नविन बस्याल, जापान#
बुढेसकाल जीवनको त्यो अवस्था हो, शरीर थकित हुन्छ तर, मन अझै आशाले बाँचिरहेको हुन्छ । त्यो उमेर बितेको थकानभन्दा गहिरो हुन्छ । मनको एक्लोपन, आँखामा जमेको प्रतीक्षा र छातीभित्र कतै थुनिएको अभावको भारी । जब यही अवस्थाको यात्रा वृद्धाश्रमतर्फ मोडिन्छ, त्यो केवल एउटा भवनमा प्रवेश मात्र हुँदैन । त्यो त जीवन कै मूल थलोबाट विस्थापन हो । सम्बन्धहरूको संसारबाट टाढिएको, आफ्नै आँगनबाट अलगिएको, र आत्मीयताको अञ्चलबाट पारिएको एउटा पीडादायी बिन्दु हो । मानौँ त्यो उमेर बितिसके पनि जीवनको कुनै गहिरो बिछोड बाँकी रहन्छ ।
के साँच्चै समय यति बदलियो, हामी आफ्नै बाबाआमालाई ॅघर’ भन्ने शब्दबाट उचालेर कुनै संस्थाको जिम्मा लगाउने अवस्थामा पुगेका छौं । त्यो संस्था जहाँ स्वास्थ्य सेवा समयमै पाउँछौं, तर संवेदनाको गन्ध हराएको हुन्छ । जहाँ नियमित खाना छ तर सन्तानको बोलीमा मिठास हुँदैन ।
साँचो कुरा के हो भने– यो केवल कुनै व्यक्तिको गल्ती होइन । यो बदलिंदो समाजको सच्चा प्रतिबिम्ब हो । हामी यस्तो समय र संस्कृतिमा बाँच्न थालेका छौं । जहाँ सम्बन्धहरूभन्दा सुविधा, स्नेहभन्दा समयको हिसाब–किताब ठूलो मानिन्छ । हामी बुबा–आमाले गरेको स्नेह सम्झिन्छौं– तर त्यो स्नेहको कर्तव्य बिर्सिन्छौं ।
हो, सन्तानहरू विदेशिएका छन्, शहरका कोलाहलमा हराएका छन् । उनीहरू अस्तित्वको दौडमा छन् भन्ने बहाना त सधैं तयार हुन्छ, तर के साँच्चै नै समय छैन ? कि हामीले प्राथमिकता फेर्यौं ? के त्यो व्यस्तता साँच्चै यति अनन्त छ, जसले हप्तामा एकपटक ‘कस्तो हुनुहुन्छ’ भनेर सोध्ने समय पनि हुँदैन ?
कसै–कसैका बाबा–आमा आफैं वृद्धाश्रम जान्छन्, मुस्कुराउँदै भन्छन्, “हामी त अब बोझ भयौं होला त्त्” तर त्यो निर्णय स्वतन्त्रताको होइन, विवशताको उपज हो । उनीहरू बुझ्छन्, अब धेरै कुरा माग्नु हुँदैन । त्यसैले चुप लाग्छन्, मुस्कुराउने अभिनय गर्छन् । हाँस्दाहाँस्दै आँखा रसाउँछन् ।
समाजले बुढेसकाललाई ‘सेवानिवृत्त जीवन’ भनेर परिभाषित गर्छ । वास्तवमा यो उमेर त हो, जहाँ मान्छेलाई अझ बढी आत्मीयताको आवश्यकता हुन्छ । अझ बढी मायाको टेको चाहिन्छ । उनीहरूलाई चाहिएको हुन्छ– छोराको हात समाउने साहस, बुहारीको सानो मुस्कान वा नाति–नातिनीको हाँसो । यी चीजहरू कुनै वृद्धाश्रमको भित्तामा टाँसिएका नियम–कानुनमा भेटिँदैनन् ।
आज हामीसँग पैसा छ, तर समय छैन । हामी महङ्गा उपहार दिन सक्छौं तर आत्मीयता दिन सक्दैनौं । हामीले सबै कुरा स्मार्टफोनमा सुरक्षित राख्यौं । तर आमा–बाबाको हृदयमा आफूलाई सुरक्षित राख्न चुक्दैछौं । उनीहरू अझै पनि त्यो पुरानो झ्यालबाट टोलाउँछन्– छोरा कहिले आउला, कहिले फोन गर्ला भनेर ।
यहाँ प्रश्न उठ्छ– के साँच्चै हामीसँग एक घण्टा पनि छैन ? एक कप चिया बाबाा–आमासँगै पिउने पल छैन । कि हामी भुल्यौं– समय बित्नेछ तर सम्बन्धहरू कहिल्यै फिर्ता आउँदैनन् ?
समाधान के हो ?
हामीले पाएको स्नेह फेरि फर्काएर दिनुछ । जसरी उनीहरूले हाम्रो हात समाएर हामीलाई हिँड्न सिकाए, अहिले हाम्रो पालो हो । उनीहरूको बाँकी यात्रा सजिलो बनाउने । हाम्रो आजको व्यवहार हाम्रो नै भविष्य बन्नेछ । जुन व्यवहार हामी आज आफ्ना बाबा–आमामाथि देखाउँछौं । त्यही व्यवहार एक दिन छायाँ बनेर फर्किनेछ ।
यो केवल व्यक्तिगत जिम्मेवारी होइन, यो सामाजिक संरचनामा उठेको एउटा गहिरो प्रश्न हो । हामी कुन दिशातर्फ गइरहेका छौं, कहाँ हरायौं हामी ? परिस्थितिलाई दोष दिन सजिलो हुन्छ । तर, धेरैजसो अवस्थामा हामी आफैंले आफ्ना अभिभावकलाई विकल्पमा बदलेका छौं, जो कहिल्यै विकल्प थिएनन् । उनीहरू त हाम्रा नदेखिने मूल थिए, तर जीवनलाई स्थिर बनाउने जरा थिए ।
यदि हामीले चाह्यौं भने, वृद्धाश्रमतर्फको यात्रा घटाउन सक्छौं । दिनको केही समय उनीहरूका लागि छुट्याउन सक्छौं । टाढा भए फोन गर्न सक्छौं, उनीहरूका मनको कुरा सुनिदिन सक्छौं । नाति–नातिनीका फोटो पठाउन सक्छौं । सानो प्रयास, सानो सम्झना, उनीहरूका लागि त्यो नै पर्व हुन्छ ।
विद्यालयहरूमा, मिडियामा, नीति निर्माणमा, बृद्धको सम्मान तथा अधिकार र आत्मसम्मानबारे गम्भीर रूपमा विचार गरिनुपर्छ । राज्यले कानुनी ढाँचामा सुनिश्चित गर्नुपर्छ । कुनै सन्तानले आमाबाबालाई केवल संस्थामा सुम्पेर जिम्मेवारीबाट पन्छिन नपाओस् । समाजले एउटै स्वरमा भन्न सक्नुपर्छ– बृद्ध बोझ होइनन् । ती त जीवनका मूल आधार हुन्, जसको काँधमा हाम्रो इतिहास लेखिएको छ ।
‘वृद्धाश्रम’ शब्दले हामीलाई भावुक बनाउँछ । तर त्यो भावुकता केवल कविताको पंक्तिमा सीमित रह्यो भने अर्थहिन हुन्छ । त्यो भावुकता व्यवहारमा झल्किनुपर्छ– एक कलमा, एक चिट्ठीमा वा एक बिहानको चियामा । बुढेसकालमा उनीहरू आँखाभरि आशा बोकेर स्नेह खोजिरहेका हुन्छन्– नकि बन्द ढोका । हामीले यो कुरा बुझ्न सकेनौं भने, हामी केवल असल सन्तान मात्र होइन, असल मानिस बन्न सक्छौं ।
उनीहरूले हामीलाई हिँड्न सिकाए– उनीहरूको बाँकी यात्रा सजिलो बनाउनका लागि अब हाम्रो पालो हो ।
किनभने अन्ततः,
“उनीहरू सधैं साथमा हुँदैनन्,
तर सधैं प्रतीक्षामा हुन्छन्।”