बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । तर प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले मन्त्री पदबाट राजीनामा दिएका छन् ।
बागमती प्रदेश कांग्रेस संसदीय दलबाट आफू विरुद्धको अविश्वास प्रस्ताव मतविभाजनबाट बहुमतले पारित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामाले दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुनपर्ने र नदिने बताए ।
“संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने छैन,” उनले भने, “सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो । मुख्यमन्त्री हुनलाई दलको नेता नै चाहिँदैन, त्यसैले पार्टीको संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट हटाउनुपर्ने कुनै कारण छैन ।” आफूविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि दलको नेता रिक्त भएकाले नेता चयन प्रक्रिया अब सुरु हुने उनले बताए ।
उता खड्काले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई आज उहाँले राजीनामा बुझाएका छन् ।
कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता तथा मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेका बेला मन्त्री खड्काले पदबाट राजीनामा दिएका छन् ।
यसअघि गत शुक्रबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका थिए । सोही दिन मुख्यमन्त्री लामाले चारै मन्त्रीलाई पदमुक्त गरेका थिए ।