काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले देशमा कुशासन भएकै कारणले गणतन्त्र धरापमा परेको बताउनुभएको छ ।
२०८१ चैत ४ गते सोमबार “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१” माथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।
‘मुलुकमा कुशासनको चक्रमा फसेको छ’ उहाँले भन्नुभयो–’त्यही कारणले विगतमा हामीले लडेर ल्याएको गणतन्त्र र धर्मनिरपेक्षता अहिले धरापमा परेको छ ।’
मुलुकमा व्याप्त कुशासनको सिकार गणतन्त्र भएको बताउँदै उहाँले सरकारसित प्रश्न गर्नुभयो– ‘तपाईंहरूले के के सुशासन नेपाली जनतालाई दिनुभएको छ ? रोजगारीको व्यवस्था के के गर्नुभएको छ ?’
उहाँले देशमा सुशासन नभएकै कारण दह्रापाखुरा भएका नेपालीहरू विदेशिनुपरेको फेरि पनि शासनक तप्काले सुशासनको कुरा गरेको भन्दै व्यङ्ग्य गर्नुभयो ।
‘अब त विदेशमा गएकालाई लखेट्न थालियो । तपाईंहरू अब के गर्नुहुन्छ ?’ उहाँले भन्नुभयो– ‘खाडीका युवाले पठाएको रेमिट्यान्सले सुशासनको कुरा गर्न तपाईंहरूलाई सजिलो भएको छ ।’
अमेरिकाले जस्तै अन्यत्रबाट पनि नेपालीलाई लखेट्न थालिएमा के हुन्छ भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
गल्कोटमा सेवाकेन्द्र पाइएन
मन्तव्यको क्रममा उहाँले आफूले तीन/तीनओटा प्रधानमन्त्रीसमक्ष बागलुङको गलकोटमा सेवाकेन्द्र कायम गर्न जुम्लेहात जोडेको तर कार्यान्वयन नभएको बताउनुभयो ।
‘हुन्छ, किन नहुनु ? यो त मामुली कुरा हो भन्छन् तर अहिलेसम्म कार्यान्वयन भएको छैन’ अध्यक्ष केसीको भनाइ थियो ।
उहाँले पहिले पहिले हजार रुपियाँ बुझाउनुपर्ने भेटी (घुस) अहिले करोडौँ/अरबौँमा पुगेको बताउँदै शासक वर्गलाई नेपाली जनताले हेरिरहेको बताउनुभयो ।
शासक वर्गलाई भने अहिले पनि सुशासन आइरहेको बताउँदै उहाँले यो स्थिति भयानक भएको दाबी गर्नुभयो ।