दीप गोले तामाङ ##
समाज वर्गीय छ । बुर्जुवा र प्रगतिशील दुई भागमा विभाजित छ । समाज केवल सडक, भवन र प्रविधिले मात्र अगाडि बढ्दैन । समाजलाई सही दिशामा डोर्याउने सबैभन्दा शक्ति भनेको संस्कृति, चेतना र विचार हो । जबसम्म समाजमा अन्याय, शोषण, विभेद, भ्रष्टाचार, नैतिक पतन र मौनता बढ्न थाल्छ । त्यति बेला सांस्कृतिक जनजागरणको आवश्यकता अझ तीव्र बन्छ । आजको समय ठिक त्यहीँ मोडमा उभिएको छ, जहाँ फेरि एकपटक रक्तिम सांस्कृतिक अभियानको आवाज मेची–महाकालीसम्म गुञ्जिनु आवश्यक भएको छ ।
नेपालमा यतिखेर पश्चिमा संस्कृतिको प्रभावले युवापुस्तामा आफ्नो संस्कृतिप्रति वितृष्णा जागिरहेको अवस्था छ । रक्तिम सांस्कृतिक अभियान एउटा यस्तो सङ्गठन हो, विगत स्थापनाकालदेखि यो सङ्घर्षको प्रतीक चेतनाको मसाल र परिवर्तनको आवाज बनेको छ ।
इतिहासले देखाएको छ, जब जनताका आवाज दबाइएका हुन्छन्, जब श्रमिक, किसान, विद्यार्थी युवा र उत्पीडित वर्गको सपना कुल्चिन्छन्, तब सांस्कृतिक आन्दोलनले जनमानसमा नयाँ ऊर्जा भरिदिन्छ । गीत, कविता, नाटक, लेख, कला र साहित्यले समाजलाई जगाउने काम गर्छन् । त्यसैले रक्तिमले अब फेरि जनताका बिचमा पुगेर चेतनाको नयाँ लहर ल्याउनु आजको आवश्यकता हो ।
आज समाजमा विकृति र विसङ्गति दिनानुदिन बढिरहेको छ । युवा पुस्तामा आफ्नो मौलिक संस्कृति, इतिहास र सङ्घर्षको चेतनाबाट टाढिँदै गएको अवस्था छ । स्वार्थ, भोगवाद र निराशाले समाजलाई कमजोर बनाइरहेको छ । यस्तो अवस्थामा क्रान्तिकारी सांस्कृतिक जागरणले जनतालाई फेरि आफ्नो अधिकार कर्तव्य र सामूहिक शक्तिको बोध गराउन सक्छ । रक्तिमले आफ्नो आवाजलाई फेरि गाउँगाउँ, बस्तीबस्ती, विद्यालय, कलेज र जनसमुदायमा पुग्नुपर्छ ।
सांस्कृतिक जागरण केवल मनोरञ्जनका लागि होइन, यो चेतनाको आन्दोलन हो । वैचारिक रूपमा सशक्त बनाउने हो । एउटा नेताले एक घण्टा भाषण गरेरभन्दा एउटा क्रान्तिकारी गीतले पाँच मिनेट नृत्य देखाएर हजारौँ मानिसलाई सोच्न बाध्य बनाउन सक्छ । एउटा सशक्त कविताले निदाएको चेतनालाई जगाउन सक्छ । एउटा नाटकले समाजमा रहेका विकृत अनुहारलाई जनतासामु उजागर गर्न सक्छ । अब रक्तिम सांस्कृतिक अभियानले यिनै माध्यमबाट समाजमा परिवर्तनको ज्वाला दन्काउपर्छ ।
आज यहाँ खाँचो छ–
अन्यायका विरुद्धमा लेख्ने कलमको
शोषणको विरुद्ध बोल्ने आवाजको
र मौनतालाई चिर्ने सांस्कृतिक अभियानको
रक्तिमको अभियानले युवालाई केवल नारामा सीमित नराखी विचारमा बलियो नैतिकतामा दृढता र परिवर्तनप्रति प्रतिबद्धता बनाउनुपर्छ । समाजमा विद्यामान भ्रष्टाचार, वर्गीय विभेद, लैङ्गिक असमानता, अन्धविश्वास र सामाजिक अन्याय विरुद्ध सशक्त चेतना फैलाउनुपर्छ ।
क्रान्ति केवल हतियारले मात्र हुँदैन, पहिलो विचारको क्रान्ति अझ शक्तिशाली हुन्छ । जब मन र मस्तिष्कमा परिवर्तन आउँछ, तब समाज स्वत: बदलिन्छ । त्यसैले रक्तिम सांस्कृतिक अभियानले जनताको मनमा आस, साहस र विद्रोही चेतना जगाउनुपर्छ । यो जागरणले निराशालाई आशामा, डरलाई साहसमा र मौनतालाई प्रतिशोधमा बदल्ने शक्ति राख्छ ।
अन्तत: रक्तिम सांस्कृतिक अभियानले जागरण ल्याउनु केवल आवश्यक मात्र होइन, आज देखिएको राजनीतिक र सांस्कृतिक वितृष्णालाई चिर्न र समाज परिवर्तनको गर्न मुख्य भूमिका अपरिहार्य शर्त हो । जबसम्म अन्याय, शोषण, भ्रष्टाचार आदि जीवित रहन्छ, तबसम्म जागरणको मसाललाई निभ्न दिनुहुँदैन ।
२०८३ जेठ १६ गते शनिबार राष्ट्रिय नाचघरमा रक्तिम फेरि उठ्नुपर्छ । जनताको आवाज फेरि गुञ्जिनुपर्छ र समाजमा चेतनाको नयाँ बिहानी ल्याउनुपर्छ ।