आजको राजनीतिमा एउटा अनौठो विरोधाभास देखिन्छ । जसले समाजको गहिरो आर्थिक-राजनीतिक चरित्र र वर्ग-सम्बन्धलाई बुझेर ठोस रूपान्तरणको वकालत गर्छ, उसैलाई ‘समय र परिवर्तनको गति नबुझेको’ आरोप लगाइन्छ । जो सतही नारा, क्षणिक आवेग र सस्तो लोकप्रियताको जगमा उभिएको छ, उसैले आफूलाई ‘परिवर्तनको संवाहक’ घोषणा गर्छ । यो राजनीतिक अर्थशास्त्र र द्वन्द्वात्मक भौतिकवादी चेतमाथि आजको पपुलिस्ट (लोकरिझाईं) प्रवृत्तिले गर्ने सबैभन्दा ठूलो अन्याय हो । जब म “राजनीति पेसा होइन, सेवा र निष्ठा हो” भन्छु, तब म कुनै काल्पनिक आदर्शको कुरा गरिरहेको हुन्न । बरु, म राजनीतिको त्यो आधारभूत वर्ग-चरित्रको कुरा गरिरहेको हुन्छु, जहाँ राज्यसत्ता र नीतिहरू सिमित वर्गको नाफा कमाउने र जीवन धान्ने माध्यम (पेसा) बन्नु हुँदैन, बरु आम श्रमजीवी जनताको जीवनस्तर सुधार्ने साधन (सेवा) हुनुपर्छ । तर विडम्बना, बजारमुखी उपभोक्तावादले आज राजनीतिलाई पनि एउटा ‘स्टार्टअप बिजनेस’ जस्तो बनाउन खोज्दैछ, जहाँ विचार, सिद्धान्त र त्यागको लगानी होइन, केवल ‘मार्केटिङ’ र ‘भ्यूज’ को व्यापार गरिन्छ ।
मलाई ‘समयको गति नबुझेको’ आरोप लगाउने मित्रहरूले परिवर्तनको बोक्रालाई मात्र हेरेका छन्, यसको अन्तर्यलाई बुझ्न सकेका छैनन् । प्रविधि बदलिनु, बोल्ने शैली रोमान्टिक हुनु वा सामाजिक सञ्जालमा ट्रेन्डिङ हुनु मात्रै वास्तविक परिवर्तन होइन । समाजको आर्थिक उत्पादन सम्बन्ध, साधन र स्रोतमाथिको आम जनताको पहुँच र न्यायपूर्ण वितरणको व्यवस्था बदलिनु मात्रै साँचो अर्थमा परिवर्तन हो । द्वन्द्वात्मक भौतिकवादले सिकाउँछ कि संसार निरन्तर गतिशील छ र परिवर्तन अवश्यम्भावी छ । तर, परिवर्तनका दुईवटा रूप हुन्छन्: मात्रात्मक र गुणात्मक। पपुलिस्ट राजनीतिले केवल मात्रात्मक र बाह्य रूपलाई मात्र देख्छ । उनीहरू व्यवस्थाका विकृतिविरुद्ध आक्रोश त पोख्छन्, तर त्यो विकृति पैदा गर्ने आर्थिक-सामाजिक संरचनालाई बदल्ने कुनै ठोस खाका र वैचारिक धरातल उनीहरूसँग हुँदैन । जबसम्म आर्थिक संरचनामा रूपान्तरण आउँदैन, तबसम्म पात्र र प्रविधि बदलिएर मात्रै समाज गुणात्मक रूपमा बदलिँदैन । त्यसैले, वास्तविक परिवर्तनको गति र इतिहासको नियम बुझ्ने मान्छे कहिल्यै सतही नाराको पछि लाग्दैन ।
पपुलिस्ट राजनीतिको सबैभन्दा ठूलो कमजोरी भनेको यसको वैचारिक खडेरी र उपभोक्तावादी चरित्र हो । यसले समाजका समस्यालाई ‘लक्षण’ का रूपमा मात्र हेर्छ, यसको आर्थिक र राजनीतिक ‘कारण’ सम्म पुग्ने सामर्थ्य राख्दैन । जसरी पेनकिलरले रोग निको पार्दैन, केही समयका लागि दुखाइ मात्र कम गर्छ; पपुलिस्ट राजनीति पनि समाजको संरचनागत संकटका लागि एउटा राजनीतिक पेनकिलर मात्र हो ।

राजनीतिक अर्थशास्त्रको विद्यार्थी हुनुको नाताले म स्पष्ट देख्न सक्छु कि पपुलिजमले जनताको जायज आक्रोश र भावनालाई भजाएर शक्ति त प्राप्त गर्छ, तर ठोस आर्थिक नीति र वैकल्पिक मार्गचित्र नहुँदा अन्ततः त्यही पुँजीवादी व्यवस्थाको सारथी र व्यवस्थापन बन्न पुग्छ, जसको विरोध गरेर ऊ सत्तामा पुगेको हुन्छ । इतिहास साक्षी छ, सिद्धान्तहीन आक्रोश र भावनाको आयु निकै छोटो हुन्छ र यसले अन्ततः जनतामा चरम निराशा मात्र पैदा गर्छ । नेपाली राजनीतिमा अब क्रमश त्यहि हुदैछ ।
त्यसैले, जसले मेरो वैचारिक अडानलाई ‘परिवर्तनविरोधी’ को पगरी गुथाउन खोज्छन्, उनीहरू वास्तवमा ‘परिवर्तन’ र ‘भ्रम’ बीचको भिन्नता छुट्याउन नसक्ने दृष्टिभ्रमबाट ग्रसित छन् । यदि यथास्थितिवादी पुँजीवादी आर्थिक सम्बन्धलाई नै नयाँ ‘र्यापिङ पेपर’ मा बेरेर आधुनिकताको नाममा बेच्नु परिवर्तन हो भने, हो– म त्यस्तो नक्कली परिवर्तनको विरोधी हुँ । यदि विचार, निष्ठा र जनताप्रतिको उत्तरदायित्वलाई तिलाञ्जली दिएर राजनीतिलाई कर्पोरेट पेसा र करियर बनाउनु गतिशीलता हो भने, हो– म त्यस्तो प्रवृत्तिको विरोधी हुँ । तर, यदि श्रमजीवी जनताको अधिकार सुनिश्चित गर्नु, उत्पादनका साधनहरूमा सामाजिकीकरण गर्नु र एउटा न्यायपूर्ण, वर्गविहीन समाजको निर्माणका लागि जग बसालिनु परिवर्तन हो भने, म त्यो परिवर्तनको अग्रपंक्तिको सिपाही हुँ ।
संसारका ठूला-ठूला क्रान्ति र युगान्तकारी परिवर्तनहरू सामाजिक सञ्जालको ‘लाइक’ र ‘भाइरल’ लहरबाट भएका होइनन्, ती विचार, सिद्धान्त र वैज्ञानिक चेतको जगमा भएका हुन् । माक्र्सवादले हामीलाई समाजलाई वस्तुपरक ढंगले हेर्न र बुझ्न सिकाउँछ, भावनात्मक उत्तेजनामा बहकिन होइन । आज मलाई आउटडेटेड देख्नेहरूले बुझुन्– विचार र सिद्धान्त कहिल्यै पुरानो हुँदैन, केवल त्यसको प्रयोगको सन्दर्भ र वस्तुगत परिस्थिति बदलिन्छ । म परिवर्तनको गति नबुझेको मान्छे होइन, बरु परिवर्तनको नाममा भइरहेको दिशाहीन दौड र सस्तो लोकरिझ्याइँको गन्तव्य कति घातक हुन्छ भन्ने कुरा राजनीतिक अर्थशास्त्रको आँखाबाट पहिले नै देख्न सक्ने सचेत नागरिक हुँ । राजनीतिलाई पेसा बनाउनेहरूको भिडमा सेवा र सिद्धान्तको राजनीति गरिरहनु नै आजको समयको सबैभन्दा ठूलो र वास्तविक क्रान्तिकारी कदम हो ।