काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिव पदका लागि २७ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा तीन महिला र २४ पुरुष रहेका छन् । नयाँ खेलकूद ऐन २०७७ आए पछि पहिलो पटक सदस्यसचिवको चयन दरखास्त आह्वानमार्फत हुन लागेको हो ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक तथा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो । उक्त समितिले एक साताका लागि समय दिएर दरखास्त आह्वान गरेको थियो । आवेदन दिने समय आज सकिएको छ । निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालले पनि सदस्य सचिवका लागि आवेदन दिनुभएको छ । सिलवालले अन्तिमम समयमा आएर बुधबार निवेदन दर्ता गराउनु भएको थियो ।
सदस्य सचिवका लागि आवेदन दिनेमा काठमाडौंका रविराज कर्णिकार, अचुतम लामिछाने, रामेश्वर श्रेष्ठ, सानुराजा केसी, किशोर शाही, रमेशमान डंगोल, ध्रुवराज न्यौपाने, राम पुडासैनी र रणबहादुर चन्द, ललितपुरका रोशन महर्जन, निलमसिंह बज्राचार्य, अच्युत खनाल, अन्जु श्रेष्ठ, सुदिल शाही र सुनिल नकर्मी, पोखराका मनबहादुर गुरुङ र तेजबहादुर गुरुङ, मोरङ्गका विजयकुमार राई, बाजुराका खेमराज अधिकारी, मकवानपुरका दिपेन्द्र ढकाल, चितवनका अनिल अधिकारी, सोलुखुम्बुका हर्कबहादुर राई, सुनसरीकी मिना श्रेष्ठ, डडेल्धुराका शिवराज भट्ट, बाग्लुङ्गका लिलबहादुर थापा, धादिङ्गका रमेशकुमार सिलवाल तथा झापाका मेघराज पौडेल रहेको युवा तथा खेलकूद मन्त्रालयका उपसचिव गणेश पौडेलले जानकारी दिनुभयो ।
आवेदन दिएकामध्येबाट सिफारिस समितिले एक महिलासहित तीन जनाको नाम मन्त्रालयलाई बुझाउने छ भने मन्त्रालयले मन्त्रीपरिषद्लाई सिफारिस गर्नेछ । मन्त्रीपरिषद बैठकले ति तीनजनामध्येबाट एक जनालाई नयाँ सदस्य सचिव नियुक्त गर्नेछ ।
२७ जनाको आवेदन परे पनि यस अघिका सदस्य सचिव रमेश कुमार सिलवालले नै राखेपको बागडोर सम्हाल्ने सम्भावना छ । उहाँ प्रधामन्त्री ओलीका विश्वासपात्र हुन् ।