काठमाडौँ । अखिल नेपाल युवक संघले अन्तर्राष्ट्रिय युवा दिवस २०८३ का अवसरमा सम्पूर्ण नेपाली तथा विश्वभरका युवालाई शुभकामना दिँदै युवाको श्रम, ऊर्जा र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा परिचालन गर्न सरकारसँग आग्रह गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष गणेश अधिकारीद्वारा जारी विज्ञप्तिमा युवालाई रोजगारी, उत्पादन, उद्यमशीलता र सामाजिक रूपान्तरणसँग जोड्नुपर्नेमा जोड दिइएको छ । नेपालमा बेरोजगारी, वैदेशिक पलायन, महँगी, शिक्षा तथा रोजगारीबीचको असन्तुलन, श्रम असुरक्षा, भ्रष्टाचार र अवसरको असमानताले युवाको भविष्य प्रभावित भइरहेको संघको भनाइ छ ।
विज्ञप्तिमा स्वदेशमै रोजगारी सिर्जना, उत्पादन तथा उद्योगमा लगानी वृद्धि, कृषि, पर्यटन, ऊर्जा र सूचना–प्रविधिको विकासमार्फत युवालाई उत्पादनसँग जोड्नुपर्ने माग गरिएको छ । विदेशबाट फर्किएका युवाको सीप र पुँजीलाई राष्ट्रिय उत्पादनमा उपयोग गर्न पनि सरकारलाई आग्रह गरिएको छ ।
संघले युवालाई भ्रष्टाचारविरोधी अभियान, सामाजिक सेवा, विज्ञान–प्रविधि, वातावरण संरक्षण तथा जनमुखी राजनीतिक प्रक्रियामा सक्रिय भूमिका खेल्न आह्वान गरेको छ । साथै, हालैका युवा आन्दोलनका क्रममा उठेका विषयलाई राजनीतिक स्वार्थका लागि दुरुपयोग नगर्न सचेत गराउँदै युवाको आन्दोलनलाई सही दिशा दिनुपर्नेमा जोड दिएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संघले सरकारसँग स्वदेशमै रोजगारी तथा उद्यमशीलताको वातावरण निर्माण, वैदेशिक रोजगारीको सुरक्षा र नीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गरेको छ। युवालाई निराशा र पलायनबाट माथि उठाई अध्ययनशील, श्रमशील, अनुशासित तथा राष्ट्र निर्माणप्रति प्रतिबद्ध शक्तिका रूपमा अघि बढ्न पनि संघले आह्वान गरेको छ ।

