महेश रिजाल, भालुवाङ (दाङ) ।
नेकपा (मसाल) का पार्टीसदस्य तथा राष्ट्रिय जनमोर्चाका नेता शिवप्रसाद पोख्रेल (तुफान) को निधन भएको तेह्रौँं दिन श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
दाङको गढवा गाउँपालिका–४ उठैयामा २०८१ चैत १२ गते मङ्गलबार सो कार्यक्रम सम्पन्न भएको हो ।
श्रद्धाञ्जली सभा मृतकी जीवनसँगिनी शान्ता पोख्रेलको अध्यक्षतामा र अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेलको प्रमुख आतिथ्यमा अघि बढेको थियो ।
कार्यक्रममा शोकमन्तव्य राख्दै प्रमुख अतिथि पोख्रेलले स्मृतिशेष शिवप्रसादले मृत्युपर्यन्त अनुशासित, जुझारु निर्भीकतापूर्वक काम गरेको स्मरण गर्नुभयो ।
अर्का वक्ता मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगङ्गा नगर समितिका अध्यक्ष गिरुप्रसाद न्यौपानेले शिवप्रसादले भारतस्थित शोषितपीडित श्रमजीवी नेपालीको हकहितको पक्षमा डटेर लाग्नुभएको बताउनुभयो ।

राजमो गढवा गाउँ समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा उहाँको जीवनीबारे चिन्ताप्रसाद पोख्रेलले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) पूर्व केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य लालबहादुर भण्डारी, मूल प्रवाहका रेशम भण्डारी, तराई मधेस जनवादी मोर्चाका सचिव रामाधार यादव, राजमो दाङका सल्लाहकार गुणनिधि शर्मा, गढवा गाउँकार्यपालिका सदस्य तथा राजमो दाङ जिल्ला सदस्य दिनमणि आचार्य, जिल्ला सदस्य नवराज शर्मा, राजमो गढवा–५ का अध्यक्ष गिरिराज भट्टराईसमेतको आतिथ्य रहेको थियो ।
स्मृतिशेष शिवप्रसादको स्मरणमा एक मिनेट मौनधारणसँगै सुरु भएको उक्त कार्यक्रमको सञ्चालन राजमो गढवाका सचिव तथा गढवा–४ का वडासदस्य टुँकमान कुँवरले गर्नुभएको थियो ।