तौलिहवा, कपिलवस्तु । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक), कपिलवस्तु शिवराज नगर समितिको दोस्रो नगर भेला शनिबार चन्द्रौटामा सम्पन्न भएको छ।
अन्टुकका केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा कपिलवस्तु जिल्ला सचिव केर सिंह अदैको प्रमुख आतिथ्यतामा तथा तेजबहादुर चौधरीको अध्यक्षतामा भेला सम्पन्न भएको हो।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि अदैले देशमा साम्राज्यवादी चलखेल तीव्र रूपमा बढिरहेको बताउँदै राष्ट्रियताको रक्षा गर्न मजदुर सङ्गठनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले वर्तमान सरकार गणतन्त्र र मजदुरका हकहितविरोधी रहेको आरोप लगाउँदै गणतन्त्र तथा मजदुरका अधिकारको रक्षा गर्न मजदुरहरू एकजुट भएर सङ्घर्ष गर्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभयो।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा कपिलवस्तु जिल्ला कोषाध्यक्ष केहेर सिंह पुन मगर, जातीय समता समाजका जिल्ला सचिव रामबहादुर चमार तथा कतार नेपाली एकता समाजका पूर्वमहासचिव खिम बुढाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
भेलाले तेजबहादुर चौधरीको अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) शिवराज नगर समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा श्याममोहन केवट, सचिवमा रामनरेश गुप्ता र कोषाध्यक्षमा रामप्रसाद कामी चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा अयोध्या प्रसाद रहिदास, उदयराज थारू, मञ्जु थापा, शम्भु कुर्मी, राजाराम कुर्मी, विक्रम प्रेटेल र रामकिसुन लिनिया चयन हुनुभएको छ। वैकल्पिक सदस्यमा उमेश भर र मोहम्मद हुसेन मुल्ला तथा सल्लाहकारमा रमेश भर, हुसेन मुल्ला र रामबहादुर बुढाथोकी चयन हुनुभएको छ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई जातीय समता समाज शिवराज नगर समिति अध्यक्ष मोहन विकले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा अन्टुक केन्द्रीय सदस्य केर सिंह अदैले सदस्यता नवीकरण तथा सदस्यता प्रदान गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन रामनरेश गुप्ताले गर्नुभएको थियो भने स्वागत मन्तव्य श्याममोहन केवटले व्यक्त गर्नुभएको थियो।

