आगामी फागुन २१ गतेको चुनावका लागि देश यतिखेर चुनावमय बनेको छ । त्यसका साथै यस चुनावसित कैयौँ विशिष्टता पनि जोडिएका छन् । सर्वप्रथम त यो चुनाव जेनजी घटनाको सन्दर्भमा हुन गइरहेको छ । जेनजी घटना आफैमा पहिलो र विरलै घटना हो । जेनजी घटनामा साम्राज्यवादी चलखेलका तथ्य क्रमशः खुल्दै गइरहेका छन् । २०६२–६३ सालको जनआन्दोलनको बलमा गठन भएको लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त पार्न प्रतिगमनकारी चलखेल जारी नै थियो, अब साम्राज्यवादी चलखेल बढेर गएको छ । त्यसै क्रममा जेनजी घटना प्रायोजन गरियो र त्यही घटनाको सन्दर्भमा फागुन २१ गतेको चुनाव हुन गइरहेको छ ।
गत भदौ २३–२४ गतेको जेनजी घटनाले देशमा गम्भीर अनिश्चयताको भुमरीको स्थिति उत्पन्न भएको छ । यसअघि प्रतिगामी शक्तिको चलखेल अहिले पनि यथावत् नै छ । प्रतिगामी तङ्खवले आफ्नो पुनर्स्थापना गर्न चाहिरहेकै छन् । त्यससँगै अमेरिकी साम्राज्यवादले उमेरको विषयलाई दुरुपयोग गरेर जेनजी घटना उठान गर्नमा सफलता प्राप्त गरेको छ । पछिल्लो समयमा जब अमेरिकाले हिन्दप्रसान्त रणनीति अगाडि सार्यो; त्यसको कार्यान्वयनको क्रममा एमसिसी पारित गराउनमा सफलता प्राप्त गर्यो र त्यससँगै एसपिपीसमेत पारित गर्न खोज्यो, त्यसपछि देश गम्भीर अमेरिकी चलखेलमा फसेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले ८० हजारभन्दा बढी युवाविद्यार्थीमाझ युथ काउन्सिलको सदस्यता विस्तार गरेसँगै देशमा राष्ट्रिय स्वतन्त्र पार्टी र जेनजीजस्ता शक्ति सतहमा आएका छन् । चीनलाई घेराबन्दी गर्ने एउटा उपयुक्त भूमिको रूपमा नेपाललाई लिइएसँगै देशमो यो स्थिति देखा परेको हो ।
चीनको विरुद्धमा अमेरिकी रणनीतिको नेपालमा कार्यान्वयनबारे पार्टीगत रूपमा नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा स्पष्ट देखिन्छन् तर अन्य राजनीतिक पार्टीहरू यसबारे सचेत छैनन् । पक्कै पनि ती पार्टीभित्र व्यक्तिगत रूपमा कैयौँ व्यक्तित्व अमेरिकी चलखेलबारे प्रष्ट छन् । फेरि पनि पार्टीगत रूपमा स्पष्टताको अभावमा ती दलले त्यसका विरुद्ध ठोस भूमिका खेल्न सकिरहेका छैनन् । परिणाम यो भएको छ, आज अमेरिकी साम्राज्यवाद सत्तानिकट घुमिरहने पार्टीभित्रै खेल्न थालिरहेको छ । त्यस सन्दर्भमा त्यसको सिकार नेपाली कङ्ग्रेसलगायतका दल भएको शङ्का गर्न सकिन्छ । अहिलेसम्म भारतले नेपालका राजनीतिक दलको माझमा माइक्रो म्यानेजमेन्ट गर्दै आएको सन्दर्भमा अहिले अमेरिकाले त्यही भूमिका खेल्न खोजिरहेको मान्न थालिएको छ ।
सत्तानिकट रहिरहने नेपाली कङ्ग्रेस, नेकपा (एमाले), हाल गठन भएको नेपाली कम्युनिस्ट पार्टी र मधेसवादी राजनीतिक दलहरूले भारतीय र अमेरिकी साम्राज्यवादको पक्षमा काम गर्दै आइरहेका छन् । त्यसका बाबजुद उनीहरू “एक चीन नीति” को सवालमा उनीहरू पूरै विरोधमा जान सकिरहेका छैनन् । यस्तो अवस्थामा उनीहरूलाई “एक चीन नीति” विरुद्ध उभ्याउन अमेरिकाले प्रयास गर्दै आइरहेको छ । त्यसो गर्न सम्भव नभएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वा जेनजीजस्ता विभिन्न विकल्प तयार पार्ने काम अमेरिकाबाट भइरहेको छ । अहिलेसम्मको अभ्यास हेर्दा पुराना राजनीतिक दललाई मुख्यतः भारतले परिचालन गर्दै थप मधेसवादी दललाई परिचालन गर्दै आएकोमा अब त्यो खेलमा अमेरिका थपिएको छ । उसले पनि पुराना दललाई अधिकतम उपयोग गर्ने प्रयत्न गर्दै रास्वपा र जेनजीजस्ता पक्षलाई उपयोग गर्ने प्रयास गरिरहेको छ ।
आगामी फागुन २१ गतेको चुनावमा भारत र अमेरिकी यी दुई स्वार्थको परिणाम अवश्य पनि देखा पर्नेछ तर देशमा राष्ट्रिय जनमोर्चाजस्ता साम्राज्यवाद विरोधी राजनीतिक शक्ति पनि मैदानमा छन् । नेपाली जनताले यस्ता शक्तिका उम्मेदवारलाई पहिचान गर्नुपर्ने बेला आएको छ । इतिहासमै पहिलोपटक अमेरिकी साम्राज्यवादबाट नेपालको राष्ट्रियता गम्भीर खतरामा परिरहेकोमा नेपाली जनताले यो नयाँ परिस्थितिबारे सचेत हुनुपर्ने आवश्यकता छ । यस्तो सतर्कता मतदानमार्फत व्यक्त हुनुपर्दछ ।