सर्वप्रथम यहाँहरूलाई जुझारु क्रान्तिकारी अभिवादनसहित मेदिवसको हार्दिक शुभकामना प्रकट गर्दछौँ । मजदुर आन्दोलनलगायत सर्वहारा वर्गीय आन्दोलनका वीर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
नेपालको लोकतान्त्रिक, जनवादी आन्दोलन तथा श्रमिक वर्गको हक–अधिकारको पक्षमा सङ्घर्षरत हाम्रो सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) ले एक सय छत्तिसौँ अन्तर्राष्ट्रिय मेदिवसलाई विविध कार्यक्रमसहित २०८२ वैशाख १८ गते देशव्यापी रूपमा मनाउन गइरहेको सहर्ष जानकारी गराउँछौँ । मजदुर वर्गको गौरवशाली इतिहास बोकेको आफ्नो महान् पर्व मेदिवसलाई भव्यतापूर्वक मनाउन सम्पूर्ण मजदुर श्रमिक, पेसाकर्मी र मिहिनेतकस वर्गसमक्ष हार्दिक अपिल गर्दछौँ ।
यहाँहरूलाई सर्वविदितै छ कि अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) मजदुर आन्दोलनभित्र देखा परेका सबै खाले अवसरवाद, अर्थवाद, उपयोगितावाद, संशोधनवाद र सम्झौतापरस्त एवम् चरम समन्वयवादी, दक्षिणपन्थी, उग्रवामपन्थी भड्काव तथा विचारका विरुद्ध आम शोषित–पीडित श्रमजीवी वर्गको पक्षमा दृढतापूर्वक निरन्तर सङ्घर्षशील रहँदै आएको छ ।
मेदिवस मजदुरको क्रान्तिकारी जुझारु सङ्घर्ष र विजयको प्रतीकको दिन हो । यस दिनलाई संसारभरिका श्रमिकले महान् गौरवपूर्ण पर्वको रूपमा मनाउँछन् । मजदुरले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राखी मे १, १८८६ देखि अमेरिकाको सिकागो सहरमा आन्दोलनको थालनी गरी हजारौँ मजदुर सडकमा उत्रिएर उच्चस्तरको प्रदर्शन गरेका थिए । मे ४ का दिन सरकारले बर्बर दमन गर्दै आन्दोलनकारी मजदुरमाथि गोली बर्सायो । नौ जना श्रमिकले सहादत प्राप्त गरे । हजारौँ श्रमिक घाइते भए । सिकागोको सडक श्रमिकको रगतले रक्ताम्य बन्यो । दमनको प्रतिरोध गर्दै आन्दोलन अगाडि बढ्यो । मजदुरको जुझारु आन्दोलन विश्वव्यापी बन्यो । अन्ततः आन्दोलनले सरकारलाई झुकाएरै छाड्यो । आठ घण्टे कार्यदिनले कानुनी मान्यता पायो ।
१८–२० घण्टाको अनिश्चित र पीडादायी कार्यदिनको बोझबाट मुक्ति पाउन सुरु गरिएको ऐतिहासिक यो आन्दोलनलाई सम्मान गर्दै सन् १८८९ मा एङ्गेल्सको नेतृत्वमा सम्पन्न समाजवादीको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनले मे १ लाई मजदुरको विजयको प्रतीक दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । तत्पश्चात् १८९० देखि हरेक वर्ष मे १ गतेका दिन विश्वव्यापी रूपमा हर्षोल्लासका साथ मेदिवस मनाउने गरिएको छ । नेपालमा पनि गत लामो समयदेखि मे दिवस मनाउने गरिएको छ ।
मेदिवस मजदुरको एकता, बलिदानीपूर्ण सङ्घर्ष र विजयको प्रतीकको दिन हो । यो दिन मजदुर आन्दोलनका अग्रज एवम् सहिदलाई स्मरण गर्ने महत्त्वपूर्ण दिन हो । तसर्थ संसारभरिका ती गौरवशाली मजदुर आन्दोलनमा जीवनोत्सर्ग गर्ने महान् सहिदप्रति उच्च सम्मानका साथ आज पुनःस्मरण गर्नु हामी श्रमजीवी वर्गको नैतिक दायित्व र कर्तव्य भएको छ ।
वर्तमान नेपालको संविधान–२०७२ को घोषणापछि सङ्घीय संसद्को दुईओटा निर्वाचन सम्पन्न भई निर्वाचित सङ्घीय संसद्बाट क्रमशः ओली, देउवा र प्रचण्ड र पुनः केपी ओलीको नेतृत्वमा सरकार गठन भएको करिब ८ वर्ष बितिसकेका छन् तर जनताले राहत, सुशासन, सुरक्षा र विकासको अनुभूति गर्न पाएका छैनन् । गणतन्त्र भने पनि शासनको स्वरूप, संस्कृति एवम् प्रवृत्तिमा सामन्तवाद नै प्रस्तुत भएको देखिन्छ ।
जनप्रतिनिधिहरू आफ्नो सुविधा वृद्धि गर्न उद्यत छन् । अनियमितता र भ्रष्टाचार झन् मौलाएको छ । राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने र उत्पादन वृद्धि गर्ने कुनै ठोस कार्यक्रम छैनन् । व्यापारघाटा झनै बढेको छ । वैदेशिक लगानी भित्राउने नाममा बहुराष्ट्रिय कम्पनीको लुट, कर तथा राजस्व छलीजस्ता गम्भीर नीतिगत आत्मघाती कार्यलाई छुट एवम् संरक्षण दिने गरी कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्राउने नीति अवलम्बन गर्दै नेपाललाई झनै परनिर्भर, खोक्रो बनाउने काम भइरहेको छ । रोजगारी र अध्ययनको नाममा बाध्यतावश युवाको विदेश पलायन दिनानुदिन थप बढ्दै गइरहेको छ । मजदुर, किसान र न्यून आय भएका जनतालाई सुरक्षा र राहतको कुनै व्यवस्था गरिएको छैन ।
राष्ट्रियताको नारा उपरी प्रकारले लगाएर अधिकतम बहुमतप्राप्त ओली सरकार र पछिल्ला सबै सरकारले आन्तरिक रूपमा भारतीय साम्राज्यवादसँग झुकी सम्झौतापरस्त नीति अपनाउँदै राष्ट्रहित विपरीतका कार्य गर्ने दिशातर्फ निरन्तर उन्मुख देखिरहेका छन् । नागरिकता ऐनको संशोधन विधेयक र अरुण तेश्रोको शिलान्यास, लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको चुच्चे नक्सा संसद्बाट सर्वसम्मत पारित एवम् अनुमोदन गरे पनि त्यसपछि त्यसको संरक्षण र प्रभावकारी कार्यान्वयनका लागि वस्तुपरक ठोस पहल नगरिनु, पारित गरिएको चुच्चे नक्सासहितको सीमासम्बन्धी शैक्षिक पाठ्यक्रम प्रकाशन गरेर पनि पुनः सार्वजनिक नगरी रोक्नुजस्ता कार्यबाट ओली सरकारलगायतका सरकारले आफ्नो सत्ता टिकाइराख्नका लागि राष्ट्रियतामाथि नै सौदाबाजी गरिरहेका त छैनन् ? यस्ता धेरै प्रश्न अनुत्तरित नै छन् ।
अहिले पुनः केपी ओली नेतृत्वमा नेका–एमालेको गठबन्धन सरकार भएको छ । राजनैतिक स्थायित्व, संविधानको संशोधन, विकास, समृद्धिको मुख्य नारा बनाएर गठन भएको सरकारको राज्य सञ्चालनको अवस्था हेर्दा मूल उद्देश्य र लोकतन्त्रको मर्म विपरीतका प्रवत्ति र गतिविधि झन् झन् श्रमिक, मजदुर, साना किसानको हित, आम नागरिकको शिक्षा, स्वास्थ्य, सुरक्षा, न्याय निरुपणजस्ता कार्य विपरीत निकै निराशाजनक व्यवहार गरेको देखिन्छ । यसैको जगमा प्रतिगमनको खतरा पनि बढ्दै गएको छ । राजावादीले गणतन्त्र विरुद्ध राजतन्त्र स्थापनाको लागि आन्दोलन गरिरहेका छन् । यो दुखद् पक्ष हो । तसर्थ सरकारका यस प्रकारका जनविरोधी, राष्ट्रघाती, भ्रष्टाचारजन्य कार्यको भण्डाफोर एवम् जनताको ध्यानाकर्षण गराउँदै लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षताको रक्षाको लागि, सङ्घीयता खारेजीको लागि विधिको सुशासन, राष्ट्रहित, जनहित तथा राष्ट्रिय अर्थतन्त्रको पक्षमा जनमत सृजना गर्नु मजदुर वर्गको आजको प्रमुख कार्यभार भएको छ ।
आ.व. २०७५/७६ मा सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागु भएको घोषणा गरेको थियो तर त्यस घोषणामा विभिन्न उपरी प्रकारका सामान्य सुरक्षाका प्रावधान समावेश गरिएको भए पनि बेरोजगारी अवस्थामा सुरक्षाको सुनिश्चितता योजना समावेश छैन भने उक्त कोषमा सरकारको आफ्नो आर्थिक योगदानको अंश पनि समावेश गरेको छैन । त्यसैले त्यो घोषणा स्वतः गैरजिम्मेवार र श्रमिक, मजदुर वर्गप्रति उदासिन देखिन्छ । सामाजिक सुरक्षा योजनामा सरकारी योगदान थपेर त्रिपक्षीय (सरकार, उद्योगी र श्रमिक) योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई सुनिश्चित बनाउनु आजको निर्विकल्प आवश्यकता हो । उक्त योजना असङ्गठित तथा स्वरोजगारका क्षेत्रमा पनि तत्काल लागु गरिनुपर्दछ ।
बाध्यतावश प्रवासमा श्रम गर्ने प्रवासी नेपाली मजदुरको समस्या त झनै कहालीलाग्दा छन् । उनीहरूले सधैँ चुनौतीपूर्ण, कडा र खतरापूर्ण एवम् जीवन नै निरन्तर अस्थिर एवम् जोखिमपूर्ण अवस्थामा रहने गरी हायर एन्ड फायर (आफूखुसी काममा राख्ने, जबर्जस्ती हटाउने), तीन डी अर्थात डिफिकल्ट, ड्यान्जर र डर्टी (अप्ठ्यारो, खतरनाक र फोहर) वातावरणमा श्रम बेच्न बाध्य छन् । अठाह्रौँ शताब्दीमा अमेरिका, युरोपलगायत तुलनात्मक रूपमा पुँजीको विकास भएका मुलुकका मजदुर वर्गले आफ्नो हकअधिकार, समान काम समान ज्याला र काम गर्ने उचित वातावरण, निश्चित कार्यावधि, आराम र मनोरञ्जनलगायतका आम सामाजिक सुरक्षासम्बन्धी अधिकारप्राप्तिका लागि गरिएका वीरतापूर्ण सङ्घर्ष र उठाएका रक्तरञ्जित झन्डाको महत्त्व आज एक्काइसौँ शताब्दीमा उत्तिकै सान्दर्भिक रहेको छ ।
अमेरिकालगायतका साम्राज्यवादी राष्ट्र र शक्तिबाट बहुराष्ट्रिय कम्पनी एवम् वित्तीय एजेन्सी अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क, विश्व व्यापार सङ्गठनमार्फत् श्रमिक मजदुर वर्गका सामाजिक सुरक्षालगायतका लोकतान्त्रिक मौलिक हकअधिकारमाथि निर्मम हस्तक्षेप बढाइरहेका छन् ।
अर्कोतर्फ, साम्राज्यवादी शक्तिराष्ट्रले पुँजी र सैन्यशक्तिको आडमा संसारका निर्दोष र आर्थिक रूपमा कमजोर मुलुकका नागरिकको स्वतन्त्रता, लोकतान्त्रिक एवम् मौलिक हकअधिकारमाथि प्रहार गरिरहेका छन्† जस्तै : प्यालेस्टाइनी जनतामाथि इजरायल र साम्राज्यवादीबाट गरिएको ज्यादतिपूर्ण हमला एवम् हस्तक्ष्ोप, नरसंहार, विगतमा अफ्रिकी राष्ट्र मालीका निर्वाचित सरकारमाथि भएको सैनिक हस्तक्षेप, बर्माको म्यानमारमा जनताद्वारा जननिर्वाचित प्रतिनिधि विरुद्ध सैनिक कू हस्तक्षेप, क्युबामा भएको अमेरिकी साम्राज्यवादको हस्तक्षेप, भेनेजुयलामाथि भएको हस्तक्षेप तथा आर्थिक नाकाबन्दी, करिब दुई वर्षदेखि अमेरिकी साम्राज्यवादको उक्साहटमा युक्रेन र रुसबिच भएको सैनिक भिडन्त, जसबाट युक्रेनले ठुलो जनधनको क्षति ब्यहोर्नुपरेको छ† दैनिक हजारौँ निर्दोष जनताले बर्बरतापूर्ण यातना र मृत्युवरण गर्नुपरेको छ । त्यसको एउटा कारण युक्रेनी शासकले अदूरदर्शी वैदेशिक रणनीति अवलम्वन गर्नु, मूलतः अमेरिकी साम्राज्यवादको पक्षपोषण र नाटोको आडमा उक्साहटमा रुस विरुद्ध महत्त्वकाङ्क्षी एवम् आत्मघाती सैन्य भिडन्त गरी गलत दिशामा अघि बढिरहेको छ, जुन खेदपूर्ण छ ।
नेपालमा विगतमा सरकारले अव्यवस्थित बसोबास गर्ने नागरिकमाथि काठमाडौँमा गरेको बर्बर दमन, मिटरब्याजी शोषण शोषण विरुद्ध सङ्घर्षरत निर्दोष जनतामाथि गरिएको बर्बर दमन, विभिन्न प्रकारका हत्याहिंसाका विरुद्ध सङ्घर्षरत जनताप्रति गरेको निराशाजनक व्यवहार, श्रमिक पेसाकर्मी, शिक्षकद्वारा पेस गरिएका पेसागत हकअधिकार र कानुन निर्माणसम्बन्धी मागलाई व्यवास्था गरेकाले बाध्य भएर शिक्षक, पेसाकर्मीहरू महिनौँदेखि सडकमा मर्यादित र शान्तिपूर्ण आन्दोलनमा उत्रिरहेका छन् तर सरकार उनीहरूका आवाज सुन्ने र समस्या समाधान गर्ने पक्षमा देखिँदैन । सरकारको व्यवहार र शैली निकै निराशाजनक र सर्वसत्तावादी चरित्रको देखिनु निकै दुखद पक्ष हो ।
भारतको महान् किसान आन्दोलनलाई बहुराष्ट्रिय कम्पनीको आडमा गरिएको व्यापक दमन, ग्रिसमा प्रगतिशील जनताद्वारा गरिएको न्यायपूर्ण आन्दोलनमाथि भएको साम्राज्यवादी दमन, हालसालै साम्राज्यवादको उक्साहटमा इरान र इजरायलबिचको सैनिक भिडन्तलगायतका विश्वव्यापी परिघटना—यी र यस्तै प्रकारका विश्वभरका विभिन्न मुलुकमा साम्राज्यवादी राष्ट्र र शक्तिबाट दमन, हस्तक्षेप गरी संसारका मिहिनेतकश नागरिक, श्रमिक मजदुर वर्गको लोकतान्त्रिक मौलिक हकजस्ता नैसर्गिक अधिकारमाथि भएको प्रहार र ज्यादतीको हाम्रो सङ्गठनले घोर भर्त्सना गर्दछ । संसारभरिका न्यायप्रेमी नागरिक एवम् श्रमिक वर्गको लोकतान्त्रिक स्वतन्त्रता, मौलिक हकअधिकार एवम् श्रम गर्न पाउने अधिकारको कदर गर्दै युद्ध हैन, वार्ता र संवादबाट समस्याको समाधान गर्न, उत्पादन क्षेत्र, शिक्षा, स्वास्थ्यमा लगानी वृद्धि र उक्त क्षेत्रको उचित भरपर्दो संरक्षण, सैन्य क्षेत्रमा लगानी कटौती गर्नेलगायतका नागरिक एवम् मजदुर वर्गका आम सामाजिक सुरक्षासम्बन्धी अधिकारको सुनिश्चितताका लागि जोडदार माग गर्दछ ।
हामी मेदिवसको क्रान्तिकारी परम्परालाई अगाडि बढाउने दृढताका साथ एक सय छत्तिसौँ मेदिवसलाई विविध कार्यक्रमसहित देशव्यापी रूपमा भव्यतापूर्वक मनाउँदैछौँ । एक सय तेत्तिसौँ मेदिवसको सन्दर्भ पारेर मे ५–७, २०२२ मा इटलीको रोममा सम्पन्न भएको विश्वका समाजवादी विचारका वर्गीय पक्षधर श्रमिक मजदुरको एक मात्र गौरव र आस्थाको केन्द्र विश्व ट्रेड युनियन महासङ्घ (डब्लुएफटियु) को अठाह्रौँ विश्व सम्मेलन भव्य रूपमा सम्पन्न भएको थियो । उक्त विश्व सम्मेलनले संसारभरिका शोषितपीडित मजदुर वर्गको वर्गीय हितमा र मजदुर विरोधी साम्राज्यवाद र पुँजीवादी नीति र कार्यक्रमको विरुद्धमा सही नीति र कार्यक्रम पारित गरी कार्यान्वयनमा ल्याएको सहर्ष जानकारी गराउँछौँ । डब्लुएफटियुको सो सम्मेलनबाट पारित नीति र कार्यक्रम, मागदर्शनबमोजिम नेपालमा पनि डब्लुएटियु नेपाल च्याप्टरमार्फत निर्धारित मजदुरवर्गीय हितका लागि आवश्यक कार्यक्रम सञ्चालन भइरहेका छन् ।
यस प्रकारको महत्त्वपूर्ण कार्यमा अन्टुकको सक्रिय र जिम्मेवारी भूमिका रहँदै आएको छ । यसलाई दृढतापूर्वक अगाडि बढाउनुका साथै मजदुर आन्दोलनलाई लेनिनवादी सङ्गठनात्मक पद्धतिअनुसार परिचालन गर्दै क्रान्तिकारी रूपान्तरण गर्ने दृढ सङ्कल्प गर्दछौँ । उपर्युक्त मजदुर आन्दोलनका राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रम सफल पार्नका निम्ति आर्थिक, नैतिक एवम् भौतिक रूपले सहयोग गरिदिनुहुने सबैप्रति हामी सम्मान र धन्यवाद प्रकट गर्दछौँ ।
अन्तमा, सबै प्रकारका विभेद, शोषण, दमनका विरुद्ध श्रमिक मजदुर वर्ग हितमा पारित भएका नीति तथा कार्यक्रमको दृढतापूर्वक प्रभावकारी कार्यान्वयनमा सम्पूर्ण मजदुर वर्ग एकजुट हुन आग्रह गर्दछौँ ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक)
केन्द्रीय कार्यालय
काठमाडौँ, फोनः ०१–४१६४३०४, ९८४१०४४५२३, ९८४१३९५४८८
Email: antuc2042@gmail.com, lrbhusal@gmail.com