काठमाडौँ । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले अहिले कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेका बेला रणनीति र कार्यनीति सही हुनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीको काठमाडौँ जिल्ला समितिद्वारा २०८२ असार ३१ गते मङ्गलबार संवाद डबलीमा आयोजित अन्तरक्रियामा मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।
‘अहिले हामी चौतर्फी सङ्घर्षको बिचमा छौँ किनकि अहिले विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ’ उहाँले भन्नुभयो– ‘यस्तो अवस्थामा कम्युनिस्ट रणनीति र कार्यनीति सही हुनुपर्दछ ।’
नेपालको कम्युनिस्ट आन्दोलन यतिखेर टुटफुट र विभाजनको माझबाट गुज्रिरहेको बताउँदै उहाँले राष्ट्रियताको विषयमा भने सहकार्य गरेर जान सकिने अवस्था रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हामीमाझ रणनीति र कार्यनीतिको माझमा थुप्रै मतभिन्नता छन् तर राष्ट्रियताको सवालमा हामीसित साझा धारणा छन् । त्यसैले यस विषयमा हामी सहकार्य गर्न सक्छौँ ।’
प्रवक्ता पुरीले कार्यनीतिक विषयमा भएको मतभेदका कारणले नेपालका कम्युनिस्टमाझ सहकार्य हुन नसकेको बताउनुभयो ।
त्यस्तै, उहाँले रणनीतिको विषयमा पनि साझा धारणा नभएको प्रसङ्ग अगाडि सार्नुभयो ।
‘हामीमाझ रणनीतिको विषयमा पनि सहमति छैन त’ उहाँले भन्नुभयो– ‘कोही साथीहरू नयाँ जनवाद भन्नुहुन्छ । कोही साथीहरू नयाँ जनवाद पूरा भयो, अब समाजवादतर्फ जानुपर्छ भन्नुहुन्छ । कसैले एकीकृत क्रान्तिको कुरा गर्नुहुन्छ ।’
उहाँले रणनीति र कार्यनीतिको विषयमा भएको मतभदेका कारणले सहकार्यमा समस्या रहेको बताउनुभयो ।

‘तैपनि छलफल चलाउँदै जानुपर्दछ । राष्ट्रियतासहित अन्य विषयमा साझा धारणा कायम हुन सके सहकार्य गर्न सकिन्छ’ पुरीले भन्नुभयो ।
आयोजक पार्टीका कार्यवाहक महासचिव सिपी गजुरेल प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी, अर्का नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष शम्भु कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य राजकुमार हिङ्माङ र नेकपा (विप्लव) का केन्द्रीय सदस्य चिरञ्जीवी सीले पनि कार्यक्रममा आआफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा आयोजक पार्टीको काठमाडौँ जिल्ला सेक्रेटरी केदार खतिवडाले “दलाल संसदीय व्यवस्थाको विकल्पमा सङ्घीय जनगणतन्त्र” विषयक अवधारणा प्रस्तुत गर्नुभएको थियो ।
पार्टीका केन्द्रीय सदस्य पेशल दाहालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा अर्का केन्द्रीय सदस्य बन्धुदेव पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो ।