नयाँदिल्ली । भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब निर्णायक मोडमा पुगेको दाबी गरेको छ ।
एक वरिष्ठ माओवादी गुरिल्ला कमान्डरले आत्मसमर्पण गरेपछि केन्द्र र प्रभावित राज्यले विद्रोह अन्त्यतर्फको अन्तिम चरण सुरु भएको बताएका हुन् ।
सरकारी अधिकारीका अनुसार छत्तिसगढमा वर्षौंदेखि सक्रिय देवजी भनेर पनि चिनिने माओवादी कमान्डर थिप्पिरी तिरुपतिले आत्मसमर्पण गरेका छन् । उनको आत्मसमर्पणलाई सुरक्षाकर्मीले विद्रोही संरचनामा ठुलो धक्का ठानेका छन् ।
छत्तिसगढका उपमुख्यमन्त्री विजय शर्माले आइतबार राति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा ‘यो अन्तिम चरण हो’ भन्दै यसलाई सशस्त्र नक्सलवादको पूर्ण उन्मूलनतर्फको शक्तिशाली कदम बताए ।
सरकारी तथ्याङ्कअनुसार सन् २०२४ यता ५०० भन्दा बढी माओवादी विद्रोही मारिएका छन्, जसमा केही शीर्ष कमान्डर पनि परेका छन् ।
आत्मसमर्पण र सुरक्षात्मक कारबाहीलाई तीव्र पार्दै सरकारले मार्च ३१ भित्र विद्रोह अन्त्य गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।
गृहमन्त्री अमित शाहले शनिबारको एक सम्बोधनमा भारत मार्च ३१ सम्म माओवाद अन्त्य गर्न तयार रहेको बताएका थिए । (रासस/एएफपी)