जेनेभा । मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबिच तेहरानको आणविक कार्यक्रमबारे भएको पछिल्लो अप्रत्यक्ष वार्ता कुनै ठोस सम्झौताविना समाप्त भएको छ ।
जेनेभामा बिहीबार घण्टौँ चलेको संवादपछि दुवै पक्ष बाहिरिए पनि तनाव घट्ने सङ्केत स्पष्ट देखिएको छैन ।
वार्ताको मध्यस्थता गरिरहेका ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले उल्लेखनीय प्रगति भएको बताए तर कुनै ठोस सहमति सार्वजनिक भएन ।
वार्ता अन्त्य हुनुअघि इरानी राज्य टेलिभिजनले तेहरान युरेनियम संवर्धन जारी राख्न प्रतिबद्ध रहेको, संवर्धित सामग्री विदेश पठाउने प्रस्ताव अस्वीकार गरेको र अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाइनुपर्ने अडान दोहोर्याएको थियो ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को मुख्यालय भियनामा प्राविधिक तहका वार्ता अर्को हप्ता जारी रहने अल–बुसाइदीले जानकारी दिए । सम्भावित कुनै पनि सहमतिमा आइएइएको भूमिका निर्णायक हुने अपेक्षा गरिएको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी पक्षसँगको संवादलाई सबैभन्दा गहन र लामो चरणको वार्ता बताए । उनले इन्डिया टुडेसँगको अन्तर्वार्तामा सम्भावित युद्ध विनाशकारी हुने चेतावनी दिँदै अमेरिकाले आक्रमण गरे क्षेत्रभर फैलिने जोखिम औँल्याए ।
इरानले अमेरिकी सैन्य अड्डा र इजरायललाई समेत सम्भावित लक्ष्य मान्ने चेतावनी दिँदै आएको छ ।
इन्टरनेसनल क्राइसिस ग्रुपका विश्लेषक अली वेजले वार्तापछि अमेरिकी टोली तुरुन्तै नहट्नु सकारात्मक सङ्केत भएको टिप्पणी गरे । उनका अनुसार दुवै पक्षबिच अझै केही साझा आधार बाँकी रहेको देखिन्छ ।
गत वर्ष इजरायलले इरान विरुद्ध १२ दिने युद्ध सुरु गरेपछि र अमेरिकाले इरानका आणविक साइटमा आक्रमण गरेपछि रोकिएको वार्ता यसपटक पुन: सुरु भएको थियो । करिब तीन घण्टा चलेको छलफलपछि छोटो विराम लिएर पुन: बैठक बसेको थियो । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले आणविक मुद्दा र प्रतिबन्ध राहतमा रचनात्मक प्रस्ताव राखिएको बताए ।
यदि वार्ता पूर्ण रूपमा असफल भयो भने सम्भावित सैन्य कारबाहीको आकार र उद्देश्य अस्पष्ट छ । सीमित आक्रमणले इरानलाई झुकाउने कि दीर्घकालीन युद्धतर्फ धकेल्ने भन्ने अन्योल कायमै छ । यस्तो कदमले पर्सियन खाडी र इजरायलसम्म तनाव फैलिन सक्ने आकलन गरिएको छ ।
तनावकै कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । बेन्चमार्क ब्रेन्ट क्रुड प्रतिब्यारेल करिब ७० डलरमा कारोबार भइरहेको छ ।
इरानले अघिल्लो चरणको तनावका बेला होर्मुज जलडमरुमध्यमा अस्थायी अवरोध सिर्जना गरेको जनाएको थियो । होर्मुज जलडमरुमध्यबाट विश्वको झन्डै पाँचौँ भाग व्यापारिक तेल आपूर्ति हुने गर्छ । (रासस/एपी)