लक्ष्मण बेल्बासे
समाजमा जबर्जस्ती भनौँ या घुमाउरो पाराले, सिंहदरबार जलाउनु सही थियो भन्ने कुरालाई स्वीकार्य बनाउन एकथरी लागिपरेका छन् । अर्कोथरी, जो जलाउनका लागि अगुवाइ गरिरहेका थिए, उनीहरू पनि भन्दैछन्– यो सही थियो । अर्को एकथरी पनि छन्– हिँजो सबै राम्रै थियो । यी दुवै अतिवादको बिचमा समाजमा अर्को एउटा भाष्य निर्माण गरिएको छ : यो देशमा जेनजीबाहेक कोही छैन । उनीहरूनै सबथोक हुन् र अरू पुस्ताको कुनै औचित्य नै छैन मानौँ, अरू पुस्ता सबै खराब छन् । अरूलाई गुणदोषको आधारमा मूल्याङ्कन गर्न तयार नै छैन । हाम्रो दिमाग यसरी सेट गर्न खोजिँदैछ, अरू सबै खराब थिए ।
कसैका राम्रा कामको जस दिन पनि हामी मान्दैनौँ किनभने हामीलाई स्थापित गर्नुछ– पुराना भनिनेहरू सबै खराब थिए । सिंहदरबार जलाउनुअघि यहाँ राम्रै राम्रो थियो । यो पनि मेरो मत होइन । थुप्रै बेथिती पक्कै थिए । यसकै विरुद्ध इमानदार जेनजीहरू शान्तिपूर्ण आन्दोलनमा उत्रिएका थिए ।
हामीले बुझ्नुपर्ने अरू कुरा पनि छन् । नेपाल सदियौँदेखि यही अवस्थामा पक्कै थिएन । यहाँ थुप्रै नेपालीको रगतपसिना पोखिएको छ । पृथ्वीनारायण शाह, बहादुर शाहलगायतको तत्कालीन अवस्थाको एकीकरण अभियान पक्कै पनि सहज थिएन, जसले एउटा सिङ्गो नेपाल दियो । सबैका राज्य खोसिँदै गर्दा त्यति बेला पनि थुप्रै विद्रोहका आवाज पक्कै पनि उठे होलान् । कतिका संस्कार–संस्कृतिमा आघात पुगे होला । कतिका भाषा, चालचलनमा अतिक्रमण भए होलान् । ती सप्पै आवाजलाई व्यवस्थापन गर्दै यो सिङ्गो नेपाल तपाईं–हामीलाई छोडेर जानु कम्ती चुनौतीपूर्ण त थिएन होला । त्यसैले त पृथ्वीनारायण शाहले पनि स्वीकार्नुपरेको होला– यो देश चार जात छत्तिस वर्ण सबैको साझा फूलबारी हो । आउँदो पुस्तालाई सिङ्गो नेपाल छोडेर जानलाई भीमसेन थापा, बलभद्र्र, अमरसिंह, भक्ति थापालाई पनि कम्ती गाह्र्रो त पक्कै भएन होला । कतिपय अवस्थामा हिँजोको नेपाल दिन पनि सकेनन् ।
सहादतलाई पहिल्यै स्वीकारेर आफूभन्दा बलियो शक्तिसँग जुध्न तयार हुनु कत्तिको उपयुक्त थियो ? त्यो छुट्टै बहसको विषय हुन सक्छ तर पनि यो देशको सीमा सुरक्षा गर्नु पनि पूजनीय कार्य नै थियो । यसरी हरेक पुस्ताले यो देश निर्माणमा आफ्नै प्रकारका योगदान दिएका छन् ।
हाम्रोजस्तो भूराजनीतिक जटिलतामा बसेको भूगोल त्यसै पनि व्यवस्थापन कार्य जटिल नै छ । यति हुँदाहुँदै पनि धेरको बुझाइ ‘हाम्रा बाले किन ठुलो घर नबनाएको होला’ भन्नेजस्तो पनि छ । यो देशमा जे जे भए, समय सँगसँगै समयले नै गरायो । अहिलेको बुझाइ त्यस्तो पनि पाइन्छ । हिँजोको नेतृत्वले केही गर्न सकेन, केही गरेन । अरू देश कहाँ पुगे त्त् हामी पछाडि पर्यौँ । यो केही मानेमा सत्य हो तर पूर्ण सत्य भने पक्कै हैन ।
विश्वमा भएका परिवर्तन र विकाससँगै यहाँ पनि जबर्जस्त भए भन्ने मत पनि छ । त्यो पनि पूर्ण सत्य होइन । त्यसो हुँदो हो त सामान्य कुरा पूर्वपश्चिम बाटो बनाउन सहयोगको याचना गर्दै महेन्द्रलाई रसिया पुग्नुपर्थेन होला । उद्योगको स्थापनाका लागि रसिया र चाइनाको अगाडि हात फैलाउनु पर्दैनथ्यो होला । सबै कुरा सहजै हुने भए संयुक्त राष्ट्र सङ्घमा आफ्नै देश मेरो हो भनेर पुष्टि गर्न अमेरिकाले साक्षी बस्नुपर्थेन होला । आफ्नै देशभित्र आफैले बाटो बनाउँदा नाकाबन्दी झेल्नुपर्ने हाम्रो भूराजनीतिक अवस्था हो ।
अहिलेको पुस्ताले फेरि पनि बुझ्नुपर्दछ । हामी कति स्वाधीन छौँ । वास्तविकतामा ओर्लिएर हेर्नुहोस् । हाम्रा खोलामा हाम्रै खुसीअनुसार बिजुलीसम्म उत्पादन गर्न स्वतन्त्र छैनौँ हामी । हाम्रै जमिनमा जनतन निर्माण गरेका एयरपोर्टबाट हाम्रो चाहनाअनुसार जहाज उडाउन स्वतन्त्र छैनौँ हामी । चाइना जोड्ने बाटो बनाउँदा नाकाबन्दी झेलेका हाम्रा इतिहास छन् ।
विश्व मानचित्रमा सानो देखिए त पनि विभिधताबिचको एकताले बाँचेको देश हो हाम्रो देश । भिन्न भिन्न जाति, भाषा, धर्म भएको ठाउँ हो यो । यहाँका शासक हिटलर बनेन । यो देशलाई इथियोपिया र सुडान हुनबाट बचाएर ल्याएकै हुन् । यसरी सबै कुरा आफै भएका हुँदै होइनन् । यो सबै धेरैको योगदानले मात्रै हुने गर्दछ ।
भारतलगायत अन्य देशमा प्रजातन्त्र आउँदा आफै नेपालमा प्रजातन्त्र आएको हैन । अहिलेको यही नेतृत्वको त्याग र बलिदानले आएको हो । अहिलेको पुस्ताले यति धेरै अधिकारको प्रयोग गर्ने वातावरण यही नेतृत्वले बनाएको हो । यसो भन्दै गर्दा विगतमा कमजोरी नै भएनन्, सबै ठिकै भए भन्ने पनि होइन । विगतका कमजोरीबाट सिक्ने हो गल्ती दोहोर्याउनबाट जोगिने हो, न कि पुरानाको सत्तोसराप गरेर बस्ने हो । उत्तर खोज्दै गर्दा धेरै सहिद भए तर पनि राम्रो पक्ष प्रश्न सकिएका छैनन् । समाज परिवर्तनको बाटोमै छ । आश्वासनको कमी पनि छैनन् तर पनि आशा मरेको छैन । समाज अहिले पनि जीवन्त छ ।
२०४६ सालमा प्रजातन्त्र आयो । एकथरीको परीक्षा लियो । गणतन्त्र आयो । अर्कोथरीको परीक्षा लियो । सबै जागिरे भए तर तार्किक परिणाम दिन सकेनन् । उत्तीर्ण कोही भएनन् । राम्रो अङ्क कसैले ल्याएनन् । अहिलेको हुँदै गरेको चुनावमा पनि समाजको मनोविज्ञान हेर्दा लाग्छ, अरू कसैको परीक्षा लिन खोज्दैछ ।
जनता शिक्षक हो । तिनको पहिलो काम इमानदार भएर सिकाउने हो अनि मात्र परीक्षा लिने हो र उत्तरपुस्तिका जाँच्ने हो । हरेकपटक पात्र बदलेर मात्र सिकाइ पुग्दैन, त्यो त सिकाइभन्दा सजाय बढी हुन जान्छ । परिणाम नतिजा सधैँ नकारात्मक नै आउनेछ ।
हामी अहिले पनि पुरानै ढर्राको अनुसरण गर्दैछौँ । कोही आउँछ, पाँच दिनमा भ्रष्टाचारको अन्त्य गरिदिन्छु । कोही आउँछ, पाँच वर्षमा देश सिङ्गापुर बनाइदिन्छु भन्छ । हामी भाषण र घोषणापत्र हेरेर मख्ख पर्छौं । नयाँ अनुहार नयाँ भाषण फेरि पनि मुर्ख बन्ने लाइनमा उभिन्छौँ ।
पहिला आफैलाई हेरौँ, हामी कस्तो छौँ ? हामीले हाम्रो समाज कस्तो बनाएका छौँ । हाम्रो देशको आर्थिक अवस्था कस्तो छ ? हाम्रो भूराजनीतिक अवस्था कस्तो छ ? हाम्रो प्रकितिक स्रोतसाधन कति र कस्तो अवस्था छ ? यसको उपयोग कति र कसरी सम्भव छ ? अन्त्यमा राष्ट्र समृद्ध हुने आधार के हुन् ? अब बल्ल कुरा गरौँ । हामी समृद्ध हुने रोडम्याप के हो ? अब सङ्क्षिप्तमा उत्तर खोजौँ ।
हामी कस्तो छौँ ? हाम्रो राष्ट्रभक्तिमा खिया लागेको छ । हामीले आफैलाई विश्वास गर्न छोडिसकेका छौँ । अमेरिकाले भिसा दिए जहाजको पखेटामा बसेर भए पनि अमेरिका पुग्न तयार हुने ९० प्रतिशत तयार छौँ । यसको मतलब यो माटोलाई मनैदेखि माया गर्दैनौँ ।
हाम्रो समाज कस्तो छ ? बिसौँ हजार बिचौलियालाई दिएर घरमा गाडीको लाइसेन्स कुरेर बस्नेले भ्रष्ट सरकार भनेर फेसबुक भरिदिन्छौँ । महिनाको ३० देखि ४० हजार तलब दिएर काठमाडौँमा बस्ने कर्मचारी सदाचारी खोज्छौँ, जहाँ एउटै फ्ल्याटको २० देखि ३० हजार हुने गर्दछ । बच्चाको फी, खाना अलग्गै विषय भयो ।
हाम्रो चलन यस्तै भएको छ । मामाको छोरो भन्सारमा खरिदार भएर त जहाँ गयो, त्यही बङ्गला बनाएको छ । यो त हाकिम भएर पनि अहिलेसम्म भाडामा बसेको छ । बोर्डिङ पनि सस्तो खोजेर पढाएको छ । असाध्य सोझो यसको केही काम छैन । यस्ताले के जागिर खानू भन्दै आफ्नै भाइबहिनीलाई खिसिट्युरी गर्छौं । यो हाम्रो संस्कार भइसकेको छ । विदेश जानेलाई महान् भन्छौँ । यही बसेर यो देशलाई माया गर्दै जिउन सङ्घर्ष गरिरहेकालाई हतोत्साही बनाउँछौँ । श्रीमती छोड्न नसक्ने नालायक ठान्छौँ । यहाँ बसेर केही हुँदैन भनेर निराशा बाँड्दै बुज्रुक बन्ने कोसिस गर्छौ अनि चोकमा बसेर भन्छौँ, यहाँ केही हुँदैन । सहारा खोसियो । छोराछोरी बेचिए । धारे हात लाउँछौँ, सरकारतिर । यति गर्दा धेरैको तुष्टि पूरा हुन्छ ।
यस्ता विचार र धारणाले ल्याउने परिणाम अधोगति नै हो । फर्केर हेर्नुहोस् त केही नभएको पनि त होइन । हिँजो आधा घण्टा लाइन बसेर एक गाग्री पानी ल्याउने हामी आज अधिकांशको घरमा धारा पुगेको छ । बत्ती पुगेको छ । घरअगाडि मात्र नभएर खेतसम्मै बाटो पुगेको छ । घरघरमा नेट पुगेको छ । अरू अवस्था पनि त बदलिएको छ । गाउँका निश्चित मान्छे मात्र विद्यालय जाने ठाउँमा आज सबैका बच्चा ड्रेस लाएर स्कुल पुगेका छन् । हिजो चप्पलका फित्ता टालोले बाँधेर काम चलाउने हामी ब्रान्डेड जुत्तामा सरेका छौँ । हाम्रो जीवनस्तर बदलिएको छैन र ?
समाज पनि बदलिएको छैन र ? छोइछिटो गर्ने हामी आज एउटै टेबल सेयर गरेर खाने ठाउँमा पुगेनौँ र ? गाउँमा एउटा पुलिस पुग्दा गाउँ नै थर्कमान हुने हामी आज अधिकारका लागि पुलिससँगै जबाफदेहिता माग्ने अवस्थामा छैनौँ र ? सबैतिर बदलाव नआएको पक्कै होइन, पर्याप्त मात्र नभएको हो । अब यत्तिमै अरू देशलाई हेरेर निराश बनेर निराशाको खेती गरेर पक्कै पनि सुखद दिन आउने छैनन् । हामी र हाम्रैजस्ता कैयौँ देश जातीय, धार्मिक र क्षेत्रीय द्वन्द्वमा फसेर नारकीय जीवन जिउन पनि त बाध्य छन् ।
यसरी हेर्दा हामीले चिन्तनमा परिवर्तन ल्याउन आवश्यक छ । जागिरे मानसिकतालाई थोरै उद्यमशील बनाउन आवश्यक छ । आश्वासनमा भर परेर होइन, निचोड आफैले निकाल्न आफै सक्षम हुन आवश्यक छ । नीति र नेतृत्व कस्तो ल्याउने अधिकार तपाईं हामीमै निहित छ । आश्वासन र सामाजिक सञ्जालको भरमा धारणा बनाएर नेतृत्वको चयन गर्नु अर्को आत्मघाती निर्णय हुनेछ ।