काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी विधानको व्यवस्थाअनुसार कार्यसमितिको बढीमा ५० प्रतिशतसम्म हुने गरी वैकल्पिक सदस्यहरू बनाउन सकिने प्रावधान हटाएको छ । यसरी अब सो पार्टीका समितिहरुमा असिमित वैकल्पिक सदस्यहरु तय गर्न सकिने छन । कुनै पनि स्तरको समितिमा वैकल्पिक सदस्य थप गर्नुपर्दा सो समिति भन्दा तल्ला समितिहरुले सिफारिस गर्नुपर्ने सर्त रहेको बताइएको छ ।
हालै सम्पन्न स्थायी कमिटी बैठकको निर्णय पार्टी पंक्तिलाई परिपत्र जारी गर्दै यसबारे जानकारी गराएको छ । परिपत्रमा भनिएको छ, ‘पार्टी एकता र समायोजन पछिको सन्तुलन मिलाउने क्रममा केही वैकल्पिक सदस्यहरू थप्नुपर्ने भएकाले आगामी केन्द्रीय समितिको बैठक र विधान अधिवेशनप्रति जबाफदेही हुने गरी उक्त प्रतिशतमा थपघट गर्न सकिने निर्णय गरिएको छ ।’
‘वैकल्पिक सदस्य थप गर्नुपर्दा प्रदेश समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने छ ।’ यसअघि माओवादीले केन्द्रीय सदस्य पनि जति पनि बनाउन सक्ने निर्णय गरेको थियो ।