- प्रकाश थापामगर
२०८२ साल हामीमाझ बाट बिदा भएको छ, त्यससँगै २०८३ सालको आगमन भएको छ । स्वागत २०८३ साललाई र बिदाई २०८२ साललाई । आशा गरौँ, २०८३ साल राम्रो हुनेछ । त्यसले पुराना गल्तीकमजोरी वा त्रासदीलाई त्यही रूपमा दोहोर्याउने छैन । भनिन्छ, इतिहास दोहोरिँदैन बरु नयाँ रूपमा पुनरावृत्ति हुन्छ । मानव जातिको हालसम्मको ऐतिहासिक शिक्षाको आधारमा हामी यति तथ्यलाई अवश्य पनि स्वीकार्न सक्छौँ ।

२०८२ साल निरपेक्ष प्रकारले राम्रो थिएन । पक्कै पनि त्यसको अर्थ हालसम्मको इतिहासमा यो वर्ष सबैभन्दा खराब थियो भन्ने पनि होइन । नेपाली जनताले यसभन्दा कैयौँ क्रुर र त्रासदीयुक्त समय पनि व्यहोरिसकेका छन् र यो पनि ग्यारेन्टी गर्न सकिन्न : अबको समय सुखद नै हुनेछ । त्यसको अर्थ यो हो, समय आफैमा सुखद वा त्रासदीयुक्त हुँदैन, त्यसलाई मानवजातिले नै आफूअनुकूल बनाउँछन् ।

पछिल्लो साल सुरु हुँदा देशमा प्रतिनिधिसभाको अङ्कगणितअनुसार शक्तिशाली सरकार थियो । २०७९ सालको आमनिर्वाचनबाट तेस्रो क्रममा आइपुगेको तत्कालीन माओवादीले चरम पदलोलुपता देखाएपछि दुई ठुला दल कङ्ग्रेस र एमालेले सरकार बनाएका थिए तर उनीहरूले सुशासन कायम गर्न सकेका थिएनन् । फलस्वरूप जनअसन्तोष चरमचुलीमा पुगेको थियो ।

त्यसलाई उपयोग गर्न देशीविदेशी प्रतिक्रियावादी शक्तिले प्रयास गरिरहेका थिए । त्यसको ट्रेलर २०८१ चैत १५ गते देखा परिसकेको थियो । फेरि पनि तत्कालीन सरकारले आफूप्रति विरोधको चरमावस्थालाई महसुस गर्न सकेन । २०८२ भदौमा सरकारले संसद्बाट कानुन नबनाईकन सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएपछि कुशासन विरुद्धको आक्रोशले विषयान्तर गरिदियो । फलस्वरूप भदौ २३–२४ को जेनजी परिघटना अगाडि आयो ।

पक्कै पनि जेनजी आन्दोलनका दुईओटा पाटा थिए : पहिलो दिन कुशासन विरुद्ध असन्तोष प्रकट भएको थियो भने दोस्रो दिन देश र जनता विरोधी शक्तिहरूले राष्ट्रव्यापी विध्वंस मच्याएका थिए । पहिलो दिन नै १९ जनाको प्रहरीको गोलीद्वारा मृत्यु भयो भने दोस्रो दिन राष्ट्रिय धरोहर र ऐतिहासिक सामग्री ध्वस्त भए । यो आन्दोलनको फलस्वरूप बलियो भनिएको सरकारको पतन भयो ।

असंवैधानिक प्रकारले प्रतिनिधिसभाभन्दा बाहिरबाट प्रधानमन्त्री चयन गरियो र तिनै असंवैधानिक प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरियो । त्यसका बाबजुद संवैधानिक प्रावधानअनुरूप छ महिनाभित्र पर्ने गरी फागुन २१ गते चुनाव घोषणा गरियो । त्यो चुनावले देशमा साम्राज्यवादी र प्रतिगामी शक्तिपरस्त तङ्खवलाई करिब दुईतिहाइ बहुमत प्रदान गर्यो । चैत १३ गतेदेखि देशमा रास्वपाको सरकार छ तर त्यो सरकारले राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र लोकतन्त्ररक्षाको सन्दर्भमा कुनै गलत कदम उठाउने त होइन भनेर नेपाली जनता सन्त्रस्त बन्नुपर्ने अवस्था छ ।

२०८३ सालमा पनि भदौ २३–२४, फागुन २१ र चैत १५ आउनेछन् तर हामी आशा गरौँ, ती दिनसित सम्बन्धित त्रासदीको पुनरावृत्ति हुने छैन । समग्र रूपमा इतिहास अग्रगामी दिशामा अघि बढ्छ । फेरि पनि जनताका प्रत्येक कदम सही हुँदैनन् अथवा राम्रो आसयका साथ गलत निर्णय पनि हुन्छन् । २०६४ सालको चुनावमा जनताले तत्कालीन माओवादी, जो युद्धबाट आएको थियो, जातिवादी तथा क्षेत्रीयतावादीलाई बहुमत दिएका थिए; २०७४ सालमा तत्कालीन नेकपालाई पनि प्रष्ट बहुमत दिएका थिए तर उनीहरूले जनतालाई निराश बनाए ।

गत साल पनि तत्कालीन कङ्ग्रेस–एमाले सरकारको कुशासन विरुद्ध अहिले जनताले गलत निर्णय गर्न पुगेका छन् तर जनताको चेतनाको आधारमा समयले पुराना गल्ती सुधार्नेछन् । अहिलेको चुनावद्वारा जसरी विचारविहीन, असङ्गठित शक्तिलाई सत्तारूढ गराइएको छ, त्यसको गलत क्रियाकलापसँगै जनताले पुरानो गल्ती सच्याउनेछन् । नयाँ वर्ष २०८३ ले जनतालाई फेरि एकपटक सही र गलतलाई छुट्याउने चेतना प्रदान गर्नेछ ।