बाजुरा । बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ ।
भिरालो भूभाग, कमजोर भू–बनावट, नदी कटान तथा अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको बढ्दो असरका कारण पुरै जिल्लानै विपद्को उच्च जोखिममा परेको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ अनुसार जिल्लाका नौ वटै स्थानीय तह उच्च जोखिममा रहेको उल्लेख छ ।
बडीमालिकामा १३ गाउँ, बुढीगङ्गामा १२, त्रिवेणीमा १६, बुढीनन्दामा २०, गौमुलमा ३५, खप्तड छेडेदहमा १०, जगन्नाथमा चार, स्वामीकार्तिक खापरमा १० र हिमालीमा चार वटा गाउँ पहिरोको चपेटामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले राससलाई जानकारी दिनुभयो ।
जिल्ला विपद् प्रतिकार्य योजनाले बाढी पहिरो जस्ता विपद्को उच्च जोखिममा रहेका मध्ये करिब एक सय १५ गाउँ बस्तीहरु तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने जनाएको छ ।
उक्त बस्ती स्थानान्तरणका लागि हालसम्म कुनै पहल नहुँदा बर्षाको समयमा यहाँको जनजीवन प्रभावित बनेको छ ।
बुढीगङ्गा नदीले बडीमालिका, बुढीगङ्गा, त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकाका सयौँ परिवारको खेतीयोग्य जमिन कटान गरेर बगरमा परिणत गरेको स्थानीय दीपक बडुवालले जानकारी दिनुभयो ।
जोखिम न्यूनीकरणका लागि केवल राहत र उद्धारमा सीमित नभई दीर्घकालीन योजना आवश्यक रहेको सरोकारवालाहरु बताउनुहुन्छ ।
बूढीगङ्गा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले बुढीगङ्गा नदीले खेतीयोग्य जमिन बगरमा परिणत गराएको बताउनुभयो ।
विपद् प्रतिकार्य योजना २०८३ को तथ्यङ्कअनुसार जिल्लाभर २०७७ साल यता बाढी पहिरो जस्ता विपद्जन्य घटनामा परी ६२ जनाको मृत्यु भएको छ, भने झन्डै एक हजार ७ सय २८ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बाजुरा विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै बाढीपहिरो, भूकम्प, आगलागीजस्ता विपद्हरुले जुनसुकै बेला पनि ठूलो धनजनको क्षति पु¥याउन सक्ने बताउनुभयो ।