– गणेश आचार्य
इतिहास केवल बितेका घटनाहरूको निर्जीव संगालो होइन, यो त वर्तमानलाई डोर्याउने र भविष्यको गर्भमा लुकेका सम्भावनाहरूलाई प्रस्फुटित गराउने एउटा जीवन्त दार्शनिक ऊर्जा हो । आज अप्रिल २२—विश्व राजनीतिको रङ्गमञ्चमा एउटा यस्तो विशिष्ट नक्षत्र, जहाँ दुईवटा महान् क्रान्तिकारी धाराहरू एउटै विन्दुमा समाहित भएका छन् । सन् १८७० को यही तिथिमा विश्व सर्वहारा वर्गका महान् पथप्रदर्शक भ्लादिमिर इलिच लेनिनको जन्म भएको थियो भने सन् १९४९ को यही पावन दिनमा नेपालको धर्तीमा मुक्तिको झण्डा उठाउँदै पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो । आज हामी यस महान् प्रस्थानविन्दुको ७८ औँ वर्षमा उभिएर इतिहासको निर्मम समीक्षा र भविष्यको सुन्दर खाका कोर्नै पर्छ । यो दिन केवल एउटा राजनीतिक औपचारिकता मात्र होइन, बरु दलाल पुँजीवादको चक्रव्यूह तोडेर वैज्ञानिक समाजवादको दिशामा लम्किने एउटा क्रान्तिकारी शपथ र वैचारिक पुनर्जागरणको महाअभियान हो ।
कम्युनिस्ट आन्दोलनको इतिहासमा लेनिनको नाम केवल एउटा नेताको रूपमा मात्र होइन, बरु माक्र्सवादलाई व्यवहारिक धरातलमा उतार्ने एउटा महान बैज्ञानीकको रूपमा लिइन्छ । माक्र्स र एङ्गेल्सले पुँजीवादको शल्यक्रिया गरेर समाजवादको खाका त कोर्नुभयो, तर त्यसलाई राज्यसत्ताको रूपमा कसरी ढाल्ने भन्ने प्रश्नको ठोस जवाफ लेनिनले दिनुभयो । उहाँले साम्राज्यवादी युगमा क्रान्तिको चरित्र कस्तो हुनुपर्छ र एउटा अनुशासित, विचारले लैस र सर्वहारा वर्गको अग्रदस्ताको रूपमा रहने पार्टीको आवश्यकता किन पर्छ भन्ने कुरा विश्वलाई सिकाउनुभयो। लेनिनले विकास गर्नुभएको ‘नयाँ प्रकारको पार्टी’ को अवधारणाले नै विश्वभरका मजदुर र किसानहरूलाई संगठित शक्तिको रूपमा उभ्यायो ।
सन् १९१७ को महान् अक्टोबर क्रान्ति मानव सभ्यताको इतिहासमा एउटा यस्तो विष्फोट थियो, जसले सदियौँदेखिको दासताको जञ्जिरलाई एकै झट्कामा चुँडालेर फालिदियो । जारशाहीको क्रुर र सामन्ती शासनको अन्त्य गर्दै रसियामा मजदुर र किसानहरूको सत्ता स्थापना हुनु केवल एउटा देशको सत्ता परिवर्तन मात्र थिएन, यो त विश्वभरका शोषित, उत्पीडित र रङ्गीन मानिसहरूका लागि एउटा नयाँ युगको सुत्रपात थियो । अक्टोबर क्रान्तिको त्यो सफलताले पुँजीवादी दुनियाँलाई थर्कमान बनाइदियो र एउटा यस्तो राज्यको परिकल्पनालाई साकार पार्यो जहाँ मानिसले मानिसलाई गर्ने शोषणको अन्त्य भएको थियो । अक्टोबर क्रान्तिको त्यही राप र तापले नै एसिया र अफ्रिकाका उपनिवेशहरूमा स्वतन्त्रताको लहर ल्यायो र अन्ततः नेपाली क्रान्तिकारीहरूलाई पनि आफ्नो माटोमा विद्रोहको बीउ रोप्न प्रेरित गर्यो । जब सन् १९४९ को अप्रिल २२ मा पुष्पलालले कलकत्ताको एउटा सामान्य कोठामा नेकपाको झण्डा उठाउनुभयो, त्यतिबेला नेपालको अवस्था मध्ययुगीन बर्बरताभन्दा फरक थिएन ।
जहानियाँ राणा शासनको क्रुरता र सामन्ती शोषणको चरम पराकाष्ठा रहेको त्यो समयमा ‘गणतन्त्र’ र ‘समाजवाद’ का कुरा गर्नु आफैँमा एउटा विष्फोटक दुस्साहस थियो । लेनिनकै जन्मजयन्तीको दिन पारेर पार्टी स्थापना गर्नु पुष्पलालको एउटा दुरदर्शी कुटनैतिक सन्देश थियो । त्यसले नेपाली क्रान्ति केवल स्थानीय घटना मात्र होइन, यो विश्वव्यापी सर्वहारा आन्दोलनको एउटा अभिन्न हिस्सा हो भन्ने कुरा प्रमाणित गर्यो । नेकपाको पहिलो घोषणापत्रले नै राजतन्त्रको अन्त्य र संविधान सभाको माग गरेको थियो, जुन कुरा त्यस समयका अन्य राजनीतिक शक्तिहरूका लागि कल्पनाबाहिरको विषय थियो । त्यो सानो वैचारिक झिल्कोले बिस्तारै गाउँ–गाउँका झुपडीहरूमा चेतनाको आगो बाल्यो । ‘हलो जोत्नेको जग जगाउने’ अभियानदेखि सुरु भएको यो यात्राले नेपाली समाजको पिँधमा रहेका मानिसहरूलाई इतिहासको निर्माताको रूपमा उभ्यायो ।
नेपाली कम्युनिस्ट आन्दोलनको विकासक्रमलाई हेर्दा यसले अनेकौँ वैचारिक संघर्ष र आन्तरिक शुद्धीकरणका प्रक्रियाहरू पार गरेको देखिन्छ । २०१७ सालको शाही कू पछि जब पार्टीमा वैचारिक अस्पष्टता देखा पर्यो, त्यतिबेला पनि पुष्पलालले ‘संयुक्त जनआन्दोलन’ को नीति अघि सारेर राजतन्त्र विरुद्धको लडाइँलाई जीवित राख्नुभयो । २०६२/६३ को दोस्रो जनआन्दोलनको सफलता र राजतन्त्रको विधिवत् अन्त्य हुनुमा कम्युनिस्टहरूले दशकौँदेखि बगाएको रगत र पसिना नै मुख्य कारक थियो । ७८ वर्षको यो यात्रामा हामीले केवल व्यवस्था मात्रै बदलेनौँ, बरु नेपाली समाजको चेतनाको स्तरलाई मध्ययुगबाट आधुनिक युगमा छलाङ मार्न सफल बनायौँ । कम्युनिस्ट आन्दोलनको ‘आत्मा’ भनेको द्वन्द्वात्मक भौतिकवाद र उत्पीडित वर्गप्रतिको अविचलित निष्ठा हो । जबसम्म एउटा कम्युनिस्ट कार्यकर्तामा जनसेवाको सादगी र पदभन्दा माथि विचारलाई राख्ने नैतिकता रहन्छ, तबसम्म यो आन्दोलन अपराजेय रहन्छ । समाजको पिँधमा रहेका मानिसहरूलाई सत्ताको निर्णय प्रक्रियामा पुर्याउनु र महिलाहरूलाई राज्यको हरेक अंगमा सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्नु कम्युनिस्ट आन्दोलनकै गौरवशाली उपलब्धि हो ।
कुनै पनि क्रान्तिकारी आन्दोलन सिधा रेखामा अघि बढ्दैन । नेपाली कम्युनिस्ट आन्दोलनले पनि अनेकौँ उकाली–ओराली, फुट र जुटको तितो–मिठो अनुभव सँगालेको छ । कहिलेकाहीँ नेतृत्वमा देखिने जडसूत्रवाद र कहिलेकाहीँ देखिने विसर्जनवादले आन्दोलनलाई क्षति पनि पुर्यायो । तर, माक्र्सवादले सिकाउँछ कि विकास सधैँ द्वन्द्वबाटै हुन्छ । आजका यी विभाजन र कमजोरीहरूले भोलिको एउटा सुदृढ र वैचारिक रूपमा स्पष्ट एकीकृत कम्युनिस्ट पार्टीका लागि जग निर्माण गरिरहेका छन् । वर्तमान नेपाली राजनीति एउटा विचित्रको संक्रान्तिमा छ । कम्युनिस्टहरू सत्ताको केन्द्रमा भए तर समाजवादको यात्रा दलाल पुँजीवादको चक्रव्यूहमा फसेको छ । हामीले व्यवस्था त बदल्यौँ, तर जनताको अवस्था बदल्न अझै धेरै संघर्ष गर्न बाँकी छ ।
दलाल पुँजीवादले राजनीतिक दलहरूमा मात्र होइन, कार्यकर्ताको संस्कृति र नैतिकतामा समेत विचलन ल्याएको छ । उपभोक्तावादी संस्कृतिले क्रान्तिकारी आदर्शलाई थिचिरहेको यो समयमा एक क्रान्तिकारी नेताका लागि सबैभन्दा ठूलो चुनौती भनेकै आफ्नो वर्गप्रतिको इमानदारिता जोगाउनु र सत्तालाई समाजवादको आधार निर्माणमा बदल्नु हो । कुटनीतिक र रणनीतिक हिसाबले नेपाल आज विश्व शक्तिहरूको सामरिक स्वार्थको केन्द्र बन्ने जोखिममा छ । उत्तर र दक्षिणका दुई उदीयमान शक्ति र पश्चिमा राष्ट्रहरूको भू-राजनीतिक खिचातानीका बीच नेपालको राष्ट्रिय स्वाधीनता रक्षा गर्नु आजको मुख्य कार्यभार हो । यस्तो अवस्थामा एक क्रान्तिकारी कम्युनिस्ट शक्तिले मात्र दृढताका साथ ‘असंलग्न परराष्ट्र नीति’ र राष्ट्रिय हितको पक्षमा अडान लिन सक्छ ।
नेपाली कम्युनिस्ट आन्दोलनको भविष्यको सुन्दरता यसको वैचारिक वैज्ञानिकतामा लुकेको छ । पुँजीवादले विश्वभरि सिर्जना गरेको चरम आर्थिक खाडल र बेरोजगारीको एकमात्र विकल्प वैज्ञानिक समाजवाद नै हो । जबसम्म संसारमा शोषण रहन्छ, तबसम्म माक्र्सवाद र लेनिनवादको सान्दर्भिकता किमार्थ समाप्त हुँदैन । अबको कम्युनिस्ट आन्दोलन केवल सडक प्रदर्शन र चुनावी अंकगणितमा मात्र सीमित हुनेछैन ।
हामीले प्रत्येक गाउँलाई उत्पादनको केन्द्र र प्रत्येक कार्यकर्तालाई श्रमको नायक बनाउने नयाँ समाजवादी मोडल तयार गर्नुपर्दछ । आर्थिक आत्मनिर्भरता नै समाजवादको पहिलो खुड्किलो हो । आजको युवा पुस्ता, जो प्रविधि र विश्वव्यापी परिवेशलाई बुझ्न सक्षम छ, उसले कम्युनिस्ट विचारको वैज्ञानिकतालाई अझ नयाँ र सिर्जनात्मक ढङ्गले व्याख्या गर्नुपर्द्छ । ७८ औँ स्थापना दिवसले हामीलाई विभाजित होइन, एकीकृत र वैचारिक रूपमा सुदृढ कम्युनिस्ट पार्टीको माग गरिरहेको छ । इतिहासको आवश्यकताले नै छरिएका कम्युनिस्ट शक्तिहरूलाई एउटै केन्द्रमा ल्याउनेछ । यो एकता केवल नेताहरूको मिलन होइन, बरु जनताको मुक्तिप्रतिको साझा संकल्प हुनेछ । समाजवाद केवल एउटा राजनीतिक व्यवस्था मात्र होइन, यो त मानवीय मर्यादा, समानता र न्यायको एउटा उच्चतम् संस्कृति हो ।
लेनिनले भन्नुभएको थियो कि क्रान्ति केवल सत्ताको परिवर्तन मात्र होइन, यो त मानिसको चेतना र उत्पादन पद्धतिको आमूल परिवर्तन हो । आज हामी अप्रिल २२ को यो महान् घडीमा लेनिनको त्यो मार्गदर्शनलाई नेपाली विशिष्टतामा प्रयोग गर्ने संकल्प गर्नु पर्दछ । हामीले निर्माण गर्ने समाजवादमा उत्पादनका साधनहरूमाथि जनताको स्वामित्व हुनेछ र श्रम गर्ने मानिस नै समाजको सबैभन्दा सम्मानित पात्र हुनेछ । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकताहरू राज्यको पूर्ण जिम्मेवारीभित्र रहनेछन्, जहाँ कोही पनि पैसाको अभावमा उपचार नपाएर मर्नुपर्ने छैन । यो कुनै कोरा कल्पना होइन, बरु विज्ञान र आवश्यकताले निर्देशित गरेको गन्तव्य हो । ७८ वर्षअघि पुष्पलालले देख्नुभएको त्यो सुन्दर नेपालको सपना अब हाम्रो काँधमा आइपुगेको छ ।
अप्रिल २२ को यो महान् दिनले हामीलाई सहिदहरूको रगतको अधुरो सपना सम्झाइरहेको छ । इतिहासले हामीलाई फेरि एकपटक कठिन तर गौरवपूर्ण परीक्षाको मोडमा उभ्याएको छ । लेनिनको क्रान्तिकारी इच्छाशक्ति र पुष्पलालको वैचारिक अडानलाई आत्मसात् गर्दै अघि बढ्ने हो भने नेपालमा समाजवादको सूर्योदय निश्चित छ । निराश हुनेहरूका लागि इतिहास साक्षी छ—रात जतिसुकै गहिरो भए पनि बिहानीलाई कसैले रोक्न सक्दैन । ७८ औँ स्थापना दिवसको यो घडीमा हामीले आफूभित्रको संकीर्णता र बुर्जुवा संस्कृतिलाई त्यागेर विशाल हृदयका साथ जनताको सेवामा समर्पित हुने शपथ लिनुपर्छ । नेपाली कम्युनिस्ट आन्दोलनको भविष्य सुन्दर छ, किनकि यो सत्य, विज्ञान, न्याय र सर्वहारा वर्गको बलिदानी रगतले सिञ्चित छ । दलाल पुँजीवादका काला बादलहरू केही समयका लागि मडारिन सक्छन्, तर ती बादलहरूलाई चिर्दै विचारधाराको सौर्यले नयाँ नेपालको क्षितिजलाई लाल रङ्गले रङ्ग्याउनेछ । पुँजीवादी विश्व व्यवस्थाले निम्त्याएको संकटको घडीमा नेपाल जस्तो देशले मौलिक समाजवादको अभ्यास गरेर विश्वलाई नै एउटा नयाँ सन्देश दिन सक्छ । आजको युवा शक्ति र क्रान्तिकारी विचारको फ्युजन नै हाम्रो आन्दोलनको प्राण हो । ७८ वर्षको यो गौरवशाली विरासतलाई अझ उचाइमा पुर्याउनु हामी सबैको साझा दायित्व हो । यही नै ७८ औँ वर्षको हाम्रो संकल्प हो र यही नै हाम्रा सहिदहरू प्रतिको वास्तविक श्रद्धाञ्जली हो।

