ओसाका (जापान) । गल्कोट समाज जापान क्षेत्रीय समिति कान्साईको आयोजनामा प्रथम मौलिक तिजगीत प्रतियोगिता आयोजना हुने भएको छ ।
समाजका अध्यक्ष सन्देश बुढाथोकीका अनुसार उक्त प्रतियोगिता सेप्टेम्बर ११, २०२६ सेप्टेम्बर ११ शुक्रबारका दिन ओसाका युथ सेन्टर कोकोप्लाजामा दिउँसो २ बजेदेखि राति ८ बजेसम्म हुने भएको हो ।
प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने समूहलाई प्रथम पुरस्कार ७७ हजार सात सय ७७, द्वितीय पुरस्कार ५५ हजार पाँच सय ५५ तथा सान्त्वना पुरस्कार २२ हजार दुई सय २२ जापानी येन पुरस्कार दिइने आयोजकले जनाएको छ । सान्त्वना पुरस्कार दुई टिमलाई प्रदान गरिने भएको छ ।
प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमले पाँच हजार जापानी येन दर्ता शुल्क बुझाउनुपर्नेछ भने टिम दर्ताको अन्तिम मिति सेप्टेम्बर ५ को साँझ ५ बजेसम्म तोकिएको समाजका उपाध्यक्ष कौशल बोहोराले बताए ।
आयोजकका अनुसार प्रत्येक टिममा सातदेखि ११ जना सहभागी हुनुपर्नेछ । प्रतियोगितामा प्रस्तुत गरिने गीत तथा नृत्य नेपाली मौलिक तिजको भाका र लयमा आधारित हुनुपर्नेछ, साथै सहभागीले नेपाली मौलिक पोसाक अनिवार्य लगाउनुपर्नेछ ।
समाजले नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै जापानमा रहेका नेपाली समुदायबिच आपसी एकता, भाइचारा र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको संस्थाका सचिव भूवन सापकोटाले युगदर्शनलाई जानकारी दिनुभयो ।