बाँके । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल उद्योगमा विद्युत् सर्ट सर्किटका कारण आगलागी हुँदा आठ जना मजदुर घाइते भएका छन्। घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ।
Advertisement
आइतबार बिहान करिब पौने ६ बजे उद्योगका फलाम पगाल्ने भट्टीमा आगलागी भएको थियो। घाइते आठ जनालाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएकोमा सामान्य उपचारपछि शिवप्रसाद चमार र रामदिन हरिजनलाई लखनउ पठाइएको प्रहरीले जनाएको छ। बाँकी छ जनाको अवस्था सामान्य छ।
तीन वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान सवा ८ बजे आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





