काठमाडौँ । छ महिला सङ्गठनले महिला हिंसाको विरुद्धमा दबाबमूलक कार्यक्रम गर्नुका साथै गृहमन्त्रीलाई ज्ञापन दिने भएका छन् ।
२०८२ असार ३२ गते बुधबार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले महिलामाथि भइरहेका हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराध र महिला हकको पक्षमा बनेका कानुनको प्रभावकारी कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम गर्दै गृहमन्त्रीलाई ज्ञापन दिने पहिलो निर्णय गरेको छ ।
त्यस्तै दोस्रो निर्णयको रूपमा निर्वाचन आयोगले मस्यौदा गरेको एकीकृत निर्वाचन विधेयक तुरुन्त संसद्मा टेबल गर्न उनीहरूले सरकारलाई दबाब दिने भएका छन् ।
एवम् प्रकारले तेस्रो निर्णयको रूपमा प्रतिनिधिसभा र राष्ट्रियसभाको सांसद नियमावलीमा व्यवस्था भएको महिला समन्वय समिति तुरुन्त गठन गर्न सरकारको ध्यानाकर्षण गराइने भएको छ ।
बैठकमा अखिल नेपाल महिला सङ्घकी मीना पुन, अखिल नेपाल महिला सङ्घकी कार्यवाहक अध्यक्ष मेनुका पोखरेल, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष अमृता थापा, अखिल नेपाल महिला सङ्घ (समाजवादी) की अध्यक्ष मुनु सिग्देल र अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी उपाध्यक्ष धीरेन्द्र सीको उपस्थिति रहेको थियो ।