बाढीले
सूचना दिएन,
व्यस्त थिए
मानिसहरू आफ्नै सपनाहरूमा।
Advertisement
हजारौँ मानिसले जीवन गुमाए,
हजारौँ घरहरू भत्किए,
पशुपन्छी, बाटोघाटो, पुलपुलेसा,
बोटबिरुवा—
केही छोडेन भोटेकोसीले।
हिमालका चुचुराहरू
पग्लिएर ताल बन्छन्,
आनन्दित बनाउँछन्
पर्यटकलाई,
फेरि
त्यही पानीले
सबैको उठिबास गराउँछ।
रोइरहेको छ मेरो देश,
विकासका मूलहरू बगाएर,
पुरिए लेदोमा
आशाका किरणहरू।
उठ्नुपर्छ संकटबाट,
कुनै सम्झौता नगरी।
आउँछन्, जान्छन्
विघ्नबाधाहरू।
स्याप्रुबेसी, टिमुर, गल्छी, त्रिशूली
सहयोगका हातहरू फैलाइरहेका छन्,
मनभरि चोटहरू बोकेर,
आँखाभरि आँसु बोकेर।
सकिन्छ… उठ्न देऊ
हातहरू।
आज
मेरो देश संकटमा छ…

