इ्रस्लामावाद । अफगानिस्तानको पाकिस्तानी आक्रमणलाई अमेरिकाले समर्थन गरेको छ ।
अमेरिकाले तालिबान आक्रमण विरुद्ध आफ्नो रक्षा गर्ने पाकिस्तानको अधिकार भन्दै समर्थन जनाएको हो ।
अमेरिकाको यस्तो कदमले सीमाक्षेत्रमा बढ्दो सैन्य तनावलाई नयाँ कूटनीतिक आयाम थपिदिएको बताइँदैछ ।
पाकिस्तानले बिहीबार राति सीमापारबाट भएको आक्रमणको जबाफमा शुक्रबार बिहान अफगानिस्तानभित्र हवाई आक्रमण सुरु गरेको थियो ।
पाकिस्तानका सूचनामन्त्रीका अनुसार अपरेसन सुरु भएयता ३७ स्थानलाई हवाई लक्ष्य बनाइएको छ । प्रधानमन्त्रीका प्रवक्ता मुशर्रफ जैदीले आक्रमणप्रति तत्काल र प्रभावकारी प्रतिक्रिया जारी रहेको बताए । रातभर थप आक्रमण भएको विषयमा स्पष्ट पुष्टि नभए पनि कारबाही जारी रहेको सङ्केत अधिकारीले दिएका छन् ।
अमेरिकी राजनीतिक मामिलाकी उपविदेशमन्त्री एलिसन हुकरले आफ्नो पाकिस्तानी समकक्षीसँगको वार्तापछि सामाजिक सञ्जालमार्फत पाकिस्तानको आत्मरक्षाको अधिकारप्रति समर्थन गरेका हुन् ।
यसैबिच तालिबान सरकारले आतङ्कवादीलाई शरण दिएको आरोप अस्वीकार गर्दै द्वन्द्व समाधानका लागि वार्ताको आह्वान गरेको छ ।
तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार अफगान सेनाले ५५ पाकिस्तानी सैनिक मारेको र अन्यलाई पक्राउ गरेको छ भने १३ अफगान सैनिकको मृत्यु भएको छ । पाकिस्तानको तर्फबाट दुई सय ९७ अफगान तालिबान लडाकु मारिएको दाबी गरिएको छ ।
यसअघि इस्लामाबादले आफ्ना १२ सैनिक मारिएको जनाएको थियो । अफगान उपप्रवक्ता हमदुल्ला फित्रतले खोस्त र पक्तिका प्रान्तमा कम्तीमा १९ सर्वसाधारण मारिएको बताए । दुवै पक्षका दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् ।
विश्लेषकका अनुसार यसपटक पाकिस्तानले पहिलोपटक अफगान सरकारी संरचनामै हवाई आक्रमण केन्द्रित गरेको देखिएको छ, जुन अघिल्ला कारबाहीभन्दा कडा परिवर्तन हो । दुई देशबीचको सम्बन्ध पछिल्ला महिनामा तीव्र रूपमा बिग्रिएको छ । अक्टोबरको झडपमा ७० भन्दा बढीको ज्यान गएपछि सीमानाका प्राय: बन्द अवस्थामा छन् ।
इस्लामाबादले तहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) जस्ता समूहलाई नियन्त्रण गर्न काबुल असफल भएको आरोप लगाउँदै आएको छ, जसलाई तालिबानले अस्वीकार गरेको छ ।
जैदीले सीमाक्षेत्रमा राति ठुलो झडप नभए पनि खोस्तनजिकै पाकिस्तानी चौकीमा आक्रमण भएको जानकारी दिए ।
तनाव बढेसँगै चीन, बेलायत, संयुक्त राष्ट्र सङ्घ, रेडक्रस, इरान, साउदी अरेबिया र कतारले संयमता र वार्तामा फर्कन आह्वान गरेका छन् ।
जेनेभामा रेडक्रस प्रमुख मिर्जाना स्पोल्जारिकले मानवीय सहायता तयारी अवस्थामा रहेको तर दीर्घकालीन समाधानका लागि राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताउनुभएको छ ।
गत वर्ष कतार र टर्कीको मध्यस्थतामा भएको युद्धविराम दीर्घकालीन शान्तिमा परिणत हुन सकेको थिएन । हालको घटनाक्रमले दुई छिमेकीबिचको अविश्वास अझ गहिरिएको छ । (रासस/एएफपी)





