काठमाडौँ । राष्ट्रियसभा सांसद तुलप्रसाद विश्वकर्मा (राजेश) ले सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिताकरको असरले सुनको व्यापार सिमानापारि मौलाउने र सिमानावारि सुक्ने बताउनुभएको छ । २०८२ साउन ६ गते मङ्गलबार राष्ट्रियसभाको विशेष समयमा उहाँले सो धारणा राख्नुभएको हो ।
‘सरकारले सुनमा लगाइएको दुई प्रतिशत विलासिता शुल्कको प्रत्यक्ष असर नेपाली जनतामा परिरहेको छ’ सुन कारोबारीले चलाएको आन्दोलनको सन्दर्भमा बोल्दै विश्वकर्माले भन्नुभयो– ‘विलासिताकरको असर सम्पूर्ण नेपाली जनतामा पुगेको छ । भारतमा भन्दा नेपालमा सुनको मूल्यवृद्धि भएको छ । यसले सुनको व्यापार सिमानापारि मौलाएर जाने र सीमावारि सुक्दै जाने भएको छ ।’ सांसद विश्वकर्माले तत्काल सुनमा लगाइएको विलासिताकर हटाउनुपर्नेमा जोड दिनुभयो ।
‘रसुवा जिल्लामा हालै गएको भीषण बाढी, त्यसले पुर्याएको क्षति र त्यसैको परिणाम आज मधेसमा सुख्खा परिहेको छ’ सांसद विश्वकर्माले भन्नुभयो– ‘आज मधेसी जनताले खानेपानीसमेत पाइरहेका छैनन् । पानीको सतह आज १५० देखि २०० फिट तल पुगेको छ । जनताले पानी दमकलमा बोकाएर खानुपरिरहेको छ ।’ जलवायु परिवर्तको असर हिमाल र तराईमा एकैचोटी देखिएको विश्वकर्माको भनाइ थियो ।
‘जलवायु परिवर्तनको असर मध्यपहाडी भाग एवम् नदीकिनारका जनताले पनि भोगिरहेका छन् । यसप्रति सरकारको ध्यान जाओस् र दिर्घकालीन योजना बनाएर काम थालियोस्’ उहाँले भन्नुभयो– ‘व्यापक चुरेदोहनको असर आज प्रत्यक्षतः मधेसमा देखिन थालेको छ ।’
‘पोखराको सरकारी १३५ रोपनी जग्गा हिनामिना गर्ने सामान्य प्रशासनमन्त्री राजकुमार यादवले राजीनामा दिइसक्नुभएको छ । उहाँका तमाम प्रकारका प्रमाण बाहिर आएका छन् । सरकारले त्यस्तो अपराध गर्ने व्यक्तिलाई राजीनामामै चित्त बुझाएको छ । सजायको भागिदार हुनुपर्छ कि पर्दैन ? म सरकारलाई प्रश्न गर्न चाहन्छु’ सांसद विश्वकर्माले अगाडि भन्नभयो– ‘त्यसैगरी त्यसै मुद्दासँग भूमिव्यवस्था मन्त्री बलराम अधिकारीको नाम जोडिएर आएको छ । उहाँले राजीनामा पनि दिनुभएको छैन र उहाँको बारेमा सरकारले कुनै धारणा बाहिर ल्याएको छैन । सरकारलाई म प्रश्न गर्न चाहन्छु, बलराम अधिकारीलाई सुनपानी छर्किएर चोखाइए कै हो ?’
आजको एक्काइसौँ शताब्दीमा पनि छाउप्रथा जस्तो कुरीति हाम्रो समाजमा जीवित रहनु हामी सचेत नेपालीका लागि लाजमर्दो विषय भएको सांसद विश्वकर्माको धारणा थियो ।