बुटवल, भदौ ६ । कम्युनिष्ट संग्रहालयको चौथो भेला बुटवलमा सम्पन्न भएको छ । भेलाले चेतनाथ आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै संगठनलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
भेलाको उद्घाटन सत्रको सञ्चालन हरि आचार्यले र अध्यक्षता चेतनाथ आचार्यले गर्नुभएको थियो । कार्यक्रममा नेकपा –मसाल) का महामन्त्री मोहनविक्रम सिंहको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै संरक्षक चित्रबहादुर केसी, पूर्वअध्यक्ष रश्मीराज नेपाली तथा संस्थापक संयोजक दुर्गानाथ खरेलले पनि अतिथी आसनग्रहण गर्नुभएको थियो ।
ज्ञात–अज्ञात सहिदहरूप्रति मौनधारणबाट अगाडि बढेको सो भेलामा सहभागिहरूलाई बद्रे आलमले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।
प्रमुख अतिथि सिंहले भेलाको उद्घाटन गर्दै कम्युनिष्ट आन्दोलनको इतिहास तथा त्यससँग सम्बन्धित महत्वपूर्ण दस्तावेज र सामग्रीको संरक्षण गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको थियो ।
उद्घाटन सत्रमा संस्थापक संयोजक दुर्गानाथ खरेल, पूर्वअध्यक्ष रश्मीराज नेपाली तथा संरक्षक चित्रबहादुर केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सोही अवसरमा मानार्थ तथा आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
चौथो भेलाले चेतनाथ आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा बद्रे आलम, महासचिवमा हरि आचार्य, सचिवमा लीलबहादुर केसी र कोषाध्यक्षमा तारा थापा चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा भैरव रेग्मी, दुर्गा पौडेल, गणेश गौतम, पदम श्रेष्ठ, ढुण्डीराज शर्मा, वासुदेव पोखरेल, लोकराज भुसाल र माधवराज भाट क्षेत्री चयन हुनुभएको छ ।
सल्लाहकारमा रश्मीराज नेपाली र दुर्गानाथ खरेल चयन हुनुभएको छ । सल्लाहकारतर्फका दुई स्थान भने रिक्त राखिएको छ ।
दुर्गा पौडेलको अध्यक्षतामा अगाडि बढेको सो भेलाको समापन समारोहमा सहभागीका तर्फबाट कमला बन्जाडे र लालचन्द पन्तले धारणा राख्नुभएको थियो ।
निर्वाचन समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै प्रमुख अतिथि मोहनविक्रम सिंहले मन्तव्य राख्नुभएको थियो ।
चौथो भेलाबाट नयाँ नेतृत्व चयन भएसँगै कम्युनिष्ट संग्रहालयका गतिविधिलाई थप व्यवस्थित बनाउँदै इतिहास, दस्तावेज तथा आन्दोलनसँग सम्बन्धित सामग्रीको संरक्षण र अध्ययनलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ ।