जब आकाशको क्यानभासमा कालो बादलको मसी पोतिन्छ र मेघ गर्जनको गम्भीर संगीतले प्रकृतिको मौनता भंग गर्छ, तब नेपाली माटो एक आदिम उत्सवका लागि ब्युँझन्छ । यो उत्सव हो— असारे रोपाइँ । यो केवल धान रोप्ने कृषि कर्म मात्र होइन, यो धर्ती र आकाशको मिलन पनि हो । पसिना र पानीको संगम पनि हो । यही संगमबाट जीवनको महाकाव्य लेख्ने दुई अमर पात्र हुन्छन्— हिलोमा लतपतिएको बाउसे र गीतको लयमा झुमिरहेकी रोपाहारहरू ।
खेतको फराकिलो आँगन पानीले टिलपिल भएको हुन्छ । त्यही पानी र माटोको मिश्रणमाथि एक बाउसे आफ्नो सम्पूर्ण शक्ति लगाएर धर्तीको छाती चिरिरहन्छ । ऊ केवल हलो जोतिरहेको हुँदैन, ऊ त माटोसँग संवाद गरिरहेको हुन्छ, आफ्ना पूर्खाहरूको विरासतलाई जीवन्त राख्न कै लागि भएपनि होमिएको हुन्छ हिलोमाटोसँग पैंठेजोरी खेल्न । उसको निधारबाट चुहिएको पसिनाको हरेक थोपा जब हिलोमा मिसिन्छ, लाग्छ, मानौं उसले आफ्नो ऊर्जाले धर्तीको तिर्खा मेटाइरहेको छ । उसको मौन श्रममा एउटा गहिरो संगीत छ, जुन केवल माटोले सुन्छ र हरियो बालाले बुझ्छ ।
त्यही बेला परबाट सुनिन्छ एक चिरपरिचित, सुमधुर लय । यो कुनै फिल्मी गीत होइन, न त आधुनिक पप संगीत । यो त कैयौं नेपालीको बाल्यकालको स्मृतिमा बसेको, दैवज्ञराज न्यौपानेको त्यो अमर सिर्जना हो, जुन रोपाहारहरूको सामूहिक स्वरमा गुञ्जिन्छः

“छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला ।”
यो केवल एक लोकगीत होइन, यो त हामीमध्ये धेरैले प्राथमिक विद्यालयको कक्षाकोठामा रटेको पाठ हो । किसानका छोराछोरीले आफ्नो भविष्यको प्रतिज्ञाका रूपमा गाएको चिरपरिचित गीत हो । जब रोपाहारहरू यो गीत गाउँदै, कम्मरमा साडीको सप्को सिउरेर, हातमा धानको बीउ लिई एकै तालमा झुक्छन्, तब त्यो दृश्यमा श्रम, शिक्षा र सपनाको अद्भुत त्रिवेणी देखिन्छ ।
उनीहरूले धानको बीउलाई माटोमा रोप्दा केवल अन्न रोपेका हुँदैनन्, बरु एउटा विश्वास रोप्छन्, एउटा आशा रोप्छन् । “आएर गोडौंला” को यो वाचा केवल गीतको पंक्ति होइन, यो त किसानको आफ्नो बालीप्रतिको अटुट प्रतिबद्धता हो । यो त्यो प्रतिज्ञा हो, जसले भन्छ— हामीले आज जीवनको बीउ रोपेका छौं र यसलाई हुर्काउन, बढाउन र फलाउन हामी फेरि आउनेछौं ।
यही श्रम, संगीत र प्रतिज्ञाको बीचमा जन्मन्छ हिलो र ठट्टाको निश्छल अध्याय । बाउसेले हिलो छ्यापेर जिस्काउँछ, रोपाहारहरू गीतबाटै मीठो जवाफ फर्काउँछन् । यो हिलो छ्यापाछ्यापमा कुनै द्वेष छैन, बरु श्रमको उत्सवमा घुलिएको आत्मीयता छ, जहाँ मानिसहरू माटोसँग एक हुन्छन् र उसको सम्पूर्ण अहंकार त्यही हिलोमा पग्लिएर जान्छ ।
तर, आजकल समयको खोलाले धेरै कुरा बगाएर लगेको छ । आज गीतमा भनिएको ‘किसानको रहर’ कता–कता फिका हुँदै गएको छ । कैयौं युवा बाउसेहरू आफ्नो खेतबारीको सुगन्ध बिर्सेर विदेशको तातोमा श्रम बेच्न विवश छन् । गाउँका खेतहरू बाँझिदै गर्दा, रोपाहारहरूको त्यो सुरिलो स्वर पनि पातलिँदै गएको छ । ट्याक्टरको कर्कश आवाजले त्यो मिठो गीतलाई छोपिदिएको छ ।

तैपनि, हरेक असारमा जब पानी पर्छ, माटोले आफ्नो सन्तानलाई बोलाउँछ । गीतको त्यो पंक्तिले हरेक नेपालीको मनको कुनै कुनामा ढकढक्याउँछ । रोपाइँ हाम्रो अस्तित्वको धागो हो, जसले हामीलाई हाम्रो जरासँग जोड्छ ।
साँझमा जब थकित तर सन्तुष्ट बाउसे र रोपाहारहरू घर फर्कन्छन्, तब पछाडि खेतमा लहरै रोपिएका धानका हरिया टुसाहरूले उनीहरूको श्रमलाई सलाम गरिरहेका हुन्छन् । ती टुसाहरू केवल धानका बोट होइनन्, ती त हिलोमा कोरिएको त्यही प्रतिज्ञा हुन्, जुन हरेक वर्षायाममा पसिना, प्रेम र ‘किसानको रहर’ले सिञ्चित हुन्छ । कृषि समाचारबाट