बिहानै भालेको डाकोसँगै म उठ्छु,
मभन्दा अगाडि मेरो छिमेकी उठेर आइसकेको छ।
ढोका खोल्दा झस्किएँ अनि मुलुक्क हेरेँ,
त्यो अजिङ्गरझैँ छिमेकी मेरो आँगनमा पलेँटी कसेर बसेको थियो।
सायद त्यसले बिर्सेको छ मेरो त्यो खुकुरी,
मेरो बाजेले उदाएर दापमा राखेको,
बाबाले तेल लगाएर खियाबाट बचाएको।
मेरो गाउँ सुस्ता उठ्यो,
हिजो तिलाठीको घाउ बल्झियो,
लिपुलेक, लिम्पियाधुरा र कालापानी दुखे।
हरेक परिवर्तनमा त्यही नारा, तर अचम्म!
मेरो गाउँको मुखियाले अहिले पनि भन्दै छ,
“हामीले त पल्लो घरको साँध मिचेका छौँ।”
खै, मेरो जिजुले त्यही साँधको ढुङ्गा देखाउँथे,
त्यो त प्रत्येक मौसममा मेरैतिर सरेको देख्छु।
मेरो बाजेले देखाएको पल्लो घरको त्यो साँध,
बाबाले मलाई डोर्याउँदै देखाएको पल्लो घरको त्यो साँध,
बित्ताबित्तै गर्दै माइल पुगिसक्दा पनि किन
मेरो मुखिया अझै भन्छ—
“हामीले घरको साँध मिचेका छौँ।”
किन?
मेरो आँखाले गलत देखेको कि मुखियाले?
लाग्छ, मुखेली टिकाउन सायद यस्तो भन्दै छन्।
त्यो त मेरो गाउँप्रति ठूलो घात भएन र?
बलियो र ठूलो हुँदैमा
पल्लो गाउँले भनेको मान्नै पर्ने हो र?
होइन,
पक्कै होइन।
त्यो हुँदै होइन।
मेरो गाउँको मुखिया लाचार हो।
वीर पुर्खाले कहिल्यै पनि त्यो भनेनन्।
गरेनन् अर्कामाथि बलमिच्याइँ,
सहेनन् परचक्रीको हुङ्कार।
अहिले त मेरो मुखिया
आफैँ पो भन्न थाले—
“हामीले परघरको साँध मिचेका हौँ।”
खै, कसले भन्छ त्यो?
अनि कसरी पत्याउँछन्?
नपत्याई सुखै हुँदैन,
किनकि अरिङ्गालले झैँ डस्न सुरु गर्छन्
हाम्रा मुखियाका कारिन्दाहरू।
अब त अति भएछ कारिन्दाको काइदा,
भन्न थाले आफ्नै गाउँलेहरू—
“होइन, त्यो होइन।
हुँदै होइन।
हामीले कसैको साँध सारेका छैनौँ।”
साहस अहिले पनि छ
हाम्रो गाउँ जोगाउने।
हिम्मत अहिले पनि छ
आफ्नो गाउँ जोगाउने।
खबरदार!
मेरो गाउँको किल्लामाथि गिद्धे नजर लगाउँदा।
हामी वीर भीमसेन अनि अमरसिंहका सन्तान,
बलभद्र र भक्ति थापाका सन्तान।
नसम्झनू, हामी चुप लाग्छौँ भनेर।
बलिदानी दिन्छौँ,
सहँदैनौँ किल्ला तोडेको।
बलिदानी दिन्छौँ,
सहँदैनौँ किल्ला तोडेको।

