ढोरपाटन (बागलुङ) । बुर्तिबाङ बजारसँगै जोडिएको भब्रेटा गाउँ छ । भब्रेटा गाउँमा उक्लिँदा बित्तिकै ठूलो कृषि फार्म देखिन्छ । फार्ममा लहलह फलेका काँक्रा, गोडेडा, काउली र बन्दा । फार्म छेउमै रहेको बारीमा भेटिन्छन् चन्द्रलाल पाण्डे । बारीको घाँस काट्ने, तकारीमा पानी लगाउने र भैँसी दुहुने चन्द्रलालको दैनिकी नै हो । आकस्मिक कामबाहेक उनी फार्म छाडेर कतै जाँदैनन् । जानका लागि उहाँलाई फुर्सद पनि हुँदैन ।
करिब २० वर्ष अगाडि कतार पुग्नुभएका चन्द्रलालले पाँच वर्ष उहीँ बिताए । परदेशी भूमि, दुःखको काम त्यसमाथि साहुको गालीबोली जसले गर्दा उनलाई विदेश बस्नै मन लागेन । पाँच वर्ष बिताएपछि उनी स्वदेश फर्किए । गाउँ फर्किएपछि उनले विक्रम संवत् २०६७ देखि व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेको बताउँछन् । त्यसपछि बिस्तारै भैँसी पालेर दूध बिक्री गर्न थाले । अहिले चन्द्रलालले तरकारी र दूध बिक्री गरेरै राम्रो आम्दानी गर्दै आएका छन् ।
उनले तरकारी र दूध बेचेरै आठ जनाको परिवार चलाएको बताउँछन् । बुबा, आमा, श्रीमती र चार छोराछारी यही पेसाबाटै धानेको उनको भनाइ छ । पहिले घरपरिवार चलाउनका लागि समस्या हुने गरेको स्मरण गर्दै तरकारीखेतीले सहज रुपमा जीवनयापन गर्नसक्ने बनाएको पाण्डेले बताए । खासगरी हिउँदको बेमौसरी तरकारी उत्पादन गर्दै आएको उहाँले सुनाए ।