• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कनिकनि लेखिएका कविता होइनन् यी


  •   बिहिबार, असार १८, २०८३ मा प्रकाशित
  • — खगेन्द्र गिरी ‘कोपिला’नेपालगञ्ज, बाँके

    — खगेन्द्र गिरी ‘कोपिला’
    नेपालगञ्ज, बाँके

    म प्रवाहित ज्वाला हुँ।
    म दीप्त, प्रज्वलित सत्य हुँ।
    भस्ममुनि श्वास लिइरहेको
    अमोघ कम्पन,
    म अग्नि–स्पन्दन हुँ।

    Advertisement

    कम्पन भएर पनि नचुक्ने र आगो भएर पनि बिस्तारै हल्लिन खोज्ने यो अनौठो रहर हो कवयित्री कल्पना पौडेल ‘जिज्ञासु’को। खरानी हुँदा पनि श्वास लिएर जीवनको अस्तित्व समेट्न खोज्ने उनको यो रहर ‘अग्नि स्पन्दन’ नामक पछिल्लो कविताकृतिमा छताछुल्ल भएर पोखिएको छ। बाउन्नवटा कविताको सङ्ग्रहका रूपमा यस कविताकृतिले विक्रम संवत् २०८३ को आगमनसँगै आफ्नो घुम्टो उघारेको हो।

    तिमीलाई लाग्ला,
    म माटो मात्र हुँ,
    एक विलोपनशील खण्ड।
    माटो मात्रै होइन,
    म त ब्रह्माण्डको निषेचित गर्भ हुँ,
    जसबाट जन्मन्छन्
    विषम समयका सभ्यताहरू।
    म त्यस्तो सघन रेखा हुँ,
    जसले जीवनको प्रादुर्भाव गर्छ।

    ‘लेखन मेरा लागि केवल अभिव्यक्ति मात्र होइन, यो अस्तित्वको धड्कन हो, जसले मेरो मनमा गुम्सिएका भित्री भावलाई शब्दमा रूपान्तरण गरिरहन्छ। मेरो कलमले मेरा भावनालाई कति न्याय गर्न सक्यो वा सकेन, त्यो कुरा पाठकको जिम्मामा छाडेकी छु।’ आफ्नो कविताकर्मका विषयमा कवयित्रीले व्यक्त गरेको भनाइ हो यो। यस भनाइको धरातलमा उभिएर लेखिएका अधिकांश कविताले यसको पुष्टि गरेका पनि छन्।

    कवयित्री कहिले कुनै बिम्बमा अनूदित भएर आफ्नो चेतनाको उडान गरिरहेकी हुन्छिन्। कहिले कुनै प्रतीकसँग उभिएर आफ्ना सपनामा रङ भरिरहेकी हुन्छिन्। कहिले कुनै व्यञ्जनामा पोखिएर आफ्नो अस्तित्वलाई जगाइरहेकी हुन्छिन्। जुनसुकै प्रकारले कोरिएका भए पनि कविताका हरेक अक्षरले कुनै न कुनै नवीन सत्यको उद्घाटन गरेका छन्।

    म नदी हुँ,
    अन्त्यहीन यात्राको प्रतिबिम्ब,
    युगीन यात्राको संवाहक।
    कहिल्यै मागिनँ मैले सपनाहरू,
    तर सहरले मलाई सपनाको मोलमा बेच्यो।
    हरिया किनार कोपरिए,
    बगर लुछेर खोसिए।
    प्लास्टिकका अवशेषले
    मेरो हृदय खोतल्न थाले।
    दूषित पदार्थले बलात्कृत भएँ।

    प्रायः कविहरू सधैँ सिर्जनाको एउटै गोरेटोलाई पछ्याइरहेका हुन्छन्। विषय र विचारको उही पुरानै राग अलापिरहेका हुन्छन्। लेखनशैली, शब्दसंरचना र विषयवस्तुमा सधैँ एकरूपता हुने गर्छ। नयाँ–नयाँ पुस्तकमा पनि पुरानै कुराको पुनरावृत्ति गर्दै गनगन गरिरहेका हुन्छन्। तर कल्पना पौडेल ‘जिज्ञासु’ले भने यस प्रवृत्तिमाथि विजय प्राप्त गरेकी छन्। उनको कल्पना, भावना र सिर्जना पहिलेभन्दा निकै परिस्कृत भएर आएको छ। पहिलेका सिर्जनाभन्दा उनका यी कवितामा चिन्तन र दर्शनको पाटो परिपक्व भएर आएको छ। शब्दको संयोजन र सम्प्रेषणमा स्तरीयता आएको छ। सिर्जनात्मक परिपक्वताको उचाइ छोएकी छन् कवयित्री।

    ‘म फर्किएर आउँछु’
    समयसीमा र वाचामिश्रित शब्द ओकल्दै
    निस्किएको थिएँ एक बिहान।
    झोलामा थिए
    आमाले राखिदिएका बासी रोटी
    र भुटेका मकै।
    बाबुले दिनुभएको बाटोखर्च,
    मनभरि थिए सपनाका अङ्कुर।
    त्यस दिन
    जन्मथलोको माटोले मेरो पैताला चुमेर भनेको थियो—
    ‘चाँडै फर्किनू।’

    हुन त कवयित्रीले लेखेका कुरा उनै हुन्, जो अरू कविले पनि लेख्ने गर्छन्। उनले भन्न खोजेको कुरा पनि नयाँ होइन। सुनिँदै, भनिँदै र लेखिँदै आएका विषय नै हुन्। चिन्तनलाई निर्देशन गर्ने विचार र विचारलाई मलजल गर्ने विषय पनि उही हो, जो कवयित्रीसँग पहिले पनि थिए। तर यस कवितासङ्ग्रहका कवितामा उनै विषय, उनै विचार र उनै कुरालाई भन्ने, पोख्ने र लेख्ने शैलीमा नयाँ कला थपिएको छ। शब्दको शृङ्गार र अभिव्यक्तिको शैलीमा निखार आएको छ।

    न आकाश चिर्ने गर्जन छ,
    न धर्ती पोल्ने अग्नि।
    तर शान्त स्क्रिनभित्रै
    चुपचाप फैलिरहेको छ एक अदृश्य युद्ध।
    न देखिने सेना, न गर्जने तोप।
    न रगतका नदी बग्छन्,
    न हाडमासुको थुप्रो।
    तर डिजिटल जालोका सूक्ष्म तरङ्गहरूले
    मस्तिष्कका किल्लाहरू क्रमशः भत्काउँदै छन्।
    अक्षरहरू अस्त्र बनेका छन्,
    सूचना बारुदझैँ विस्फोट भइरहेका छन्।

    ‘अग्नि स्पन्दन’भित्रका कविता पढ्दा कुनै नयाँ कुरा भनिएजस्तो लाग्छ। निकै तार्किक भएर पनि अति मार्मिक छन् यी कविता। समसामयिक कुरा नै बोलेका भए पनि भनाइ निकै अर्थपूर्ण छ। पढ्ने र सुन्ने मानिसले कान थापेर, मनन गरेर मात्र बुझ्नुपर्ने हुन्छ यी भनाइहरू। कवयित्रीले के भनेकी होलिन्, किन भनेकी होलिन् र कसलाई भनेकी होलिन् भनेर पाठकलाई सोच्न बाध्य पार्छन् यी कविताले।

    अपरिचित सहरको कृत्रिम उज्यालोभित्र,
    सडकबत्तीहरूको चमकमा
    जब आफ्नै प्रतिबिम्ब खोज्छु,
    भेटिँदैन अपनत्वको छाया।
    प्रवासी मान्छे म,
    निर्जीव ऐनाजस्तै लाग्छ प्रवास।

    समयका छालहरूसँग पौडी खेलेर बाँच्ने चेष्टा गरिरहेका आम मानिसका जीजीविषाका चित्कार हुन् यी कविता। नाम ‘अग्नि स्पन्दन’ भए पनि पाखुरा खियाएर पसिना बगाउँदै जीवनयापन गरिरहेका मानिसका आँसु बगेजस्ता लाग्छन् यी कविता। भुइँमान्छेको अपनत्व समेटेर लेखिएका हुनाले यी कवितामा माटोको सुगन्ध मगमगाएको छ।

    म पुनः आफ्नै मातृभूमि फर्कने निर्णय गर्दैछु।
    कर्तव्यबोधले
    कुटुक्क भरिएको छ हृदय।
    म आफ्नो माटोलाई
    फेरि अँगाल्न चाहन्छु,
    जहाँ लुकेको छ
    मेरो अस्तित्व,
    मेरो पहिचान
    र मेरो आत्माको वास्तविक सुवास।

    ‘अग्नि स्पन्दन’को चित्रमा समाजको अनुहार छर्लङ्गै देखिन्छ। तर कवयित्रीले देखिएका सबै कुरा कवितामा उतारेकी छैनन्। आफूले अँगालेको विचारले देखाउन खोजेका कुरा मात्रै त्यही विचारको लेप लगाएर प्रस्तुत गर्न खोजेको जस्तो अनुभूति हुन्छ। कवयित्री समाजका अन्य कुराभन्दा करिया, हलिया, कमलरी, देउकी, छाउपडी, दाइजो र छुवाछुतलाई नै प्रमुख समस्या मानिरहेकी छन्। ती अवश्य पनि कुनै समयका ठूला समस्या थिए। आजको समयमा तीभन्दा कैयौँ ठूला समस्या देखा परेका छन्। महँगी, पलायन, बेरोजगारी, भ्रष्टाचार, धनी–गरिबबीचको बढ्दो दूरी, गिर्दो मानवता र राजनीतिक हिंसाले समाजलाई सबैभन्दा बढी प्रभावित पारेका छन्।

    मानिसको प्रगतिमा कवयित्री समाजलाई मात्र बाधक देख्छिन्। समाज भनेको उत्पीडन, छुवाछुत, विभेद, शोषण र प्रताडना मात्र होइन। समाज भनेको प्रेम, सद्भाव, सहकार्य, सहअस्तित्व र प्रतिस्पर्धा पनि हो। यी सबै कुरा हिजो पनि थिए, आज पनि छन्। पात्र, ठाउँ र रूप फेरिएको छ, तर प्रवृत्ति उस्तै छ। कवयित्रीले भने समाजका प्रेम, सद्भाव, सहकार्य, सहअस्तित्व र प्रतिस्पर्धातर्फ आँखा चिम्लेकी छन्। समाजमा केवल उत्पीडन, छुवाछुत, विभेद, शोषण र प्रताडना मात्रै थियो भन्ने भाष्य प्रस्तुत गरेकी छन्। यो कवयित्रीको दृष्टिको एकाङ्गी कोण भएन र?

    छाड्नुपर्ने, बिर्सनुपर्ने र त्याग्नुपर्ने कुरालाई कवि–लेखकहरूले किन घरीघरी त्यसैको पुनरावृत्ति गरिरहन्छन् होला? हराउँदै जानुपर्ने कुरालाई किन सम्झाइरहन्छन् होला? कि कविहरूको मनभित्र उत्पीडन, छुवाछुत, विभेद, शोषण र प्रताडना नहटून् भन्ने चाहना त छैन? कि लेख्ने अन्य विषय खोज्न, भेट्टाउन र पाउन नसकेको हो? विषय र आग्रहको एउटै रोटेपिङमा कविहरू किन मच्चिन खोजिरहन्छन्? नयाँ समाज र नयाँ सामाजिक सौन्दर्यको निर्माण गर्ने प्रेम र सद्भावका फूलहरू आफ्ना कवितामा उमार्नुपर्ने होइन र आजका कविहरूले? ‘अग्नि स्पन्दन’ पढ्दै गर्दा र त्यसको काव्यिक स्वादमा लट्ठिँदा मलाई यी प्रश्नहरूले पनि लखेटिरहे।

    तैपनि कवयित्रीले सुन्दर भविष्यको कल्पना गरेकी छन्। मानिस र समाजलाई सुधार्नुपर्छ भन्ने सन्देश दिएकी छन्। आजका निराश मानिसलाई सुन्दर सपनाको स्पर्शले थम्थम्याउन खोजेकी छन्।

    जीवित पर्दामा छन्
    ज्युँदा सपनाहरू।
    इतिहासका पाना पल्टाएर
    चुप रहने छैनौँ अब हामी।
    सहने छैनौँ चुप लागेर
    शोषण, अन्याय र अत्याचार।
    सपना हाम्रो हो, हामी आफैँ देख्छौँ।

    कवयित्रीले ‘म नारीवादी हुँ’ भनेर स्वघोषणा पनि गरेकी छन्। तर उनका कवितामा नारीवादी चेत मात्र होइन, मानवतावादी चेत पनि भेटिन्छ। तर उनको मानवतावादी चेतलाई नारीवादी चेतले थिचेर राखेको छ। चेतनाको आयाम फराकिलो भएर पनि आफ्नो परिचय नारीवादमै किन साँघुर्याइन् होला उनले? मैले कारण नभेट्टाएर गम खाइरहेँ।

    किन नारीवादलाई अनुशासन, परिवार र समाज नचाहिएको होला? बुवाको आदेश, आमाको अर्ती र दाजुको सल्लाहलाई कवयित्रीले किन प्रगतिको बाधक ठानिन् होला? के कुनै अभिभावकले आफ्नो सन्तानलाई जन्मिनेबित्तिकै विद्रोही बन्न प्रेरित गर्छ र? उसले त हुर्किन र बाँच्न पो सिकाउँछ। के ठीक, के बेठीक भनेर छुट्याउन सिकाउँछ। यसरी सिकाउने आमाबाबु र अभिभावकप्रति हरेक मानिसले अनुगृहीत हुनुपर्ने होइन र?

    एक दिन सन्तानहरू
    स्वयं आमा बन्छन्,
    स्वयं बाबु बन्छन्।
    निद्राविहीन रातका अभिभावक बन्छन्,
    भोकविहीन दिनका पर्यायवाची बन्छन्।
    अनि एउटै ज्वरोले
    उनीहरूको आत्मा कम्पन गराउँछ।
    नेपथ्यको हाँसो पनि शूल बनेर गढ्छ।

    विषयवस्तुको उठान साँघुरो प्रकारले गरेको भए पनि कल्पना पौडेल ‘जिज्ञासु’को कल्पनाशीलता निकै फराकिलो छ। शब्दसामर्थ्य र अभिव्यक्तिकौशलको परिधि पनि विस्तृत छ। विषयवस्तुले छोएका कुरा पनि व्यापक छन्। तर उनी घुम्दैफिर्दै रुम्जाटार भनेझैँ उड्दाउड्दै फेरि उही क्रान्ति, परिवर्तन, विरोध, आक्रोश र असहमतिमै आइपुग्छिन्। कल्पनाशीलताको क्षितिज छुन खोज्ने चेतनाको उडानलाई उनले तानेर फेरि विचारको भाँडोमै थुपारेर बिर्को लगाउन किन खोजिरहेकी छन् होला? मेरो पाठक मनले आश्चर्य मानिरह्यो।

    शारीरिक शोषण, मानसिक प्रताडना, बेरोजगारी, महँगी, भौतिक सुविधाको अपर्याप्तता, अवसरको अप्राप्ति, राजनीतिक बेइमानी र धनको असन्तुलित वितरणले आजका पुरुष र महिला दुवैलाई समान रूपमा प्रभावित पारेको छ। महिला भएकाले केही समस्या महिलाका मात्रै भएझैँ पुरुष भएकाले केही समस्या पुरुषका मात्रै पनि छन्। समाजका यी यावत् साझा समस्यालाई कवयित्री कल्पना पौडेल ‘जिज्ञासु’ले एउटा दर्शन र एउटा वादको कोणबाट मात्रै नहेरेको भए यी कवितामा सबैले अपनत्वको अनुभूति गर्थे होलान्। किनकि विचार र वादले जता पुर्‍याए पनि कवयित्रीको मनको इच्छा भने सबैको मन जित्ने नै हो।

    ‘यसभित्रका कविताहरू केवल पढिने शब्द मात्र नबनून्, अनुभूत गरिने यथार्थ बनून्। “अग्नि” अन्याय, विभेद र दमनविरुद्ध साहसिक प्रतिरोध बनोस् र “स्पन्दन” प्रत्येक सचेत आत्माभित्र चलिरहने परिवर्तनको कम्पन बनोस्।’ यो कवयित्रीको अभिलाषा हो। उनको अभिलाषाले विचार र वादको घेरा नाघेर मानिसका मनमै पुगेर सुम्सुम्याउन खोजेको पनि छ।

    स्वतन्त्र उड्न खोजेको आफ्नो बहुआयामिक चिन्तनको उडानलाई विचारको डोरीले तानेर आफ्नै छेउमा बसाल्न खोजेकी भए पनि यी कविता कनिकनि लेखिएका विचारवादी कविता भने होइनन्। यी त हृदयको गहिराइबाट उर्लिएका स्वतन्त्र सदिच्छा हुन्। मनको तहबाट उठेर आत्माको तहमा उक्लिन खोजेका मानवीय संवेदनाका फूल हुन्, जहाँ स्पष्ट देखिन्छ— भुइँमान्छेका निर्दोष मनले सुन्दर भविष्यको सुदूर सपना हेरिरहेको छ।

    सफलतामा अघोर चुलिनु हुँदैन,
    असफलतामा धूलिसात भएर भत्किनु हुँदैन।
    हिजो एउटा कालखण्ड हो,
    आज एउटा कालखण्ड हो,
    भोलि पनि एउटा कालखण्ड हो।
    तसर्थ,
    यात्रा निरन्तर हुनुपर्छ,
    अजेय पाइला चाल्नुपर्छ।

    बिहिबार, असार १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    जेनजीले दिएको अविस्मरणीय घाउ : रेट्रोफिट हुन नसक्ने भएपछि सङ्ग्रहालय बनाइँदै

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.