- गणेश आचार्य
२०८३ जेष्ठ तीन गते राष्ट्रिय जनमोर्चाद्वारा आयोजित संविधान संशोधन विषयक अन्तर्क्रिया कार्यक्रमको लागि पाल्पा जाने क्रममा राष्ट्रिय जनमोर्चा पाल्पा जिल्ला अध्यक्ष बिसाल दर्लामि र म पाल्पा रानि महल पुग्यौँ । यो मेरो पहिलो पाल्पा रानि महलको यात्रा थियोे । पाल्पाको सदरमुकाम तानसेनबाट करिब १३ किलोमिटर उत्तरमा, पवित्र कालीगण्डकी नदीको किनारमा ठिङ्ग उभिएको एउटा भव्य र कलात्मक दरबार छ— रानीमहल । हरियो वनजङ्गलको बीचमा, विशाल चट्टानमाथि पश्चिमी वास्तुकलाको बेजोड नमुनाझैँ देखिने यो महल केवल एउटा संरचना मात्र होइन, यो अमर प्रेमको जीवन्त प्रतीक पनि हो । भारतको आगरामा अवस्थित ‘ताजमहल’ जस्तै एक सुप्रसिद्ध ऐतिहासिक शासकले आफ्नी दिवंगत रानीको सम्झनामा निर्माण गरेकाले यसलाई ‘नेपालको ताजमहल’ भनेर समेत चिनिन्छ ।
रानीमहलको निर्माण कथा तत्कालीन राणाकालीन सत्ताको उतारचढाव र एउटा गहिरो प्रेम सम्बन्धसँग जोडिएको छ। वि.सं. १९४२ को राजनीतिक पर्व (रणोद्दीप सिंहको हत्या) पछि शमशेर खलक सत्तामा आयो । सो पर्वमा मुख्य भूमिका खेलेका वीर शमशेर प्रधानमन्त्री बने भने उनका भाइ खड्ग शमशेर कमाण्डर-इन-चीफ (सेनापति) भए । तर, महत्वाकाङ्क्षी खड्ग शमशेरले वीर शमशेरविरुद्ध नै विद्रोहको योजना बुनेपछि उनको योजना असफल भयो । परिणामस्वरूप, उनलाई पदच्युत गरी काठमाडौँबाट बाहिर पाल्पा पठाइयो । पछि वि.सं. १९४५ मा उनलाई पाल्पा-गौँडाको तैनाथवाला (गभर्नर जनरल) बनाएर जिम्मेवारी सुम्पियो । पाल्पामा रहँदा खड्ग शमशेरकी कान्छी तथा सबैभन्दा प्रिय रानी तेजकुमारी देवीको वि.सं. १९४९ मा असामयिक निधन भयो । आफ्नी प्यारी र रूपवती रानीको वियोगले खड्ग शमशेर मर्माहत बने । रानी तेजकुमारीले मृत्युशय्यामा रहँदा आफ्नो सम्झनामा एउटा पवित्र तीर्थस्थल र स्मारक बनाइदिन इच्छा व्यक्त गरेकी थिइन् । सोही अन्तिम इच्छा र आफ्नो अगाध प्रेमलाई अमर बनाउन जनरल खड्ग शमशेरले वि.सं. १९५० मा यस महलको शिलान्यास गरे । बेलायती इन्जिनियरको डिजाइन, भारतबाट ल्याइएका दक्ष कालीगढ र स्थानीय जनशक्तिको निरन्तर ४ वर्षको कडा मिहिनेतपछि वि.सं. १९५४ मा यो चारतले भव्य दरबार निर्माण सम्पन्न भयो । महल निर्माणसँगै यस क्षेत्रको जङ्गललाई ‘रानीवन’ र नदीको घाटलाई ‘रानीघाट’ नामाकरण गरियोब । वि.सं. १९६० मा चन्द्र शमशेरसँगको राजनीतिक असमझदारी र असुरक्षाका कारण खड्ग शमशेर सरकारी ढुकुटीसहित भारत पलायन भएपछि यो महल लामो समयसम्म उपेक्षित र बेवारिसे बन्न पुगेको थियो ।
भौगोलिक दृष्टिकोणले रानीमहल पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. १३ (साविक बौघागुम्हा गाविस) र बगनासकाली गाउँपालिकाको खानीगाउँको सिमानामा अवस्थित छ । यो ऐतिहासिक दरबार कालीगण्डकी नदीको उत्तरतर्फ मोडिएको घुम्तीमा एउटा विशाल र कडा चट्टानमाथि जग हालेर बनाइएको छ । नदीको ठीक किनारमा भएकाले यसको एउटा भागको जग सिधै पानीमा जोडिएको भान हुन्छ । तानसेन बजारको कोलाहलबाट टाढा, कञ्चन कालीगण्डकीको कलकल आवाज र वरपरको घना रानीवनले यस ठाउँलाई अत्यन्तै शान्त, एकान्त र मनमोहक बनाएको छ । वास्तुकलाको कुरा गर्दा, रानीमहल परम्परागत नेपाली शैलीभन्दा भिन्न यूनानी (नियो-क्लासिक) र युरोपेली स्थापत्य कलाको फ्युजन होन। ५६ फिट चौडाइ र ११२ फिट उचाइ भएको यो चारतले भवन निर्माणमा इँटा, चुन र सुर्खी (इँटाको धुलो) को मिश्रण प्रयोग गरिएको छ । दरबारको भुइँतलामा घोडचढीका लागि तबेला र सुरक्षाकर्मीका कोठाहरू छन् भने माथिल्लो तलामा राजपरिवारका लागि बैठक कोठा, सयन कक्ष र पूजा कोठाहरू बनाइएका छन् । दरबारको परिसरभित्र कलात्मक पानीपोखरी (रानीपोखरी), मनमोहक बगैँचा, पाटीपौवा र शिवालय मन्दिर रहेका छन् । दरबारको मुख्य ढोकाबाट सिधै कालीगण्डकी नदीको पानीसम्म पुग्नका लागि कलात्मक ढुङ्गे भर्याङ निर्माण गरिएको छ, जसले यसको बनोटलाई अझ आकर्षक बनाएको छ । अहिले त्यहा अबलोकनको लागी नेपाली देखि भारतीय नागरिकहरुको भिडभाड लाग्ने गर्दछ ।
खड्ग शमशेरले देश छाडेर भारत पलायन भएपछि रानीमहलको स्वामित्व लामो समयसम्म अन्योलमा रह्यो । वरपरका नागरिक र स्थानीय कल्बहरुले सामान्य सरसफाइ मात्र गर्ने गरेको राष्ट्रिय जनमोर्चा पाल्पा जिल्ला अध्यक्ष बिसाल दर्लामिले बताउनु भयो । रेखदेखको अभावमा बहुमूल्य पुरातात्त्विक सामग्रीहरू, कलात्मक काठका झ्यालढोका र ऐतिहासिक वस्तुहरू चोरी भएर महल खण्डहरमा परिणत हुँदै गएको थियो । विसौँ शताब्दीको अन्त्यतिर नेपाल सरकारले यसको ऐतिहासिक मूल्यलाई बुझेर संरक्षणको पहल सुरु गर्यो । वर्तमान समयमा रानीमहलको मूल स्वामित्व नेपाल सरकारको पुरातत्त्व विभागसँग सुरक्षित छ । राष्ट्रिय गौरवको यो पुरातात्त्विक सम्पदालाई अझ व्यवस्थित र पर्यटकीय आकर्षणको केन्द्र बनाउन पुरातत्त्व विभागले यसको रेखदेख र दैनिक व्यवस्थापनको जिम्मा तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको छ । नगरपालिकाको सक्रियतामा अहिले यो ऐतिहासिक दरबारलाई ‘रानीमहल सङ्ग्रहालय’ को रूपमा विकास गरिएको छ । विभिन्न ठाउँमा छरिएका वा चोरिएका करिब १६६ थान पुराना पुरातात्त्विक भाँडाकुँडा, मूर्ति, शङ्ख र शालिग्रामहरू फिर्ता ल्याएर सङ्ग्रहालयमा सजाइएको छ । हाल यहाँ खानेपानी, सडक सञ्जाल, विद्युतीकरण, रात्रिकालीन प्रकाश (लाइटिङ) र सुरक्षा क्यामेराहरूको प्रबन्ध गरी पर्यटकीय पूर्वाधार सुदृढ बनाइएको छ ।
रानीमहलको महत्त्वलाई केवल एउटा पुरानो भवनको रूपमा मात्र सीमित राख्न सकिँदैन, यसका अनेकौँ आयामहरू छन् । जसरी संसारले शाहजहाँ र मुमताजको प्रेमलाई ताजमहलको रूपमा स्मरण गर्छ, त्यसैगरी नेपालमा खड्ग शमशेर र तेजकुमारीको अगाध प्रेमलाई यसले प्रतिनिधित्व गर्छ । यो युवा पुस्ताका लागि आकर्षणको केन्द्र र साँचो प्रेमको पर्याय बनेको छ । १९औँ शताब्दीको अन्त्यतिर नेपालमा भित्रिएको युरोपेली इन्जिनियरिङ र नेपाली श्रमको फ्युजन बुझ्नका लागि यो जीवित विश्वविद्यालय हो । इतिहास र पुरातत्त्वका शोधकर्ताहरूका लागि यो एक अनुपम गन्तव्य हो । त्यसैगरी, रानीमहल जुन नदीको किनारमा छ, त्यो कालीगण्डकी नदी धार्मिक रूपमा अत्यन्त पवित्र मानिन्छ । शालिग्राम पाइने विश्वकै एक मात्र नदी हुनु र परापूर्वकालमा मुक्तिनाथ जाने मूल मार्ग यही हुनुले यसको धार्मिक गरिमा बढाएको छ । यहाँ रहेको शिवालय र रानीघाटमा गरिने स्नानको विशेष आध्यात्मिक महत्त्व छ । वर्तमान समयमा रानीमहल पाल्पाकै प्रमुख पर्यटकीय ब्रान्ड बनेको छ । दैनिक रूपमा सयौँ आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ फोटो खिच्न, टिकटक बनाउन र प्रकृतिको आनन्द लिन पुग्छन् । यसले गर्दा पाल्पा र आसपासका क्षेत्रमा होटल, यातायात र स्थानीय उत्पादन (जस्तै पाल्पाली ढाका, करुवा आदि) को व्यापार फस्टाएको छ, जसले स्थानीय अर्थतन्त्रमा ठुलो टेवा पुर्याएको छ ।
विगतमा निकै जर्जर बनेको यो ऐतिहासिक धरोहर वर्तमान समयमा पुनर्निर्माण र संरक्षणको बलियो नीतिका कारण बिस्तारै आफ्नो पुरानै साख र चमकतर्फ फर्कँदै छ । राष्ट्रिय गौरव र इतिहासको पहिचानसँग जोडिएको हुनाले यसको मौलिकता बचाउनु सिङ्गो राष्ट्रको साझा दायित्व हो । प्राकृतिक विपत्ति (बाढी र पहिरो) र मानवीय अतिक्रमणको जोखिमका बाबजुद रानीमहल आज पनि आफ्नो गौरवमय इतिहास बोकेर गर्वका साथ उभिएको छ । कालीगण्डकीको सुसेलीसँगै बग्ने यसको ऐतिहासिक गाथाले जोकोहीको मन लोभ्याउँछ । तीनै तहका सरकार, पुरातत्त्व विभाग, सरोकारवाला निकाय र स्थानीय समुदायले यसको मौलिक ऐतिहासिक स्वरूप बिग्रन नदिई थप संरक्षण, विकास र अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने हो भने रानीमहल नेपालकै मात्र नभएर विश्वकै एक अद्वितीय पर्यटकीय, अध्ययनशील र सांस्कृतिक धरोहर बन्न सक्ने सुनिश्चित छ ।