काठमाडौँ । नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति अन्तर्राष्ट्रिय क्रान्तिकारी कम्युनिस्ट संगठन (आइकोर) ले गहिरो दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको छ ।
आइकोरका मुख्य संयोजक मोनिका गार्टनर–एंगेलले जारी गरेको शोक वक्तव्यमा तीव्र वेगका साथ आएको विशाल बाढीले नेपालका सीमावर्ती क्षेत्रमा ठूलो विनाश निम्त्याएको उल्लेख गरिएको छ । बाढीका कारण धेरै गाउँ, पुल तथा सडकहरू ध्वस्त भएको र ठूलो संख्यामा मानवीय क्षति भएकोप्रति आइकोरले चिन्ता व्यक्त गरेको हो ।
वक्तव्यमा भनिएको छ, “हाम्रो हृदय तपाईं र पीडितका परिवारजन तथा साथीहरूप्रति सहानुभूतिले भरिएको छ।” नेपालसँग विभिन्न भेटघाट, यात्रा र मित्रताका माध्यमबाट जोडिएको उल्लेख गर्दै आइकोरले विपत्तिको यस घडीमा नेपाली जनतासँग आफ्नो सम्बन्ध अझ गहिरो भएको महसुस गरेको जनाएको छ ।
आइकोरले बाढीमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, दुःख र पीडाको यस कठिन समयमा सम्पूर्ण नेपाली जनताको साथमा रहेको जनाएको छ ।

