कुश्मीशेरा (बागलु) । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. ९ कालुङखोलामा बाढी आउँदा जलविद्युत् आयोजनासँगै दुईओटा गोठ बगाएको छ ।
२०८२ असार २४ गते राती आएको अविरल वर्षापछि बाढी आउँदा कालुङखोलास्थित लघुजलविद्युत् आयोजनाको भवन बगाएको हो ।
नगरप्रमुख नरबहादुर पुनका स्वकीय सचिव ठाकुर शर्माका अनुसार आयोजनास्थलमै रहेका अपरेटरले भने भागेर ज्यान बचाउन सफल भएको बताइएको छ ।
बाढीले सोही वडाको खरिबोटमा रहेको एउटा गोठ बगाउँदा एउटा भैँसी र एउटा गोरु बगाएको छ भने एउटा पाडा डाम्लो चुडाएर भागेको छ ।
सोही स्थानमा अर्को गोठ र शौचालय पनि बाढीले बगाएको जानकारी प्राप्त भएको छ ।
बाढीले खोल्टेघाट र तोसाघाटमा रहेको दुईओटा झोलुङ्गे पुल पनि बगाएको छ ।
त्यस्तै, बाढीबाट अन्दाजी ५० मुरीजति धान फल्ने खेत बगाएको छ ।
क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
नगरपालिकाको टोली घटनास्थलमा
यतिखेर नगरपालिकाको टोली घटनास्थलमा पुगेको छ ।
नगरप्रमुख नरबहादुर पुनको नेतृत्वमा उपप्रमुख हरिहर शर्मासँगै प्रहरी, इन्जिनियरसहितको टोली असार २५ गते बुधबार घटनास्थलमा पुगेको छ ।
नगरप्रमुख पुनका अनुसार पालिकाले घटनाको अनुमगन गरेर क्षति मूल्याङ्कन गर्नेछ ।
‘क्षति मूल्याङ्कनपछि नगरपालिकाले सम्बन्धित निकायको बैठक बसेर आवश्यक सहयोग गर्नेछ’ पुनले युगदर्शनसित भन्नुभयो ।
उहाँले घटनास्थलको मूल्याङ्कन गरी प्रतिवेदन तयार पार्नेछ ।
