धनविर पुनमगर ##
कहिलेकाहीँ एउटा गीत केवल गीत हुँदैन, त्यो समयको आवाज बन्छ । एउटा नृत्य केवल मनोरञ्जनको माध्यम हुँदैन, त्यो समाजको कथा बन्छ । एउटा सांस्कृतिक कार्यक्रम केवल मञ्चको प्रस्तुति मात्र हुँदैन, त्यो जनताको स्मृति, पीडा, आशा र संघर्षको साझा अभिव्यक्ति बन्न पुग्छ । ‘विशेष रक्तिम साँझ–२०८३’ यस्तै एउटा सांस्कृतिक यात्रा हो, जसले नेपालको विभिन्न भूभागमा पुगेर गीत, नृत्य, नाटक र कलामार्फत समाजका बहुआयामिक यथार्थहरूलाई उजागर गर्ने प्रयास गरेको छ ।
जेठ १६ गते काठमाडौँको राष्ट्रिय नाचघरबाट सुरु भएको यो अभियान चितवन, बागलुङ, पोखरा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान र बुटवल हुँदै दाङसम्म पुग्यो । देशका विभिन्न भूगोल, फरक सामाजिक परिवेश र विविध दर्शक समुदायबीच पुगेर रक्तिम सांस्कृतिक अभियानले एउटा साझा सन्देश प्रवाह गर्यो—संस्कृति केवल मनोरञ्जनको साधन होइन, समाज परिवर्तनको चेतनशील माध्यम पनि हो ।
कार्यक्रम जहाँ–जहाँ पुग्यो, त्यहाँ सभाहलहरू दर्शकले भरिए । कार्यक्रम सुरु हुनुभन्दा अगावै हलहरू खचाखच भरिनु, घण्टौँसम्म दर्शकहरू उत्साहपूर्वक प्रस्तुतिमा रमाउनु र अन्तिमसम्म तालीको गडगडाहटले कलाकारलाई साथ दिनु आफैँमा एउटा सांस्कृतिक सन्देश थियो । काठमाडौँ, नारायणघाट, सन्धीखर्क, बिजुवार, ढोरपाटन, सुलिचौर, तमघास, घोराही, बुटवलको कार्यक्रम होस् वा पोखराको प्रस्तुति, दर्शकहरूको उपस्थितिले कला र संस्कृतिप्रतिको जनआस्था अझै जीवित रहेको प्रमाणित गरिरहेको थियो।
गर्मीको चर्को मौसम, दैनिक जीवनका व्यस्तता र सामाजिक चुनौतीहरूका बीच पनि दर्शकहरू अन्तिम क्षणसम्म कार्यक्रममा टिकिरहनु केवल कलाकारको लोकप्रियताको परिणाम थिएन, त्यो उनीहरूले प्रस्तुत गरेका विषयवस्तुप्रतिको भावनात्मक सम्बन्धको अभिव्यक्ति पनि थियो ।
‘विशेष रक्तिम साँझ–२०८३’ को केन्द्रमा समाजका यथार्थ कथाहरू थिए । वैदेशिक रोजगारीले सिर्जना गरेको विछोड, श्रमिक जीवनका संघर्ष, सामाजिक असमानता, राष्ट्रिय स्वाधीनताको प्रश्न, राजनीतिक विचलन र परिवर्तनको आकांक्षा—यी सबै विषयहरू गीत र नृत्यका माध्यमबाट मञ्चमा उभिएका थिए ।
विशेषगरी “आएन प्रदेशी, फेरि पनि लाग्यो बर्खा” गीतले दर्शकहरूको मनमा गहिरो छाप छोड्यो । वर्षौँदेखि विदेशिएका छोराहरूको प्रतीक्षामा बसेका वृद्ध आमाबुबा, श्रीमानको बाटो हेर्दै गाउँघरमा समय बिताइरहेका श्रीमतीहरू र बर्खासँगै झन् गहिरिने सम्झनाहरू—यी सबै भावनाहरू गीत र नृत्यमा यति सजीव बनेर प्रस्तुत भए कि धेरै दर्शकका आँखा रसाए ।
नेपालका हजारौँ परिवारले भोगिरहेको यथार्थलाई कलात्मक भाषामा अभिव्यक्त गरिएको यो प्रस्तुति कार्यक्रमकै सबैभन्दा चर्चित प्रस्तुति बन्न पुग्यो । देशभरि नै यही गीत र अभिनयले दर्शकहरूलाई भावुक बनाएको उल्लेख गरिएको छ ।
कार्यक्रमको अर्को प्रमुख आकर्षण थिए हेमराज पुन (आश्रम), थुमराज ढुंगाना, सविन अर्गेजा, रिता पुन, विन्दु परियार लगातले स्टेजमा गाएका गीतले प्रगतिशील गीत–संगीतमा पनि अब नयाँ पुस्ताको पहुँच पुगिसकेको बुझ्न जोकसैले सक्दथ्यो ।

त्यस्तै नेपाली प्रगतिशील सांगीतिक आन्दोलनका रूपमा परिचित पुराना जनगायक जीवन शर्माको उपस्थितिले ‘विशेष रक्तिम साँझ–२०८३’ थप मजबुती प्रदान गरेको थियो । “सिमली छायाँ”, “मुस्कुराउँदै जाऊ” र “शिर झुक्दैन” जस्ता गीतहरूले सभाहल तालीले गुञ्जियो । पुराना पुस्ताले आफ्नो युवावस्थाको आन्दोलन सम्झिए भने नयाँ पुस्ताले इतिहास र वर्तमानबीचको सम्बन्ध बुझ्ने अवसर पाए ।
सविन अर्गेजा–रिता पुन “हामी गाउँछौँ क्रान्तिको गीत”, थुमराज ढुंगाना “सालैजो भाका” हेमराज पुन आश्रम–रिता पुन “क्रान्तिको बाटो” गीतहरू केवल संगीतका सिर्जना थिएनन्, ती संघर्षका उद्घोष थिए, आशा र प्रतिरोधका आवाज थिए ।
त्यसैगरी “चट्टानको झिल्को”, “ज्वालामुखी”, “आँधीको बेग बनी”, “अक्टोबर क्रान्ति” र “रुख भन्छ पात भन्छ” जस्ता गीतहरूले कार्यक्रमलाई वैचारिक र सांस्कृतिक उचाइ प्रदान गरेका थिए । गायक विष्णु केसी, मानबहादुर नेपाली लगायतको अभियानमा महत्वपूर्ण योगदान रह्यो ।
रक्तिम साँझको एउटा महत्वपूर्ण पक्ष नयाँ कलाकारहरूको सहभागिता पनि रह्यो । झण्डै तीन दर्जन कलाकार सहभागी रहेको कार्यक्रममा अनुभवी र नव कलाकारहरूले एउटै मञ्च साझा गरे । सचित्र केसीको ऊर्जाशील प्रस्तुति अन्य कलाकारहरूको सामूहिक अभिनयले कार्यक्रमलाई जीवन्त बनाएको थियो ।
नयाँ पुस्तालाई अवसर दिनु मात्र होइन, उनीहरूलाई प्रगतिशील सांस्कृतिक आन्दोलनको उत्तराधिकारीका रूपमा तयार पार्ने प्रयास पनि यस अभियानमा देखिन्थ्यो । अनुभव र ऊर्जा, इतिहास र भविष्य, परम्परा र नवीनताको संगम कार्यक्रमको एउटा सुन्दर विशेषता बनेको थियो ।
‘विशेष रक्तिम साँझ–२०८३’ को वैचारिक केन्द्रबिन्दु नाटक “युग बोल्छ” थियो । नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर मोहन विक्रम सिंहद्वारा लिखित र जनगायक हेमराज आश्रमद्वारा नाट्य रूपान्तरण गरिएको यो नाटकले शोषण र प्रतिरोधको कथा सुनाउँछ ।
हर्के र उजेलीका पात्रहरू नेपाली समाजका लाखौँ शोषित, पीडित र संघर्षरत मानिसहरूको प्रतिनिधि जस्ता लाग्छन् । उनीहरूका जीवनका माध्यमबाट नाटकले वर्गीय उत्पीडन, अन्याय, गरिबी र सामाजिक असमानताको चित्रण गर्दछ ।
तर नाटक यतिमै सीमित छैन । यसले मानिसभित्र रहेका स्वार्थ, लोभ, डर, अन्धविश्वास र व्यक्तिगत कमजोरीहरूमाथि पनि प्रश्न उठाउँछ । वास्तविक परिवर्तनको सुरुवात मानिसले आफैँभित्रको अन्धकारसँग संघर्ष गरेर मात्र सम्भव हुने सन्देश नाटकले दिन खोजेको छ ।
आजको समयमा, जब समाज अनेक प्रकारका निराशा र भ्रमबीच अल्झिरहेको छ, “युग बोल्छ” केवल नाटक नभई आत्मपरीक्षणको सांस्कृतिक दस्तावेज जस्तो महसुस हुन्छ ।
नाटकमा ध्वनी समयोजन हेमराज आश्रम र विष्णु केसी रहेको छ भने गिरीप्रसाद बुढा, कृष्टिना राई, मानबहादुर नेपाली लगायत थुप्रै कलाकारहरूको अभिनय रहेको छ ।
‘विशेष रक्तिम साँझ–२०८३’को उद्देश्य मनोरञ्जन दिनु मात्र थिएन । अभियानले राज्य, समाज, अन्तर्राष्ट्रिय शक्ति केन्द्र, सांस्कृतिक विकृति र आफ्नै आन्दोलनभित्रका कमजोरीहरूप्रति समेत खबरदारी गर्ने लक्ष्य राखेको बुझिन्छ ।
देशमा बढ्दो बेरोजगारी, वैदेशिक पलायन, राष्ट्रियता र स्वाधीनतासम्बन्धी चुनौती, सामाजिक विभेद तथा संस्कृतिमा बढ्दो विकृतिप्रति कार्यक्रमले कलात्मक भाषामा प्रश्न उठाएको छ । यस अर्थमा ‘विशेष रक्तिम साँझ–२०८३’ एउटा सांस्कृतिक प्रतिरोध पनि थियो—त्यस्तो प्रतिरोध, जसले हतियार होइन, गीतलाई माध्यम बनायो, नारा होइन, कलालाई भाषा बनायो ।
कार्यक्रमका विभिन्न समीक्षाहरूमा एउटा साझा भावना देखिन्छ—आशा । कठिन राजनीतिक परिस्थिति, कमजोर बन्दै गएको जनवादी सांस्कृतिक आन्दोलन र बढ्दो निराशाबीच पनि यो अभियानले धेरैलाई नयाँ ऊर्जा दिएको अनुभूति हुन्छ ।
“हतास नबनौँ, हतार नगरौँ, बाटो नबिराऔँ” भन्ने भाव कार्यक्रमभरि प्रतिध्वनित भइरहेको जस्तो लाग्थ्यो । परिवर्तनको यात्रा लामो हुन सक्छ, तर त्यसका लागि आवश्यक विश्वास, प्रतिबद्धता र सांस्कृतिक चेतना जीवित राख्नु नै अभियानको मूल उद्देश्य देखिन्थ्यो ।
‘विशेष रक्तिम साँझ–२०८३’ले कैयौँ छुटेका हातहरूलाई फेरी डोर्याउँदै आन्दोलनमा जोड्ने कोशिस गरेको छ र केही हदसम्म सफलता पनि प्राप्त गरेको छ । धेरै छुटेका हातहरूले पुनः रक्तिमको सांस्कृतिक आन्दोलनमा हातेमालो गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
झण्डै पाँच दशकको इतिहास बोकेको रक्तिम सांस्कृतिक अभियानले ‘विशेष रक्तिम साँझ–२०८३’ मार्फत आफ्नो सांस्कृतिक यात्राको नयाँ अध्याय लेखेको छ ।
यो कार्यक्रम केवल गीत–संगीतको प्रस्तुति थिएन । यो स्मृतिको पुनर्जागरण थियो । यो पीडाको अभिव्यक्ति थियो । यो प्रतिरोधको स्वर थियो । यो आशाको दीप थियो । यो संस्कृति र चेतनाको संगम थियो ।
जब कलाकारहरूले गीत गाइरहेका थिए, दर्शकहरूले केवल सुनेका थिएनन्—उनीहरूले आफ्नो जीवनका कथाहरू त्यहाँ देखिरहेका थिए, सुन्दर भविष्यको कल्पनामा अभिभूत भइरहेका थिए । जब नृत्य मञ्चमा चलिरहेको थियो, त्यो केवल लयको प्रदर्शन थिएन—त्यो समाजका धड्कनहरूको दृश्य रूप थियो ।
सायद यही कारणले ‘विशेष रक्तिम साँझ–२०८३’ एउटा कार्यक्रमभन्दा धेरै ठूलो कुरा बनेको छ । यो एउटा सांस्कृतिक यात्रा हो, जसले सम्झाइरहेको छ—समय बदलिन्छ, सत्ता बदलिन्छ, परिस्थिति बदलिन्छ तर जनताको पक्षमा उभिने कला र चेतनाको आवाज कहिल्यै मर्दैन ।
‘विशेष रक्तिम साँझ–२०८३’ मा विभिन्न जिल्लाका कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको छ । टोलीलाई अध्यक्ष गिरीप्रसाद बुढाले नेतृत्वमा महासचिव हेमराज आश्रम, सविन अर्गेजा, मानबहादुर नेपाली, दीप गोले, विष्णु केसी, रिता पुन, विन्दु परियार, क्षितिजा राहादी, हरी सर्तुङ्गी, विजय घर्ती, रमेश पुन, उत्सव पुन, विश्व साही, पल्लब राना, विकास थापा, स्वर्णीम थापा, अस्मिता महतरा, आरती सूर्यवंशी, सिर्जना पुन, सिर्जना क्षेत्री, क्रिस्टिना राई, उषा पुन, पूजा थापा, जीवन शाहीलगायतका कलाकारहरूको सहभागिता रहेको छ । सल्लाहकार मिना बुढाथोकी र पुराना पाका कलाकार सचित्र केसीको टोलीमा राम्रो सहयोग पुगेको देखिन्छ ।
त्यस्तै रक्तिमका संस्थापक अध्यक्ष जीवन शर्मा, पूर्व अध्यक्षद्वय नारायण योगी र रेम राना, पूर्व उपाध्यक्ष मानबहादुर भण्डारी, कलाकारहरू तेजेन्द्र थापा, नविना केसी, शुशिला थापा, विष्णु पुन, नरमाया राना, कल्पना गुरुङ, जीवन पुन र शरद लामिछानेको उपस्थितिले नयाँ कलाकारहरूमा थप उत्साह र प्रेरणा प्रदान गरेको थियो ।
आगामी कार्यक्रमहरू :
रक्तिम सांस्कृतिक अभियानले आगामी दिनमा मुखपत्र प्रकाशन गर्ने, विभिन्न जिल्लाहरूमा भेला तथा प्रशिक्षण सम्पन्न गर्ने । भदौ महिनाको अन्त्यतिर केन्द्रीय समितिको बैठक सम्पन्न गरी दोस्रो राष्ट्रिय भेलाको तयारी गर्ने कार्यक्रम तय गरेको महासचिव हेमराज पुन आश्रमले जानकारी दिनुभएको छ ।
आश्रमका अनुसार आगामी तिहारमा देउसी–भैलो कार्यक्रम सञ्चालन गर्ने तथा कलाकारहरूका लागि आवश्यक प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने योजना पनि रहेको छ ।







