काठमाडौं, असार २२ । नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्डको दुई गोलको मद्दतमा ब्राजिल २–१ ले पराजित हुँदै विश्वकपको अन्तिम १६ बाट बाहिरिएको छ। यससँगै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।
अमेरिकाको न्यु जर्सीमा भएको खेलमा नर्वेले सुरुआतमै गोल गरे पनि अफसाइडका कारण त्यो मान्य भएन। पहिलो हाफमा ब्राजिलले पेनाल्टीको अवसर पाए पनि ब्रुनो गुइमाराएसको प्रहार नर्वेका गोलकिपर ओर्जन नाइल्यान्डले बचाए। उनले विनिसियस जुनियरको प्रहार पनि उत्कृष्ट रूपमा रोके।
खेलभरि संयमित देखिएका हालान्डले ७९औँ मिनेटमा हेडमार्फत पहिलो गोल गरे भने ९०औँ मिनेटमा बक्स बाहिरबाट शानदार प्रहार गर्दै दोस्रो गोल थपे। इन्जुरी समयमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि ब्राजिललाई हारबाट जोगाउन सकेनन्।
यस जितसँगै नर्वे क्वार्टरफाइनलमा प्रवेश गरेको छ, जहाँ उसले इंग्ल्याण्ड वा सह–आयोजक मेक्सिकोमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। दुई गोलसँगै हालान्डले प्रतियोगितामा आफ्नो गोल संख्या सात पुर्याएका छन् र गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन्।