काठमाडौँ, साउन २६ । सरकारले हालैको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता तथा सिराहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उनीहरूलाई सहिद घोषणा गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
बैठकले विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय पनि गरेको छ।
यस्तै, बाराका निर्मलकुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरिएको छ। पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णयसमेत बैठकले गरेको छ।
एनसेलको सेयर खरिद–बिक्रीबारे पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गाल नेतृत्वको छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको प्रवक्ता पोखरेलले बताए।
प्रधानमन्त्री बालेन शाहको आगामी विदेश भ्रमण तथा छिमेकी राष्ट्रका उच्च अधिकारीहरूको भ्रमणका लागि सम्बन्धित मन्त्रालयले आवश्यक प्रोटोकलअनुसार तयारी गरिरहेको उनले जानकारी दिए।

