काठमाडौँ । आज २०८२ वैशाख २४ गते दशौँ राष्ट्रिय पत्रकारिता दिवस । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ ।
नेपाल सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रूपमै मनाउन मान्यता दिएपछि प्रत्येक वर्ष वैशाख २४ गते यो दिवस मनाउन थालिएको हो ।
१९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो । त्यही दिनलाई मान्यता दिएर नेपाल सरकारले राष्ट्रिय पत्रकारिता दिवस मनाउन मान्यता दिएको थियो ।
यस दिवसलाई लिएर आज देशैभरि विभिन्न कार्यक्रम हुँदैछन् । गोरखापत्र संस्थानले ‘गोरखापत्र’ प्रकाशनको एक सय पच्चिसौँ वर्षप्रवेश तथा संस्थानको त्रिसट्ठिऔँ वार्षिकोत्सवका उपलक्ष्यमा राष्ट्रियसभागृहमा कार्यक्रम गर्दैछ ।
‘विश्वसनीय सूचनाको आधार ः जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाइँदैछ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रलायको आयोजनामा आज दिउँसो १ बजे राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना हुँदैछ ।
त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुऱ्याउने व्यक्तित्वलाई पुरस्कारसहित सम्मान गर्नुहुने कार्यक्रम छ ।