ढाका । शुक्रबार मध्यबङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पले कम्तीमा छ जनाको ज्यान गएको र दर्जनौँ नागरिक घाइते भएका छन् ।
भूकम्प स्थानीय समयानुसार बिहान १०:३८ बजे ढाकाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा रहेको नरसिङ्गडी जिल्लाको घोरसाल क्षेत्रमा गएको हो ।
राजधानी ढाकाका धेरै भवन भूकम्पको कम्पनले हल्लिएपछि त्रसित बासिन्दा घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएका थिए ।
युएस जियोलोजिकल सर्वे (युएसजिएस) का अनुसार भूकम्पको केन्द्रमुनि करिब १० किलोमिटर (६ माइल) गहिराइमा रहेको थियो ।
ढाकास्थित डिबिसी टेलिभिजनले कम्तीमा छ जनाको मृत्यु भएको पुष्टि गरेको छ । ढाकामा विभिन्न भवनका छाना तथा पर्खाल खस्दा तीन जनाको निधन भएको तथा अर्को तीन जना पैदलयात्री भवनको रेलिङ खस्दा ती संरचनामुनि परेर मृत्यु भएको बताइएको छ ।
भूकम्पविज्ञका अनुसार भारत र युरेसिया प्लेटको सतत् अन्तरक्रियाका कारण बङ्गलादेशको उत्तरी तथा दक्षिणपूर्वी भाग भूकम्पीय रूपमा सक्रिय क्षेत्र मानिन्छ तर देशको मध्यभाग तुलनात्मक रूपमा कम सक्रिय क्षेत्रमा पर्छ । त्यसैले यसपटक आएको कम्पन अझ अप्रत्याशित रूपमा अनुभव गरिएको बताइन्छ ।
बङ्गलादेशी अधिकारीका अनुसार उद्धार तथा क्षति मूल्याङ्कन कार्य निरन्तर जारी छन् । देशभरका नागरिकलाई सतर्क रहन र सम्भावित परकम्पनबारे सचेत रहन अपिल गरिएको छ । (रासस/एपी)