वासिङटन । इरानमाथि सैन्य हमलामा ५० हजारभन्दा बढी अमेरिकी सैनिक संलग्न भएका थिए । पेन्टागनका एक वरिष्ठ अधिकारीले शुक्रबार सो जानकारी दिएका हुन् ।
पेन्टागनका प्रेस सचिव किङ्ग्स्ली विल्सनले भने– ‘यी बलले हवाई र समुद्री क्षेत्रमा नियन्त्रण स्थापना गरेका छन् र हजारौँ चिह्नित इरानी लक्ष्यमा आक्रमण गरेका छन्, जसले सञ्चालनात्मक प्रभुत्व देखाउँछ ।’
अमेरिकी सेन्ट्रल कमान्डले बिहीबार लगभग छ हजार लक्ष्यमा हमला गरिएको, ६० भन्दा बढी जहाज र ३० मिनेलयर नष्ट भएको जानकारी दिएको छ ।
यस अपरेसनमा प्रयोग हुने हतियारमा लडाकु जहाज, ड्रोन, मिसाइल रक्षाप्रणाली, युद्धपोत, ड्रोन विरुद्धका उपकरण, इन्धन आपूर्ति गर्ने विमान र कार्गो विमान समावेश छन् ।
पेन्टागनले अर्को विवरणअनुसार, ट्रिपोली नामक एक उभयचर हमला जहाज र लगभग दुई हजार पाँच सय मरिनलाई मध्यपूर्वमा तैनाथ गरिरहेको छ ।
सेन्ट्रल कमान्डले शुक्रबार पश्चिम इराकमा बिहीबार दुर्घटनाग्रस्त भएको अमेरिकी इन्धन आपूर्ति विमानमा रहेका सबै छ चालक दलका सदस्यको मृत्यु भएको पुष्टि गरेको छ । यसले अमेरिकी–इजरायली इरानमाथि फेब्रुअरी २८ देखि सुरु गरेका आक्रमणमा मृत्यु हुने अमेरिकी सैनिकको सङ्ख्या कम्तीमा १३ पुगेको जनाएको छ ।
इरानका संयुक्त राष्ट्रस्थित स्थायी प्रतिनिधि अमिर सइद इरावानीका अनुसार हमलामा एक हजार तीन सयभन्दा बढी नागरिकको मृत्यु भएको र नौ हजार छ सय ६९ नागरिकस्थल नष्ट भएका छन् । (रासस/सिन्ह्वा)