इन्द्रकान्त शर्मा ##
‘कालीगण्डकीका किनार’ निबन्ध राम्रो छ । यसमा समाजको यथार्थ चित्रण गरिएको छ । मानवीय संवेदना र समाजको ऐना सुन्दर शैलीमा वर्णन गरिएको छ । जीवनका गहिरा सत्य, मानव अस्तित्व र दर्शनलाई स्पर्श गरेको छ । त्यसरी यसमा विषयवस्तुको गहिराइमा पुगी पाठकलाई आफ्नो दृष्टिकोण अर्जाप्न मदत गरेको छ ।
भाषा सरल र आलङ्करिक प्रकारको रहेको छ । शब्दचयन र वाक्य निर्माणमा एउटा लय रहेको छ । सिलसिला छ । क्रमबद्धता रहेको छ । वर्णन गरिएको विषय र भावले पाठकलाई आफ्नै आँखाअगाडि कालीनदीलाई सुसाउदै बगाउँछ ।
यस पुस्तकभित्र समावेश गरिएका चार/पाचओटा लेखबाहेक सबैजसो लेख २०५४ सालदेखि २०७० सालसम्मको बिचमा विभिन्न पत्रपत्रिकामा छापिएका लेख रहेका छन् । लेख सान्दर्भिक छन् । त्यसैले पुस्तक सान्दर्भिक छ । महत्त्वपूर्ण छ ।
विक्रम सम्वत् २०६० र २०७० को दशकमा लेखिएका यी लेखले कालीगण्डकी किनार सेरोफेरोको सभ्यता, त्यहाँको समाज, प्राकृतिक परिवेश, सांस्कृतिक विशेषता र विकास निर्माणको इतिहासका बारेमा धेरथोर जानकारी दिन लेखकले विश्वास गरेअनुसार नै महत्त्वपूर्ण रहेका छन् ।
निबन्धकार शोभाकान्त गौडेलका यसअघि ‘म ढुङ्गो कसरी बनूँ’ (२०६१) र ‘जनताको सिंहदरबार’ (२०८०) दुई किताब कवितासङ्ग्रह प्रकाशित भइसकेका छन् । गौडेलजीको यो तेस्रो कृति हो । ‘कालीगण्डकीका किनार’ शीर्षकमा प्रकाशित यो सङ्ग्रहमा कालीगण्डकी नदीकिनार र यसको सेरोफेरोका बारेमा निबन्धकारले देखेजानेका विषयलाई समेट्ने प्रयास गरेका छन् । कृतिमा समावेश ४१ ओटा निबन्धमध्ये ‘कालीगण्डकीका किनार’ लाई कृतिको शीर्षक दिइएको छ ।
निबन्धमध्ये ‘कालीगण्डकीका किनार’ प्रभावशाली निबन्ध हो । अन्य सबै निबन्धलाई नेतृत्व गर्न सक्ने क्षमता भएको हुँदा नै यसै निबन्धको नामबाट पूरै कृतिको नामाकरण गरिएको छ तर जुन शीर्षकबाट पुस्तकको नामकरण गरिएको छ, त्यस शीर्षकसँग सम्बन्धित कुनै निबन्ध वा लेख पुस्तकमा भेटिँदैन । पुस्तकभित्रको एउटा महŒवपूर्ण निबन्ध ‘कालीगण्डकीका किनारहरू’ रहेको छ भने पुस्तकको नाम ‘कालीगण्डकीका किनार’ रहेको छ । पुस्तकको शीर्षक वा लेखको शीर्षकमध्ये दुईमा एक कुन सच्याउनुपर्ने हो सच्याउँदा ठिकै होला । आगामी संस्करणमा भए पनि यस किसिमका सामान्य त्रुटितर्फ पनि ध्यान पुग्न पुर्याउन सके राम्रै हुनेछ । भुलवश अन्यथा लेखिन पुगेको नेपालको क्षेत्रफल पनि सच्याउनु उचित हुनेछ ।
द्रष्टब्य : यो पुस्तकको शीर्षकमा देखिएको जस्तो समस्या ‘मुनामदन’ मा पनि रहेको पाइन्छ† जस्तो : मुना मदन, मुना–मदन, मुनामदन तर नेपाली शब्दकोशमा ‘मुनामदन’ लेखिएको पाइन्छ ।
सबै निबन्ध रसिलो, छरितो र तर्कपूर्ण ढङ्गले प्रस्तुत गरिएका छन् । गञ्जागोलको अवस्था रहेको पाँइदैन । विषयवस्तुमाथि लेखकको पकड र दृष्टिकोण स्पष्ट रहेको छ ।
निबन्धको मुख्य विषय, सन्देश, निबन्धकारको तर्क, शैली, प्रभावकारिता, गुणस्तर र भाषाको प्रयोग सरल सरस रहेको छ । सबैले बुझ्न सक्ने सरल, सरस र नेपाली ग्रामीण परिवेशको जीवन्त चित्रण उनका लेख रचनामा पाइन्छ । प्राय: लेखरचना मार्मिक र हृदयस्पर्शी रहेका छन् ।
अर्थहीन खेल भएका भावुक शब्दको घचाडो कुनै निबन्धमा पनि रहेका छैनन् । सबैमा खदिला, चोटिला, मर्मस्पर्शी शब्दवाक्य भेटिन्छन् । ८४ व्यञ्जनका स्वादले भरिपूर्ण शब्दवाक्य रहेका छन् ।
माथि उल्लेख भइसकेको छ कि भाषा सरल, सरस र प्रभावकारी रहेको छ । अनावश्यक गफ नगरी थोरै शब्दमा वजनदार कुरा गर्न लेखक सिपालु र सफल रहेका छन् । पाठकको मन दत्तचित्त एकाग्र गराउन सक्ने, यताउता भट्किन नदिने, एकोहोर्याउने, बाँधेरै राख्न सक्ने किसिमको, कसेर लेखिएको आकर्षक लेखनशैली रहेको छ लेखकको ।
शब्दको चयन र वाक्यको बनावटमा लय पाइन्छ, जसले गर्दा वर्णन गरिएको दृश्य वा भावलाई पाठकको आँखाअगाडि सजीव जीवन्त उतार्न भरमग्दुर प्रयास गरेको पाइन्छ ।
निबन्धमा लेखकको आफ्नै मौलिक दृष्टिकोण र प्रस्तुति रहेको छ । प्राय: निबन्ध समाजको यथार्थलाई चित्रण गर्दै सकारात्मक परिवर्तन र चेतनाको संवाहकको रूपमा रहेका पाइन्छन् ।
निबन्धकारले निश्चित विषयवस्तुमाथि केन्द्रित रहेर उचित तर्क प्रस्तुत गरेका छन् । प्रत्येक निबन्धको संरचना अर्थात् भूमिका (विषयप्रवेश), मुख्य भाग र निष्कर्षमा तारतम्य मिलेको पाइन्छ । एकरूपता रहेको देखिन्छ ।
पुस्तकमा धार्मिक पर्यटनलाई बढावा दिने किसिमका लेख पनि रहेका छन् । परम्परासँग सम्बन्धित लेख पनि रहेका छन् ।
उनका निबन्ध प्रकृतिसँग सम्बन्धित रहेका छन् । प्रविधिसँग सम्बन्धित रहेका छन् । कुनैकुनै निबन्ध त एकैचोटी प्रकृति र प्रविधिप्रेमी पनि रहेका छन् । कुनैकुनै आदर्शवादी र कुनैकुनै भौतिकवादी निबन्ध पनि रहेका छन् । उनी आदर्शवादी वा भौतिकवादी के हुन् ? उनका निबन्धको अध्ययनबाट के पत्ता लाग्छ ? त्यो अध्ययनको बेग्लै पाटो हो ।

सामान्यत: उनी कतैकतै दक्षिणपन्थी कित्तामा देखिएको भान परे पनि पूरै निबन्ध अध्ययन गरेर विश्लेषण गर्दा पूर्ण रूपमा वामपन्थी कित्तामा फेला पर्छन् ।
उनी कहिँ प्रकृतिप्रेमी देखिन्छन् (‘ताजापानीको स्रोतको महत्त्व’), कहिँ विकासप्रेमी (‘पर्यटनमा नौलो आकर्षण : कालीगण्डकीमा नौकाचालन’), कहिँ प्रविधिप्रेमी र कहिँकहिँ सामाजिक परिवर्तनप्रेमी । पेसाले त उनी हो नै प्राविधिक (प्राविधिज्ञ) । प्रविधिप्रेमी ।
उनी संस्कृति र परम्पराप्रेमी पनि हो । आफ्नो पुर्खाले छोडेर गएका चालचलन, संस्कृति , संस्कारप्रति उनको अगाध प्रेम रहेको पाइन्छ । उनले पुराना रीतिरिवाज, चाडपर्व र मौलिक पहिचानको संरक्षणका लागि आफ्ना रचनामार्फत पैरवी गरेको देखिन्छ । ‘गङ्गासागर’, ‘चैतेदशैँ बाग्लुङ बजारलाई’, ‘बरपिपलका चौतारी’ आदि त्यसै कोटिका निबन्ध हुन् ।
उनका निबन्धमा विगतसमेत वर्तमानका सबै परिकार फेला पर्छन् । परिकार ग्रहण गर्ने बेलामा ओछ्यानमा अडेस लागेर गरोस्, कुर्सीमा बसेर गरोस् वा कुनै डाँडाको छोरमा रहेको चौतारीको छेउको कुनामा बसेर गरोस् वा नदीकिनारको धाममा बसेर गरोस् वा सेती दोभान वा कालीगण्डकी र काठेखोलाको दोभान वा नेचार क्रियसन पार्कमा बसेर गरोस् । परिकार, मेवामिष्ठान्न ठाउँअनुसार प्राप्त हुन्छन् । जति ग्रहण गर्दै गयो, स्वाद झन्झन् नयाँ र झन्झन् ताजा नै फेला पर्दै जानेछन् । त्यहाँ बागलुङ रामरेखामुन्तिर सल्लेरिको पाश्र्वभित्र खुदुर्के झर्ने चौतारोनेर भेट्ने मायालुको प्रण सम्झेर मायालुलाइ नै भनेर सोलिभरि बोकेर ल्याएको कोसेली– सेलरोटी, झिलिङ्गा, कुराउनी र सालको टपरीमा नातो लगाएर ल्याएको सिल्टुङ र भट्टको बिरिम्ला पनि फेला पर्नेछन् ।
साँच्चिकै र वास्तवमै उनका निबन्ध मांसाहारीलाई पित्तलको मुन्द्रे कसौँडीमा अलैँची, सुकमेल, दालचिनी, ल्वाङ सबै मसला राखेर पकाएको भुटनजस्तै छन् भने शाकाहारीलाई पनिर परिकारजस्तै । बत्तिसै दाँत भएका नयाँ अथवा ३२ का ३२ पूरै फुक्लेक पुराना, सबै उमेर समूहका लागि पठनीय रहेका छ्न । कुनैकुनै निबन्ध नियममा बाधिएजस्तै र कुनैकुनै जोन्सनका झैँ फुक्काफाल अथवा महाकवि लक्ष्मीप्रसाद देवकोटाकाझैँ ।
उनका निबन्धमा यति भावुकता पाइन्छ कि कहिँकहिँ उनी लेख्दालेख्दै आफै भक्कानिएका हुन्छन्, कहिँकहिँ पाठक पढ्दापढ्दै भक्कानिन पुग्छन ।
उनका निबन्धमा सत्यको पक्षमा दृढ अडान, मानवीय संवेदना र समाजको मिहीन वर्णन पाइन्छन् । जीवनका गहिरा सत्य, मानव अस्तित्व र दर्शनलाई स्पर्श गरेका हुन्छन् र पाठकलाई सोच्न बाध्य बनाउनुका साथै नयाँ दृष्टिकोण प्रदान गर्छन् ।
उनका निबन्धमा प्राय: अत्युक्ति, मानौँ कष्टप्रद, जीवन्त, किंवदन्ती, गुलजार, छिचोली नसक्नु, अतिशयोक्ति, स्वाँराका पाटा, किन्तु विकासमय राजनीतिक वातावरण, सजीवजस्ता शब्दको बढी मात्रामा प्रयोग भएको पाइन्छ । लगभग हरेक लेखमा किन्तु, अतिशयोक्ति, अत्युक्ति, गुलजारमध्ये कुनै एक, दुबै वा सबै शब्दको प्रयोग गरिएको पाइन्छ । अत्युक्ति नौ ठाउँमा प्रयोग गर्नुभएको छ । किंवदन्ती कम्तीमा चार ठाउँमा प्रयोग गरिएको छ । त्यस्तै गुलजार कम्तीमा १२ ठाउँमा प्रयोग भएको पाइन्छ ।
पुस्तकमा कतिपय मिलाउनुपर्ने शब्द रहेका छन् । पृष्ठ ञ मा ‘भन्ने उद्देश्यले’ हुनुपर्नेमा ‘भने उद्देश्यले’ भएको छ । पृष्ठ १ मै ‘कालीगण्डकीका किनार’ हुनुपर्नेमा ‘कालीगण्डकीका किनार’ भएको छ । यिनै कालीगण्डकी किनार र यसको सेरोफेरोको बारेमा आफूले देखेजानेका विषय प्रसङ्गलाई ‘कालीगण्डकीका किनार’ मा समेट्ने प्रयास गरेको छु । ‘यसको सेरोफेरो’ को स्थानमा ‘यिनको सेरोफेरो’ उपयुक्त हुन्थ्यो कि ? ‘ती सिद्धपुरुष गलेश्वर बाबाप्रति यहाँको ढुङ्गो, माटो, वनबुट्यान र पाखोपखेरो युगयुगसम्म आभारी भइरहनेछ’ को सट्टा ‘ती सिद्ध पुरुष गलेश्वर बाबाप्रति यहाँको ढुङ्गो, माटो, वनबुट्यान र पाखोपखेरो युगयुगसम्म आभारी भइरहनेछ/रहिरहनेछ’ हुनु ठिक हुनेछ ।
त्यस्तै, ‘यिनै आँधीखोलाको किनारैकिनार स्याङ्जा नौडाँडा, सेतीदोभान कार्कीनेटा हुँदै पर्वतको फलेवाससम्म म जीवनमा धेरैपटक ओहोरदोहोर गरेको छु’ को सट्टा यो वाक्यलाई यसरी लेखिएको भए उपयुक्त र अझै राम्रो हुन्थ्यो कि– ‘यिनै आँधीखोलाको किनारैकिनार स्याङ्जा नौडाँडा, सेतीदोभान हुँदै पर्वतको कार्किनेटा फलेवाससम्म म जीवनमा धेरैपटक ओहोरदोहोर गरेको छु ।’
‘सेदी बेनी’ (पृ. ९२) र ‘सेतीबेनी’ (पृ. ९३) मध्ये कुन शुद्ध उपयुक्त होला ? लेखकले दुवै प्रयोग गर्नुभएको छ । दुवै उपयुक्त होलान् । नेपाली शब्दकोशमा ‘सेती बेनी’ (नेपालको पर्वत जिल्लामा पर्ने कालीगण्डकी र सेती नदीको सङ्गमस्थल, सेती दोभान) प्रयोग भएको पाइन्छ ।
पुस्तकमा उल्लेखित सबै निबन्धको अध्ययनपश्चात् थाहा लाग्छ कि निबन्धकार स्वयम् नै जीवित इतिहास हुन्, कालीगण्डकीको सेरोफेरोका ज्ञाता हुन् । माली हुन् । यो क्षेत्रका इतिहासविद्, सेरोफेरोविद हन् । सर्वत्रविद, जानिफकार, सेरोफेरोविज्ञ हुन् ।
यो कृति विचारधारात्मक, ज्ञानात्मक र सौन्दर्यात्मक सबै दृष्टिले उपयुक्त रहेको देखिन्छ । यसमा ज्ञान र सौन्दर्य भरपूर मात्रामा खाँजीखाँजी रहेको छ । खचिखचाउ, टमाटम पाइन्छ । उनका निबन्धमा भावना, तथ्य, कल्पना, विचार, तर्क, उदाहरण, ज्ञान र विश्लेषण खँदिलो गरिरहेको ब्यहोरा अध्ययनबाट प्रष्ट हुन्छ । यी निबन्धमा तथ्यमा आधारित तथ्यात्मक सूचना रहेका छन् । सामाजिक तथ्यमा आधारित सूचना ।
विचार, भावना, प्रस्तुति तथा शैलीगत वैशिष्ट्यताको दृष्टिले अथवा जुनसुकै दृष्टिले हेर्दा पनि यो निबन्ध सुन्दर छ । अब्वल छ । शैली आकर्षक छ । भाषा सरल, सरस र प्रभावकारी भएको हुँदा पाठक एकोहोरिन्छ । ध्यान दायाबाया भड्किँदैन । पाठकलाई अड्याएर राख्छ । थोरै शब्दमा धेरै कुरा भनिएको छ । विषयप्रतिको गहिरो ज्ञान झल्किएको छ । यही त हो लेखकको सफलता ।
यी यति राम्रा जानकारीमूलक र ज्ञानवर्धक निबन्ध रहेका छन् कि यिनको अध्ययन गर्दा पाठकले धन र समय बर्बाद भयो भन्ने मान्दैन, ठान्दैन, बरु बेलैमा अध्ययन गर्न नपाएकोमा पछुतो नै मान्नेछ । यी निबन्ध लेखमा लेखकको व्यक्तित्वको प्रदर्शन भएको छ । राम्रो प्रदर्शन भएको छ । व्यक्तित्वको प्रदर्शनलाई निबन्धको आत्मा भनिएको पाइन्छ । उनको लेखनमा आफ्नो झुटो व्यक्तित्व प्रदर्शन गरेको भेटिँदैन । इमानदारी नै छचल्किएको पाइन्छ ।
कुनै कुनै निबन्धमा सतहीपन, आडम्बर र स्तरहीन सामग्री हुनुका साथै अनावश्यक रूपमा आत्मप्रचार गरिएकोजस्तो झल्याक्झुलुक झल्को देखा परे पनि पढ्दै जादा त्यो कहाँ हो र ? त्यस्तो पनि भनेर स्पष्ट हुँदै गइन्छ । होइन भन्ने प्रष्टै थाहा हुन्छ तर कुनैकुनै लेखमा मिहिनेत, तयारी अलि नपुगेजस्तो भने देखिन्छ । पर्याप्त मिहिनेत गरिएका लेख र पर्याप्त मिहिनेत नपुगेका लेख एउटै पुस्तकमा समावेश गरिँदा मिहिनेत पुगेका लेखलाई पनि मिहिनेत नपुगेका लेखले मैल्याउँछन् । मैलो बनाउन केही न केही भूमिका खेल्छन् । पुस्तकको शीर्षकभन्दा धेरै फरक प्रसङ्ग सन्दर्भका लेखले पनि पुस्तकको वेट घटाउन, महत्त्व कम गर्न गराउन सघाउ पुर्याउने हुँदा यसतर्फ पनि ध्यान दिनु राम्रै होला ।
भाषामा ठेट नेपालीपन पाइन्छ । कोहीकोही ठाउँमा अति आधुनिक शब्द पनि प्रयोग भएको पाइन्छ । होटल, मोटल, मिनिजर्सी, क्रसगाई आदि । कोहीकोही ठाउँमा संयोजकको ओइरो† जस्तै : राखु, पिप्ले, बेनी, बागलुङ, फलेबास, बाच्छा, बिहादी, मिर्मी, रानीघाट, पाल्पा, तानसेन, सिस्नेखोला ।
निबन्धमा विचार, तर्क, उदाहरण, उखान, ज्ञान र विश्लेषणको महत्त्वपूर्ण भूमिका रहेका छन् ।
भुटे भाङ, पोले पिँडालु । प्लास्टिक ओढेर बाढी घट्ने प्रतीक्षामा अलपत्र जिन्दगी । मैदानले बुझोस्, पहाड हल्लियो भने मैदान पनि भास्सिन सक्छ । निबन्धमा प्रयोग भएका यी र यस्तैयस्तै अन्य भनाइ, उखानले नेपाली जनजीवनको संवेदनशीलतालाई पनि प्रहार गरेका छन् । यी केवल शब्द मात्र नभएर नेपाली समाजलाई बुझ्ने महत्त्वपूर्ण आँखा हुन् । यिनको प्रयोगले लेखलाई मौलिक र पठनीय बनाएको छ ।
निबन्धकारका अनुभव र अनुभूति पढ्दा पाठकलाई आनन्द हुन्छ । गौडेलजीका निबन्ध अध्ययनले ज्ञान बढ्नुका साथसाथै पाठकलाई आनन्ददायक र सुखमय अनुभव दिन्छन् । त्यसरी नै कालीगण्डकी स्नान गरेर मनलाई मिल्ने शान्ति र आनन्दसरह नै ‘कालीगण्डकीका किनार’ अध्ययनबाट मिल्नेछ । त्यहाँ मुक्तिनाथको दर्शन पनि मिल्नेछ, पवित्र तीर्थस्थल गलेश्वर धाम, गङ्गासागर, पवित्र तीर्थस्थल मोदी बेनी, गैँडाकोटकी मौलाकालिका, पवित्र तपोभूमि डहरे आदिको दर्शन पनि मिल्नेछ ।
अधिकांश निबन्ध सर्वसाधारकणले सजिलै बुझ्न सक्ने रहेका छन् भने केहीकेही प्राविधिक किसिमको पढाइ हुँदा राम्ररी बुझ्न सकिने खालका रहेका छन् ।
सम्पूर्ण पुस्तक अध्ययन गरिसकेपछि पाठकलाई लाग्न सक्छ कि पुस्तकमा अझै केही महत्त्वपूर्ण लेखरचना हुनुपर्ने रहेछन् । छुटेछन्† जस्तो : २०४८ सम्म बागलुङ ज्यामिरघाटमा लामाखेत मेला कत्रो लाग्थ्यो ? कति रमाइलो हुन्थ्यो ? कति दिन चल्थ्यो ? लेखकबाट कालीगण्डकी किनारको त्यो ऐतिहासिक लामाखेत मेला कसरी छुट्न पुगेछ ? सामान्य रूपमा त आएको छ तर विस्तृतमा अब कसले निबन्ध मार्फत त्यो मेलाको वर्णन गरिदेला ?
स्थानीय वृद्धवृद्धाका अनुसार माघेसङ्क्रान्तिजस्ता मेलामा बागलुङ ज्यामिरघाटमा अत्यधिक भिड लाग्थ्यो । कालीगण्डकी किनारमा अवस्थित त्यो मेलामा गङ्गास्नान र व्यापारिक जमघट हुने परम्परा थियो । स्थानीय बुढापाकाका अनुसार ३० को दशकमा ज्यामिरघाटको झोलुङ्गे पुल छिनेको र केही मानिस नदीमा खसी निधन भएको, केही घाइते भएको र केहीलाई बगाएर बेपत्ता पारेको भन्ने कुरा अहिलेसम्म सुन्नमा पाइन्छ । त्यो बेलाको त्यो घटना स्थानीयको स्मृतिमा बलियो गरी रहेभएको भए पनि औपचारिक डाटा भेटिदैनन् ।
परापूर्वकालदेखि चलिआएको त्यति महत्त्वपूर्ण मेलाको बारेमा कुरा लेखकबाट कसरी छुट्न पुगेछ ? २०४८ सालसम्म लागेको त्यो मेला त्यसै वर्ष मेलामा एक जना इन्सपेक्टर वैद्यको हत्या भएपछि मेला लाग्न छाड्यो ।
निबन्धमा छुटेको अर्को पुर्तिघाट मेला, विश्वकै ठुलो भनिएको सेदीबेनीस्थित शालिग्राम शिला र त्यहाँ लाग्ने मेला, गुप्तेश्वर गुफा, काजी सत्तल । यी पनि भइदिएको भए पुस्तकको आकर्षण, महिमा, मूल्य अझै बढ्दै जान्थ्यो होला ।
निबन्धको अध्ययन–विश्लेषण समीक्षाबाट थाहा लाग्छ, पाठकलाई न अघि, न पछि सँगसँगै आफैसँग डोर्याउन सक्ने, हिँडाउन सक्ने क्षमता भएको उनी ‘मित्र लेखक’ हो अथवा ‘नाविक लेखक’ हो अथवा उनलाई ‘मोहनी लेखक’ भन्न पनि सकिन्छ । पाठकलाई मोहनी, मुहुनी, माया लगाउन सक्ने प्रबल क्षमता पनि उनीसँग रहेको देखिन्छ । सराउन्डिङ राइटर वा रुरल सराउन्डिङ राइटर भन्न पनि मिल्ला । उनी हरेक पाठकलाई आफूसँगै उडाउन सक्ने पाइलट राइटर पनि हो । यी लेखको आधारमा उनलाई मुख्यत: सराउन्डिङ या काली पनि भन्न मिल्ला सकिएला/सकिन्छ ।
गौडेलजीको तेस्रो कृति यो कालीगण्डकीका किनार (निबन्ध) अगाडिपछाडिका केही पृष्ठबाहेक १८० पृष्ठको रहेको छ । मूल्य नेरु ४२५ रहेको यो कृति राम्रो सुन्दर कागज र बाक्लो गातो, बाक्लो पाना, बाक्लो मसी, बाक्लो मसीका मोटा र राम्रा गाढा अक्षर र पुस्तक ठिक्क साइजको रहेकोे हुँदा महँगी बढेअनुसार मूल्य ठिकै मान्नुपर्छ ।
यो निबन्धमा विविध विषयसन्दर्भमाथि लेखिएका ४१ ओटा लेख निबन्ध रहेका छन् । यो निबन्धलाई बेला पब्लिकेसन्स काठमाडौँ नेपालले प्रकाशन गरेको छ । गाता वा जिल्द राम्रो मिलेको छ । कला आराध्यप्रताप अधिकारी र सज्जा टाइम्स क्रिएसन संस्थाबाट भएको छ ।
सर्जकले घरमै आएर समीक्षाको अपेक्षासहित यो महत्त्वपूर्ण पुस्तक सादर भेट दिनुभएको थियो । म कताकती निबन्ध मन पर्ने मान्छे हुँ । कताकती पढ्ने मान्छे पनि हुँ र कताकती लेख्ने मान्छे पनि हुँ तर समीक्षा गर्ने मान्छे होइन । समीक्षा गर्ने ल्याकत म राख्दिनँ । शोभाकान्तजीले मलाई यति ठुलो जिम्मेवारी कसरी दिनुभयो ? म अप्ठ्यारोमा परेको छु ।
उहाँका लेखरचना निबन्ध कवितामा यो पुगेन र त्यो मिलेन भनेर ज्ञान बाड्ने ? उपदेश दिने ? धाक्कुधाक लगाउने ? पण्डित्याइ छाट्ने ? सुहाउने कुरा होइन, कमसेकम मेरा लागि होइन ।
यति मूल्यवान् सुन्दर कृतिसमीक्षा गर्न दिएर सर्जकले मेरो जुन सम्मान गर्नुभएको छ, त्यसप्रति म आभारी छु । मेरो हार्दिक अभिलाषा छ कि यति महत्त्वपूर्ण कृतिको अध्ययन गरेर, समीक्षा गरेर, समझ, ज्ञान, जानकारी गरेर मैले पनि यसलाई ग्रहण गर्न सकूँ ।
निबन्धकार शोभाकान्तजीको मूल्यवान्, ज्ञानवर्धक यो पुस्तकलाई मैले यसरी मूल्याङ्कन गरेँ । यसरी चर्चा गरेँ । समीक्षा गरेँ । समीक्षा राम्रो नराम्रो घटीबढी केही न केही भएको हुन सक्छ । केही चर्चा नपुगेको हुन सक्छ । केही छुटेको हुन सक्छ । केही चर्चा नचाहिँदो हुन सक्छ । केही नदोरिएको हुन सक्छ । केही पर्याप्त नभएको हुन सक्छ । केही आवश्यकताअनुसार नभएको हुन सक्छ । केही अनावश्यक चर्चा भएको हुन सक्छ तर मैले जति जाने जसरी बुझेँ, त्यसैगरी समीक्षा गरे । मलाई लागेको छ, मैले जे समीक्षा गरेँ, जे लेखे आफूले देखे, जानेबुझेअनुसार नै गरे । न सस्तो वाहवाही, न चर्काे आलोचना । न चिप्लोचाप्लो, न टर्रोपिरो । न हेलाँहोचो न बढाइचढाइ । आफूले देखे, जाने, बुझेसम्म लेखेँ ।
पाठकले यस कृतिलाई कसरी बुझ्नुहुन्छ, कसरी मूल्याङ्कन गर्नुहुन्छ ? पाठककै हातमा छोडौँ र आशा गरौँ, गौडेलजीका यस किसिमका सिर्जना वा कृति आगामी दिनमा अझ राम्रा, अझै परिस्कृत नयाँ नौला रूपमा नयाँनयाँ प्रकाशित भइरहनेछन् । पढ्न पाइरहनेछौँ ।
२००८ सालमा पर्वतको फलेबासमा जन्मिनुभएका इन्जिनियर, गीतकार, निबन्धकार, लेखक, कवि बसाइँसराइपछि पोखरामा बसोबास गर्दै आएका छन् । यी निबन्ध तयार पार्दा लेखकलाई सोत सामाग्री जुटाइदिने श्रोत ब्यक्तिलाई पनि हार्दिक धन्यवाद भन्न चाहन्छु ।
अन्त्यमा पुस्तकको सुरुमा ‘आफ्नो भन्नु’ मा लेखकले भन्नुभएको छ– “विशेष गरी मेरी जीवनसँगिनी कला, दाजु पदमपाणि गौडेल, भाइ कृष्णप्रसाद गौडेल, छोराहरू विजय र सञ्जय, छोरीहरू लक्ष्मी, जयन्ती, बुहारीहरू निना, टृस्टिना र ज्वाइँहरू कृष्ण, माधव (निष्प्रभ, सजी) सबैको अग्रसरतामा यी लेखले पुस्तकको आकार पाएका हुन ।” यहाँहरू सबैलाई हार्दिक साधुवाद छ, नमन छ कि पुस्तकले आकार ग्रहण गरेपछि हामीले पनि पढ्ने मौका प्राप्त गर्यौँ ।
नेपाली साहित्यलाई उहाँबाट अझै समृद्धि प्राप्त हुने आशासहित हार्दिक शुभेच्छा ।