दुबई । अमेरिका–इरान आणविक वार्तामा तनाव बढिरहेका बेला इजरायलले शनिबार इरानको राजधानी तेहरानमा आक्रमण गरेको छ ।
सहरको केन्द्र भागबाट धुवाँका बाक्लो बादल उठेको देखिएको छ भने आक्रमण सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कार्यालयनजिकै केन्द्रित भएको जनाइएको छ ।
८६ वर्षीय खामेनी आक्रमणका बेला कार्यालयभित्र थिए कि थिएनन् भन्ने स्पष्ट हुन सकेको छैन । अमेरिकासँगको बढ्दो तनावका कारण उनी केही दिनयता सार्वजनिक रूपमा देखिएका थिएनन् ।
यसैबीच, अमेरिकाले इरानलाई आणविक कार्यक्रमबारे सम्झौतामा ल्याउन दबाब बढाउँदै क्षेत्रमा लडाकु जेट र युद्धपोत तैनाथ गरेको छ ।
इरानले तत्काल प्रत्याक्रमण गर्नेबारे स्पष्ट जानकारी दिएको छैन तर क्षेत्रभर फैलिएका अमेरिकी सैन्य अड्डा र कर्मचारी कुनै पनि जबाफी कारबाहीको लक्ष्य बन्न सक्ने चेतावनी दिएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमण धम्की हटाउने उद्देश्यले गरिएको बताए यद्यपि विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
तेहरानका प्रत्यक्षदर्शीले खामेनीको कार्यालय आसपास पहिलो विस्फोटको आवाज सुनेको बताएका छन् । इरानी राज्य टेलिभिजनले विस्फोटको पुष्टि गरे पनि कारण खुलाएको छैन । त्यही समयमा इजरायलभर साइरन बजाइएको थियो । इजरायली सेनाले सम्भावित क्षेप्यास्त्र प्रहारको तयारीस्वरूप जनतालाई सतर्क रहन आग्रह गरेको जनाएको छ ।
इजरायलले थप आक्रमण भइरहेको दाबी गरेपछि तेहरानमा थप विस्फोटका आवाज सुनिएको रिपोर्ट आएको छ । हालसम्म हताहतबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन । आक्रमणपछि इरानले आफ्नो हवाईक्षेत्र बन्द गरेको छ र पाइलटलाई विशेष चेतावनी जारी गरेको छ ।
अमेरिकी सेनाले घटनाबारे तत्काल टिप्पणी गर्न अस्वीकार गरेको छ । घटनाले मध्यपूर्वमा नयाँ सैन्य टकरावको जोखिम बढाएको विश्लेषण गरिएको छ । (रासस/एपी)