काठमाडौँ । नेपाल बार एसोसियसन निर्वाचनमा केन्द्रीय सदस्य पदका उम्मेदवार अधिवक्ता कृष्णप्रसाद आचार्यले आफूहरूले विजय हासिल गरेमा नयाँ कानुन व्यवसायीलाई टिकाउन कोष खडा गर्ने जानकारी दिनुभएको छ ।
युगदर्शन मिडियाका लागि प्रकाश थापामगर र गोविन्दकुमार शर्मालाई २०८१ चैत २ गते अन्तर्वार्ता दिँदै उहाँले सो जानकारी दिनुभएको हो ।
आचार्यले भन्नुभयो– ‘नयाँ कानुन व्यवसायी साथीहरूका लागि छुट्टै कोष खडा गर्ने प्रतिबद्धता हाम्रो घोषणापत्रमा छ ।’
निर्वाचनमा तपाईंहरूको मुद्दा के के छन् भन्ने युगदर्शनको प्रश्नमा उहाँले फौजदारी मुद्दा हत्याउन सिन्डिकेट हुने गरेको र त्यसलाई आफूहरूले भत्काउने दाबी गर्नुभयो ।
‘मुद्दाको ठेक्का लिने, त्यो के आधारमा भने उसको पार्टीको न्यायाधीश छ, ऊ आफै पनि पार्टीको मान्छे हो—त्यो खालको जुन सिन्डिकेट छ, हामी त्यसलाई तोड्न चाहन्छौँ’ उहाँले भन्नुभयो ।
त्यस क्रममा उहाँले न्यायालयभित्रको भ्रष्टाचार, बिचौलियाको चिरफार गर्ने विषय पनि चुनावी घोषणापत्रमा राखिएको बताउनुभयो ।
सत्तारूढ राजनीतिक दलबाट आफूअनुकूलका न्यायाधीश नियुक्ति गर्ने प्रवृत्तिको उहाँले विरोध गर्नुभयो ।
आचार्यले भन्नुभयो– ‘कानुन व्यवसायीबाट, कर्मचारीबाट वा जताबाट पनि आफ्ना मान्छेलाई न्यायाधीशमा भर्ती भर्ने विकृति, विसङ्गति सत्तारूढ राजनीतिक दलहरूमा छ ।’
न्यायक्षेत्रको कैयौँ महत्त्वपूर्ण मुद्दामा राजनीतिक पार्टी र सत्ताको हस्तक्षेप रहेको उहाँले खुलासा गर्नुभयो ।
‘यसलाई रोक्ने भनेको नेपाल बारको केन्द्रीय टिमबाटै हो’ उहाँले यस विषयमा पनि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले यस खालका विकृति विरुद्ध आफूहरूले सङ्घर्ष गर्ने स्पष्ट पार्नुभयो ।
त्यस्तै, कानुन व्यवसायी सुत्केरी भएको अवस्थामा आवधिक सहयोग गर्ने अर्को मुद्दा रहेको उहाँले जानकारी दिनुभयो ।
‘सुत्केरी हुने जुन महिला हुनुहुन्छ, त्यसका लागि छुट्टै कोष खडा गर्नेछौँ हामी’ उहाँले भन्नुभयो– ‘उहाँहरूलाई तीन, पाँच वा छ महिना कति महिनासम्म रकम दिने ? त्यो क्राइटेरिया कायम गछौँ ।’
अधिवक्ता आचार्यले चुनावी मुद्दाको सवालमा प्रत्येक कानुन व्यवसायीलाई बिमा उपलब्धि गराउने प्रस्ताव राखेको बताउनुभयो ।
त्यसैगरी, उहाँले वरिष्ठ अधिवक्ताको पदवीलाई सरलीकरण गर्ने पनि बताउनुभयो ।
नेपाल बार एसोसियसनको चुनाव राष्ट्रकै अन्यन्त महत्त्वपूर्ण निर्वाचन भएको दाबी गर्दै उहाँले बारले न्यायपालिकाको क्षेत्रमा काम गर्ने भएको हुनाले यसलाई हामीले अन्यन्तै गम्भीर रूपमा लिएको पनि बताउनुभयो ।
उहाँले आफूहरू अग्रणी अवस्थामा रहेको आत्मविश्वास व्यक्त गर्दै भन्नुभयो– ‘हामीले चुनाव हार्ने अवस्था छैन ।’
अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का केन्द्रीय सदस्यसमेत रहनुभएका आचार्यले आफ्नो सङ्गठनको न्यायिक क्षेत्रमा बेग्लै छाप रहेको बताउनुभयो ।
‘कानुन व्यवसायको क्षेत्रमा हाम्रो सङ्गठनको परिचय दिइयो भने न्यायाधीशले हेर्ने दृष्टिकोण नै फरक हुन्छ’ उहाँको भनाइ थियो ।
देशको समसामयिक परिस्थितिबारे चर्चा गर्दै उहाँले गणतन्त्र संस्थागत गर्न राजनीतिक दलहरूले आफ्ना कमीकमजोरीमा सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँले भन्नुभयो– ‘गणतन्त्रलाई संस्थागत गर्न दलहरूले आफ्ना कमीकमजोरी कहाँ छ ? त्यहाँ सुधार्नुपऱ्यो । राम्रो र नयाँ कार्यक्रम लिएर आउनुपऱ्यो ।’
राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ गतेदेखि ३० गतेसम्म सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलन आयोजना गरेको सन्दर्भमा उहाँको भनाइ थियो– ‘हिजो राजमोले यो विषय उठान गरे पनि सङ्घीयताको विरोध अब राष्ट्रिय एजेन्डा बनेको छ ।’
अधिवक्ता आचार्यले प्युठान जिल्ला अदालतबाट सुरु गर्नुभएको थियो । उहाँले सर्वोच्च अदालत, उच्च अदालत तुलसीपुरका साथै अर्घाखाँची, दिपायल, रोल्पा, बर्दिया, कपिलवस्तु, बुटवलसम्म पुगेर बहसपैरवी गरेको जानकारी दिनुभयो ।
कुनै पनि मुद्दा आफूकहाँ आउँदा त्यसको सम्भावित परिणामबारे प्रारम्भमा नै वस्तुगत जानकारी दिने गरेकाले आफ्नो व्यावसायिक सफलताबारे उहाँको भनाइ थियो– ‘मेरो ल फर्ममा मुद्दा हेर्न भ्याइनभ्याइ छ ।’