रुपन्देही, भदौ १ । रक्तिम सांस्कृतिक अभियान जिल्ला समिति रुपन्देहीले आगामी भदौ १४ गते आइतबार ‘प्रगतिशील तीज नृत्य प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ ।
प्राप्त जानकारी अनुसार प्रतियोगिता रुपन्देहीको दरबार होटल, योगीकुटीमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न जनवर्गीय संगठन तथा स्थानीय सांस्कृतिक समूहहरूको सहभागिता रहने जनाइएको छ ।
कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथिबाट उद्घाटन, त्यसपछि रक्तिम सांस्कृतिक अभियानको प्रस्तुति र दोस्रो चरणमा प्रगतिशील तीज नृत्य प्रतियोगिता सञ्चालन गरिने बताइएको छ । तेस्रो चरणमा दर खाने कार्यक्रम तथा चौथो चरणमा पुरस्कार वितरण, सम्मान तथा मायाको चिनो प्रदानसहित कार्यक्रम समापन गर्ने तयारी गरिएको छ ।
रक्तिम सांस्कृतिक अभियानले तीज पर्वलाई परम्परागत मनोरञ्जनमा मात्र सीमित नराखी जनवादी तथा प्रगतिशील विचार, गीत–संगीत र नृत्यमार्फत सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। अभियानको मूल नाराका रूपमा ‘राष्ट्रियताको रक्षा गरौँ, प्रगतिशील, जनवादी सांस्कृतिक अभियानलाई अघि बढाऔँ’ भन्ने सन्देश अघि सारिएको छ ।
आयोजकले प्रतियोगितामा सहभागी हुन तथा कार्यक्रममा उपस्थित भई प्रगतिशील गीत, संगीत र नृत्यसँगै मनोरञ्जन लिन सबैलाई आग्रह गरेको छ ।

