पोखरा । पोखरा महानगरको फर्छ्यौट शाखामा कार्यरत कर्मचारी कपिल गिरी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरपालिकाको गेटबाट उनलाई घुससहित पक्राउ गरेको हो ।
अख्तियार पोखराका सूचना अधिकारी राकेश पाण्डेका अनुसार गिरीले अख्तियारलाई मिलाउन घुस चाहिने भन्दै मागेको सूचना पाएपछि घुससहित पक्राउ गरिएको हो ।
महानगरका विषयमा अख्तियारमा परेका उजुरी फछ्र्यौट गर्ने जिम्मेवारीमा रहेका गिरीले अख्तियार मिलाउन भन्दै एक कर्मचारीसँग एक लाख रुपैयाँ घुस मागेको अख्तियारको जिकिर छ ।
स्याङ्जाका गिरी यसअघि पुतलीबजार नगरपालिकामा कार्यरत थिए । बढुवा भएपछि पोखरा महानगरपालिकामा सरुवा भएका उनी केही समय वडा नम्बर १७ मा कार्यरत थिए । हाल अख्तियारले उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको छ ।
रंगेहात पक्राउ परेका गिरीले भने आफू निर्दोष रहेको र केही डर नभएको बताए । सेवाग्राहीलाई आफूले निवेदन लिएर आइज भनेको र त्यो निवेदनभित्र पैसा भएको थाहा नभएको उनको दाबी थियो।