काठमाडौँ । संयुक्त राज्य अमेरिकाले डिपोर्ट गरेर ३७ जना नेपाली नागरिकलाई फिर्ता पठाइदिएको छ।
अमेरिकाले चार्टर्ड विमानमार्फत गएराति ९ बजे नेपालीहरूलाई त्रिभुवन विमानस्थलमा ल्याएर छाडिदिएको हो। त्यसरी डिपोर्ट हुनेहरुमा ३२ जना पुरूष र पाँच जना महिला छन्।
डिपोर्ट भएकाहरूमध्ये केहीले आफ्नो सामान बोरामा र केहीले प्लास्टिकका झोलामा आफ्नो सामान लिएर विमानस्थलबाट बाहिरिएका थिए।
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको थियो।
विमानस्थलमै उनीहरूलाई सोधपुछ गरी सम्पर्कमा रहने गरी छाडिएको ब्युरोका प्रवक्ता एसपी प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए।
ब्युरोका अनुसार उनीहरूले आफूलाई पठाउने दलालको बारेमा प्रहरीलाई कुनै जानकारी दिन अस्वीकार गरेका छन्।
अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेका कारण त्यहाँको सरकारले उनीहरूलाई डिपोर्ट गरेको हो।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि आप्रवासी नीतिमा कडाइ गरिएको छ।