नभए देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको छ।


