काठमाडौँ । तेलअविवस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै विपिनकी आमाले भनिन्, ‘म मेरो छोरोलाई लिन आएकी हुँ ।
मेरो छोरालाई मुक्त गराएर हामीसँगै घर पठाइदिनुस् भन्दै गुहार गरेकी हुन् ।’
प्यालेटिनी लडाकु समूह हमासले नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका छन्।
इजरायल सरकारले विपिनको रिहाइका लागि संयुक्त राष्ट्रसंघसम्म लैजाने तयारी गर्दै पद्मा र पुष्पालाई तेलअविवस्थित विमानस्थलमा स्वागत गरेको छ।
विपिनको आमा पद्माले ‘मेरो छोरो विपिनलाई लिन आएकी हुँ’ भन्दै सहयोगको अपिल गरेकी छन् र बहिनी पुष्पाले दाजुलाई विनासित्ती नराख्न आग्रह गरेकी छन्।
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजाने गरी इजरायल सरकारले बोलाएपछि उनीहरु सोमबार इजरायल प्रस्थान गरेका थिए ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासी घर भएका विपिन जोशी कृषि विषयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’का लागि इजरायल गएका थिए । हमासले ७ अक्टोबर २०२३ मा इजरायलको किबुजमा आक्रमण गरेदेखि विपिन सम्पर्कमा छैनन् । सोही घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने हमास लडाकुले विपिनसहित २५१ जनालाई बन्धक बनाएका थिए । युद्धविरामको क्रममा कतिपयलाई हमासले मुक्त गरे पनि विपिन मुक्त भएका छैनन् । नेपाल सरकारले उनको रिहाइका लागि कूटनीतिक पहल बढाए पनि विपिनको अवस्था अझै अज्ञात छ ।